समस्याग्रस्त भारतीय यस बैंकका संस्थापक राना पक्राउ

समस्याग्रस्त भारतीय यस बैंकका संस्थापक राना पक्राउ


भारतको समस्याग्रस्त घोषणा गरिएको ‘यस बैंक’का संस्थापकलाई आइतबार सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ गरिएको छ । भारतमा निजी क्षेत्रको चौथो ठूलो यस बैंकको वित्तीय अवस्था कमजोर भएसँगै भारतीय रिजर्भ बैंकले कारोबारमा अस्थायी प्रतिबन्ध लगाएको छ ।

भारतको केन्द्रीय बैंकले आकस्मिक रूपमा शुक्रबार मध्यराति उक्त बैंकलाई नियन्त्रणमा लिनुका साथै बैंकबाट ५० हजार भारुभन्दा बढी रकम झिक्न नपाइने गरी प्रतिबन्ध लगाएको थियो । पछिल्ला दिनहरूमा बढ्दै गएको खराब कर्जाका कारण बैंकमाथि संकट आएको थियो ।

भारतको वित्तीय अपराधसम्बन्धी जाँच एजेन्सीका अधिकारीले आइतबार बिहान ३ बजे बैंकका संस्थापक राना कपुरलाई मुम्बईस्थित निवासबाट पक्राउ गरेका थिए । जाँच एजेन्सीका एक अधिकारीका अनुसार रानाले बैंकसम्बन्धी अनुसन्धानमा असहयोग गरेपछि पक्राउ गरिएको हो । यस बैंकले पनि रानाको गिरफ्तारीको पुष्टि गरेको छ । अधिकारीहरूले मुम्बईस्थित रानाको भव्य महलमा छापा मारेका छन् ।

भारतीय रिजर्भ बैंकले यस बैंकका ग्राहकलाई एक महिनाको अवधिमा ५० हजार भारतीय रुपैयाँ मात्र झिक्न पाउने व्यवस्था गरेपछि ग्राहकमा निराशा छाएको छ । मानिस यस बैंकका एटीएम र शाखामा शुक्रबार र शनिबार लामो लाइनमा बस्न बाध्य भएका थिए ।

रिजर्भ बैंकको उद्धार योजनाबमोजिम भारतीय स्टेट बैंक (एसबीआई)ले समस्याग्रस्त ‘यस बैंक’को ४९ प्रतिशत सेयर खरिद गर्न २ अर्ब ४५ करोड भारतीय रुपैयाँ लगानी गर्ने जनाएको छ । एसबीआईका अध्यक्ष रजनिश कुमारले यस बैंकमा लगानी गर्न २३ जना लगानीकर्ताले अभिरुचि देखाइसकेको पनि जानकारी दिए ।

यस बैंकले खराब ऋण उठाउन नसक्दा पर्याप्त पुँजी लगानी गर्न नसकेको रिजर्भ बैंकको भनाइ छ । यस बैंकका एक हजारभन्दा बढी शाखा र एक हजार आठ सयभन्दा बढी एटीएम छन् ।
रासस–एएफपी