अजित र राजपुरा विजयी, सन्तोषी सम्मानित

अजित र राजपुरा विजयी, सन्तोषी सम्मानित


अजितकुमार यादव र राजपुरा पछाईं दोश्रो मदन भण्डारी स्मृति ठमेल रोड रेसको खुलातर्फ पहिलो भएका छन् । तेश्रो एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपका स्वर्ण विजेता अजित पुरुष र राजपुरा महिलामा पहिलो भएका हुन् ।

अजितले निर्धारित ५ किलोमिटर दूरी १६ मिनेट १४.०१ सेकेन्डमा पूरा गरे । प्रकाशसिंह ऐरी (१६ मिनेट ५४.०७ सेकेन्ड) दोश्रो तथा सन्तोषनाथ योगी (१७ मिनेट १२.०९ सेकेन्ड) तेश्रो भए । राजपुराले निर्धा्रित ५ किलोमिटर दूरी तय गर्न १८ मिनेट २३.८९ सेकेन्ड समय खर्चिन् । सकुन्तला ठगुन्ना (२० मिनेट ५५.३८ सेकेन्ड) दोश्रो तथा अन्ना म्याकेर्डन (२३ मिनेट १५.४० सेकेन्ड) तेश्रो भए । दुवै समूहमा पहिलो हुनेले २५ हजार, दोश्रोले १२ हजार र तेश्रोले ८ हजार नगद पुरस्कार हात पारे ।

स्कुलतर्फ ब्वाइजमा नारायणकुमार कुश्वा पहिलो, ईश्वर बस्नेत दोश्रो तथा अजय तामाङ तेश्रो भए । उक्त स्पर्धाको गल्र्समा स्वस्तीका बोहरा, सुनिता श्रेष्ठ र अन्जु खड्काले क्रमशः शीर्ष तीन स्थानमा दौड पूरा गरे । ब्वाइज, गल्र्स दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, ८ हजार र ५ हजार नगद पुरस्कार पाए ।

पुरुष भेट्रानमा धर्म महर्जन पहिलो, भीमबहादुर गुरुङ दोश्रो र राजु भण्डारी तेश्रो बने । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरे । बाँकी तीन स्पर्धाको दूरी पनि ५ किलोमिटर रहेको थियो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव एवं प्रदेश सांसद् केशव स्थापित, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका महासचिव वचन देउजा, सचिव ओमकृष्ण प्रसाईंलगायतले पुरस्कृत गरे ।

सो अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथलेटिक्सको महिला १० हजार मिटर दौडकी स्वर्ण विजेता सन्तोषी श्रेष्ठलाई नगद २५ हजारसहित सम्मान गरिएको थियो ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी र रन क्लब नेपालद्वारा संयुक्त आयोजित प्रतियोगितामा करिब ४ सय खेलाडीको सहभागिता रहेको रन क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जनाएका छन् ।