सिरियाको राजधानीमा मारिए इरानका उच्च कमाण्डर

सिरियाको राजधानीमा मारिए इरानका उच्च कमाण्डर


इरानी रिभोलुसनरी गार्डका उच्च सदस्यको सिरियाको राजधानी दमास्कसमा गोली हानी हत्या गरिएको छ ।

गार्डका प्रमुख मेजर जनरल कासिम सुलेमानीको केही समय पहिले इराकमा भएको अमेरिकी आक्रमणमा मृत्यु भएको थियो भने उक्त संगठनका अर्का उच्च कमाण्डर फारहद दाविरियनलाई आवाजहीन अत्याधुनिक हतियारको प्रयोग गरी शुक्रबार (६ मार्चा) हत्या गरिएको सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएका छन् ।

सिरियाली मानव अधिकारवादी संस्था, सिरियन अब्र्जभेटरी फर ह्युमन राइट्सका अनुसार दाविरियनलाई दमास्कसको दक्षिण क्षेत्रमा रहेको सायिदा जायनब भन्ने इलाकामा मारिएको थियो ।

संस्थालाई उद्धृत गर्दै सिन्ह्वाले जनाएअनुसार दाविरियनले इजरायलद्वारा नियन्त्रण रहेको गोलन हाइट्स र पालमिरामा इस्लामिक स्टेटका लडाकूहरूको नेतृत्व गर्दै आएका बताइएको छ । उनी लेबनानी सिया हेजबुल्ला समूहका महासचिब हसन नसरल्लाको निकटस्थ रहेर काम गर्दै आएका पनि उक्त संस्थाले जनाएको छ ।

हत्याबारे थप विवरणहरू प्राप्त हुन सकेका छैनन् तर शुक्रबार इजरायलले इराननिकट मानिने सिरियाली लडाकू दस्तालाई लक्षित गरी केही हवाई आक्रमण गरेको पुष्टि स्थानीयले गरेका छन् । सिरियाली राष्ट्रपति बसर अल असदको सेनालाई इरानले हतियार तथा सैन्य सहयोग गर्दै आएको छ ।