अफगानिस्तानको राजधानी काबुलमा एउटा भीडमा गोली प्रहार हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । घटनामा परी ५५ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।
त्यहाँको गृह मन्त्रालयका अनुसार राजधानी कावुलको पश्चिमी क्षेत्रमा शुक्रबार (६ मार्च) घटना भएको हो । घटनामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको र मृत्यु हुनेमा महिला तथा बालबालिका पनि रहेका गृह मन्त्रालयका प्रवक्ता नसरत राहिमीलाई उद्धृत गर्दै सिन्हवाले जनाएको छ ।
स्थानीय टोलो न्यूज टेलिभिजनसँगको कुराकानी क्रममा उनले कावुलको डास्टी बार्चीमा भएको यो आतङ्कारी आक्रमणमा परी ५५ जना घाइते भएको पनि जानकारी दिएका छन् ।
सांस्कृतिक तथा धार्मिक भवनको रुपमा रहेको मोसल–ए–सहिद मजारीमा एउटा कार्यक्रम भइरहेको बेला अन्धाधुन्दा गोली प्रहार भएको थियो । स्थानीय समयअनुसार बिहान ११ः२० बजे घटना भएको अधिकारीहरूले जनाएका छन् ।
घटना भएका बेला अफगान उच्च शान्ति परिषद्का अध्यक्ष कारिम खालीलीले सम्बोधन गरिरहेका थिए । आक्रमणमा अफगानीस्तानी राष्ट्रिय प्रहरीअन्तर्गतको संकट व्यवस्थापन एकाइ (सीआरयु)का प्रहरीहरुले लगातार प्रतिआक्रमण गरेका थिए ।
कार्यक्रमस्थलमा सहभागीमध्ये अधिकांश राजनितिज्ञ तथा सरकारी अधिकारीहरू रहेका थिए । कार्यक्रममा सहभागी सरकारका प्रमुख कार्यकारी अब्दुलाअब्दुला, खालीली, पूर्वराष्ट्रपति हमिद कारजाइलगायतलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका थिए ।
जिहादी नेता अब्दुल अली–मजारीको वार्षिकीका अवसरमा आयोजित स्मृतिमा आक्रमणको घटना भएको हो । आक्रमणका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन ।
अफगानिस्तामा गत सन् २०१९ मा मात्रै युद्धसम्बन्धी घटनामा परी तीन हजार ४०० भन्दा बढी नागरिक मारिएका छन् भने अरु ६ हजार ९०० जना घाइते भएको संयुक्त राष्ट्रसङ्घको अपगानिस्तानस्तित नियोगले जनाएको छ ।
प्रतिक्रिया