कोरोना भाइरसका कारण ईपीएल स्थगित

कोरोना भाइरसका कारण ईपीएल स्थगित


कोरोना भाइरसका कारण चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगन गरिएको छ ।

चीनबाट शुरु भएको कोरोना भाइरस विश्वव्यापी रूपमा फैलँदै गएपछि ईपीएल स्थगन गरिएको आयोजक ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए । उनका अनुसार नेपाल क्रिकेट संघ, सहभागी टोली तथा प्रायोजकसँगको छलफलपछि प्रतियोगिता स्थगन गरिएको हो । ‘कोरोनाको त्रासले अहिले ईपीएल स्थगित गरेका छौँ । स्थिति नियन्त्रण भएपछि नयाँ मिति तय गर्नेछौँ,’ उनले भने ।

यसअघि ईपीएल आगामी चैत १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने तय भएको थियो । राससका अनुसार प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता हुने कार्यक्रम तय भएको थियो जसमा ललितपुर, काठमाडौं किङ्स इलेभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्स रहेका थिए ।