कोरोनाका कारण इरानमा थप १७ को मृत्यु, विश्वभर एक लाख सङ्क्रमित

कोरोनाका कारण इरानमा थप १७ को मृत्यु, विश्वभर एक लाख सङ्क्रमित


कोरोना भाइरसको सङ्क्रमण तीब्र फैलिएको इरानमा शुक्रबार थप १७ जनाको मृत्यु भएको छ । योसँगै इरानमा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १२४ पुगेको इरानी अधिकारीले बताएका छन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाले जोन हकिन्स विश्वविद्यालयलाई उद्धृत गदै संसारभर कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या शुक्रबार (६ मार्च) एक लाख नाघेको जनाएको छ ।

स्थानीय समय अनुसार शुक्रबार बिहान आठ बजेसम्म कूल एक लाख ११३ जनामा कोरोनाभाइरसको पुष्टि भएको विश्वविद्यालयकोे तथ्याङ्कमा उल्लेख छ ।

‘पछिल्ला केही दिनमा देशभरिमा कोरोना भाइरसबाट सङ्क्रमितको थप सङ्ख्या एक हजार २३४ रहेको छ,’ स्वास्थ्यमन्त्री किअनोस जाहनपोरले भनृे– ‘सङ्क्रमितको कूल सङ्ख्या ४७४७ पुगेको छ । सङ्क्रमित भएको पुष्टि भएका यी विरामीहरू सम्भवतः दुई हप्ता अगाडि नै सङ्क्रमित भएका र हाल उपचारका लागि अस्पताल आउँदा उनीहरूमा सङ्क्रमण पुष्टि भएको हो ।’

इरानमा कोरोना भाइरसबाट सङ्क्रमित भएको आशङ्कामा १५ हजार ९८० व्यक्तिको स्वास्थ्य परीक्षण गरिएको थियो । कोरोना भाइरस सङ्क्रमित भएपछि निको भएका व्यक्तिहरूको सङ्ख्या भने ९१३ भन्दा बढी पुगेको छ ।

अधिकारीहरूका अनुसार सङ्क्रमितमध्ये सबैभन्दा धेरै राजधानी तेहरानमा रहेका छन् । त्यसैले तेहरानलाई इरानमा कोरोना भाइरसको केन्द्र मानिएको छ ।

यसैबीच स्पेनमा थप पाँच जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै यहाँ कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या ३६५ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

यसअघि बिहीबारसम्म एकैदिन १०२ जनाको समूहलाई सङ्क्रमण भएको पुष्टि गरिएको थियो । त्यस्तै यूरोपेले अर्को मुलुक नेदरल्याण्डमा पनि कोरोना भाइरसबाट सङ्क्रमित पहिलो विरामी भेटिएका छन् । स्वास्थ्य अधिकारीहरूले ८६ वर्षीय एक वृद्धमा कोरोना भाइरसको पुष्टि भएको जानकारी दिएका छन् ।

इटालीमा १४८ को मृत्यु

इटालीमा कोरोना भाइरसबाट १४८ जनाको ज्याान गएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । इटालीमा बिहीबार मात्र ४१ जनाको मृत्यु भएको समाचार आएको छ । यो समेतगरी यहाँ यस भाइरसको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या १४८ पुगेको हो ।

इटालीका विभिन्न २२ वटा शहरमा यसको प्रकोप देखिएको छ । इटालीले देशैभरिका विद्यालय, विश्वविद्यालय बन्द गराएको छ । सरकारले यो भाइरसको नियन्त्रणका विभिन्न कार्यक्रम घोषणा गरी कार्यान्वयन गराएको छ ।

उता संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा पनि यस प्राणघातक कोरोना जीवाणु (भाइरस)का कारण एक व्यक्तिको मृत्यु भएपछि सङ्कटकाल घोषणा गरिएको अर्काे एक समाचारमा जनाइएको छ ।

विश्वभर हाल कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या ९६ हजारभन्दा बढी पुगिसकेको छ, र तीमध्ये करिब ८० भन्दाबढी हजार चीनमा रहेको बिबिसीले जनाएको छ । गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको यस कोरोना भाइरस सक्रमणबाट चीनमा मात्र तीन हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोनाकै कारण दक्षिण कोरियामा हालसम्म ४३ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी छ हजार ५९३ जनामा कोरोना सङ्क्रमण देखिएको शुक्रबार प्राप्त एक समाचारमा जनाइएको छ ।

जोखिम नियन्त्रण गर्न दक्षिण कोरियाका प्रधानमन्त्री चुङ स्ये–क्यूनले अनुहारमा लगाउने मास्क विदेश निर्यात गर्न प्रतिबन्ध लगाइएको घोषणा गर्नु भएको छ ।