भारोत्तोलनकी ‘आइरन लेडी’ कीर्तिमानी सञ्जु चौधरी

भारोत्तोलनकी ‘आइरन लेडी’ कीर्तिमानी सञ्जु चौधरी


■ श्रीविक्रम भण्डारी

सामान्य परिवार, खेलकुदको त्यस्तो वातावरण नै थिएन । यस्तो वातावरणमा पनि दिदी तारा चौधरीको क्रिकेटप्रतिको मोह सञ्जु चौधरीको लागि प्रेरणाको स्रोत बन्यो । १२ वर्षको उमेरसम्म खेलकुदप्रति सञ्जु अन्जान थिइन् । तर, दिदीसँग घरमा क्रिकेट खेल्दा उनलाई बडो आनन्द आउँथ्यो । रमाइलोका लागि क्रिकेट खेल्दाखेल्दै सञ्जु क्रिकेटप्रति आकर्षित भइन् । भित्रभित्रै क्रिकेट खेल्ने रुचि बढ्दै गयो ।

नेपालगञ्जको मंगलप्रसाद माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्दै गर्दा पहिलोपटक उनले क्रिकेटको प्रशिक्षण लिने अवसर पाइन् । सञ्जुलाई उक्त स्कुलका खेलकुद शिक्षक इरफान हुसेनले प्रशिक्षण गराएका थिए । घरमा क्रिकेट खेल्ने भएकोले टेक्निकल कुरा सिक्न सञ्जुलाई त्यति गाह्रो भएन । तीन महिनासम्म फिजिकल टे«निङसँगै दिनको दुई घन्टा क्रिकेटको प्रशिक्षण गर्दा उनको खेलमा निकै सुधार भइसकेको थियो । तर, दुर्भाग्य ! प्रशिक्षण राम्रोसँग चलिरहेको अवस्थामा परिवारले चाल पाएपछि सञ्जुलाई घरबाट क्रिकेट खेल्न बन्देज गरियो । परिवारले बन्देज लगाए पनि क्रिकेटको भूत सवार भइसकेकोले सञ्जुले क्रिकेटलाई भुल्न सकिनन् । परिणाम लुकेरै भए पनि क्रिकेटको नियमित प्रशिक्षण गर्न थालिन् ।

क्रिकेट खेल्दै जाँदा एक वर्षको अन्तरालमा अन्तरस्कुल राष्ट्रिय प्रतियोगिताको आयोजना भयो । सो प्रतियोगितामा सञ्जुले आफ्नो स्कुल मंगलप्रसादबाट खेल्ने अवसर पाइन् । उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो स्कुललाई दोस्रो बनाएपछि सञ्जुको चर्चा पनि आकासियो । त्यसैक्रममा नेपालगञ्जको एक स्थानीय पत्रिकाले सञ्जुको उत्कृष्ट प्रदर्शनको चर्चा गर्दै फोटोसहितको समाचार प्रकाशित गरेपछि घरबाट लागेको बन्देजसमेत हटेको थियो । यसपछि बिनासन्त्रास क्रिकेट खेल्न थालेकी सञ्जुको वास्तविक खेलजीवन शुभारभ्म भयो ।

सञ्जु क्रिकेटकी अलराउन्डर खेलाडी हुनुको साथै ओपनिङ ब्याट्सम्यान हुन् । क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेकै कारण सञ्जुले ७ देखि १० कक्षासम्म छात्रवृत्ति पाइन् । उनलाई सनविम हायर सेकेन्डरी स्कुलले छात्रवृत्ति दिएको थियो । सनविममा १० कक्षासम्म पढ्दा सञ्जुले एथलेटिक्सतर्फ पनि एकछत्र राज गरेन । १०० मिटर, २०० सय मिटर र ४ गुणा १०० मिटर र लङजम्पमा उनले स्कुलमा कीर्तिमान नै कायम गरिन् ।

क्रिकेटले सञ्जुको खेलजीवनलाई चुलीमा पुऱ्याए पनि भारोत्तोलन खेल उनको लागि लक्की साबित भो । एसएलसी पास गरेपछि रंगशालामा फिजिकल फिटनेस गर्न जाँदा उनको भेट भारोत्तोलनका प्रशिक्षक सकिल अहमद हलुवाईसँग भयो । शकिल गुरुले महिला खेलाडीका लागि भारोत्तोलनमा भविष्य छ, राम्रो हुन्छ, खेल भनेपछि सञ्जुले आफ्नो दोस्रो इनिङ भारोत्तोलनबाट शुरु गरिन् । त्यतिबेला सञ्जु १७ वर्षकी थिइन् । नौलो खेल शुभारभ्ममा केही कठिनाइ र चुनौतीको सामना गर्नुपरे पनि सञ्जुले हिम्मत हारिनन् । परिस्थितिसँग पौँठाजोरी खेल्दै आठ महिना निरन्तर भारोत्तोलनको ट्रेनिङ गरिन् । त्यसपछि ‘ओलम्पिक डे’को दिन काठमाडौँमा आयोजना भएको पाँचौँ ग्य्रान्डपिक्स भारोत्तोलन प्रतियोगितामा सञ्जुले पहिलोपटक सहभागिता जनाउने अवसर पाइन् । ५३ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी सञ्जुले आफ्नो पहिलो सहभागितामै रजत पदक जितेर प्रशिक्षकको नजरमा पर्दै उदीयमान खेलाडीको छाप छोड्न सफल भइन् । दोस्रो स्थान हासिल गर्ने क्रममा सञ्जुले क्लिन एन्ड जर्कमा ६० र स्न्याचमा ४५ केजी भार उठाएकी थिइन् ।

यसरी पहिलो सहभागितामा रजत पदक जितेपछि निकै हौसिएकी सञ्जुले त्यसपछि भारोत्तोलन खेलमा आफ्नो भविष्य देखेकी थिइन् । त्यसमाथि प्रशिक्षकहरूले हौसला उनको लागि रामवाण बन्यो । प्रशिक्षकले तिमी सानै छौ, अझ धेरै राम्रोे गर्न सक्छ्यौ, हामी पनि तिमीलाई सहयोग गर्छौं भनेपछि सञ्जुको खुसीले भुइँ छोडेको थियो । त्यसपछि सञ्जुको अर्जुनदृष्टि सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता बन्यो । सातौँमा स्वर्ण जित्ने लक्ष्यमा साथ उनले प्रशिक्षण पनि गरिन् । तर, विडम्बना ! बढी महत्वाकाङ्क्षा र स्वर्ण पदकको लोभका कारण आफूले जितेको रजत पदकसमेत गुमाउन पुगिन् । सातौँमा ४९ केजीतर्फ प्रतिस्पर्धा गरिकी सञ्जुले स्वर्ण पदकका लागि बढी भार उठाउने प्रयास गर्दा उनी असफल भइन् । परिणाम आफूले जितेको पदकसमेत गुम्यो । यो परिणामपछि निकै दुःखी बनेकी सञ्जुले बढी महत्वाकाङ्क्षा गर्न नहुने पाठ राम्रोसँग सिकिन् । अहिले पनि त्यतिबेला गरेको निर्णय ठीक नभएको भन्दै पश्चात्ताप गर्छिन् । जसलाई सञ्जुले नमिठो सपनाको संज्ञासमेत दिएकी छिन् ।

सातौँमा ‘वास’ हुनु सञ्जुको लागि निकै महँगो प¥यो । यही कारणले झन्डै उनले काठमाडौंमा हुन लागेको एसियन युथ एन्ड जुनियर वेट लिफ्टिङ च्याम्पियनसिपबाट हात धुनुपरेको थियो । सातौँमा वास भएकै कारण उनलाई उक्त प्रतियोगिताको बन्द प्रशिक्षणमा राख्न समस्या उत्पन्न भयो । पछि गुरुहरूले सञ्जु राम्रो खेलाडी हो, राम्रो गर्न सक्छ भनेर राखेपमा पत्राचार गरेपछि बन्द प्रशिक्षणमा परेकी थिइन् । गुरुहरूको यो विश्वासमा खरो उत्रिँदै सञ्जुले उक्त प्रतियोगितामा तीनवटा राष्ट्रिय कीर्तिमान कायम गर्दै सबैको मन जित्न सफल भइन् ।

अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा अकल्पनीय सफलता प्राप्त गरेपछि सञ्जुको खुसीको सीमा रहेन । यो सफलता उनको जीवनको सबैभन्दा ठूलो सफलता थियो जसको स्मरण सञ्जु अहिले पनि गर्न चाहन्छिन् । ५३ केजीतर्फ प्रतिस्पर्धा गरेकी सञ्जुको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । यो उत्कृष्ट प्रदर्शनसँगै चर्चामा आएकी सञ्जुले त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन, सफलताले उनको कदमलाई बारम्बार चुम्दै गएको छ । अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा प्राप्त सफलता सञ्जुको लागि चुनौती बनेको अवस्थामा २०७४ सालमा आयोजना भएको प्रथम नेपाल स्ट्रोङगेस्ट सुनिललाल जोशी मेमोरियल च्याम्पियनसिपमा पुनः उत्कृष्ट प्रदर्शन गर्दै तीनवटा राष्ट्रिय कीर्तिमान कायम गर्दै सञ्जुले स्वर्ण पदक जितिन् । ५३ केजीको जुनियरतर्फ प्रतिस्पर्धा गरेकी उनले उक्त प्रतियोगिता ‘बेस्ट लिफ्टर’को उपाधिसमेत प्राप्त गरिन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलताको झन्डा गाडेपछि सञ्जुले पहिलोपटक दक्षिण कोरियाको याङ्गोमा आयोजना भएको अन्तर्राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा सहभागिता जनाएकी थिइन् । २०७४ सालमा आयोजना भएको उक्त च्याम्पियनसिपमा तीन रजत र तीन कांस्य पदक जितेर सञ्जुले आफूलाई प्रतिभावान खेलाडी मात्र नभई अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि पदक जित्न सक्ने क्षमतावान खेलाडीको रूपमा समेत प्रस्तुत गरिन् । साथै सोही साल राखेपले आयोजना गरेको राखेप च्याम्पियनसिपमा पनि सञ्जुले स्वर्ण पदक जित्दै तीनवटा राष्ट्रिय कीर्तिमान कायम गर्दै बेस्ट लिफ्टरको उपाधिसमेत चुमिन् । त्यस्तै, सोही साल प्रथम इन्टर क्लब राष्ट्रिय भारोत्तोलनमा पनि स्वर्णसहित तीनवटा राष्ट्रिय कीर्तिमान कायम गर्दै बेस्ट लिफ्टरको उपाधि जितेपछि उनी उदीयमान राष्ट्रिय खेलाडीको रूपमा परिचित हुन पुगिन् ।

०७४ जस्तै ०७५ साल पनि सञ्जुको लागि उत्कृष्ट रह्यो । उनले आफ्नो खेलमा अझै सुधार गर्दै लगिन् । परिणाम ०७५ सालमा आयोजना भएको दोस्रो र ०७६ सालमा भएको तेस्रो सुनिललाल स्मृति भारोत्तोलन च्याम्पियनसिपमा पुनः पुरानो नतिजा दोहोऱ्याउन सफल भइन् । यसपछि ०७५ साल उज्वेकिस्तानमा आयोजना भएको एसियन युथ एन्ड जुनियर भारोत्तोलन च्याम्पियनसिपमा स्न्याचतर्फ तीनवटा राष्ट्रिय कीर्तिमान बनाउँदै नौलो अनुभव बटुल्न सफल भइन् । त्यसपछि सन् २०१८ मा इन्डोनेसियामा आयोजना भएको १८औँ एसियाली खेलकुद प्रतियोगितामा तीनवटा राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भइन् । सञ्जुको अफिसियल गेममा यो पहिलो स्पर्धा थियो ।

सातौँ राष्ट्रियमा ‘वास’ भएकै कारण पदक जित्नबाट वञ्चित सञ्जुले आठौँमा स्वर्ण पदक जित्ने पक्का थियो । तर, दुर्भाग्य ! आठौँ राष्ट्रिय र ओलम्पिक छनोट एउटै समयमा परेकोले उनले आठौँमा सहभागिता दिनबाट वञ्चित हुनुप¥यो । आठौँ खेल्न नपाउँदाको पीडा अहिले पनि सञ्जुले महसुस गरेकी छिन् । किनकि उनले अन्य राष्ट्रियस्तरका प्रतियोगितामा कीर्तिमानसहित पदक जिते पनि राखेपले आयोजना गरेको राष्ट्रिय प्रतियोगितामा अहिलेसम्म पदक जित्ने साइत जुरेको छैन ।

आठौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने खेलाडीलाई मात्रै १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को बन्द प्रशिक्षणमा राख्ने राखेपको निर्णयले गर्दा सञ्जुको १३औँ सागमा सहभागिता अन्योलमा परेको थियो । किनकि ओलम्पिक छनोटका कारण उनले आठौँ राष्ट्रियमा प्रतिस्पर्धा गर्न पाएकी थिइनन् । तर, सञ्जुको भाग्य बलियो, राखेपले बन्द प्रशिक्षणमा नराखे पनि भारोत्तोेलन सङ्घले आफ्नै खर्चमा पकेट मनी दिएर क्याम्पमा राखेर प्रशिक्षण गराएको थियो ।

यसबीचमा सङ्घले राखेपलाई वास्तविक कुराको जानकारी गराउँदै पत्राचार गरेपछि एक महिनापछि राखेपले सञ्जुलाई बन्द प्रशिक्षणमा राख्न स्वीकृति दिएको थियो । त्यसपछि १३औँ सागमा ५९ केजीमा स्पर्धा गरेकी सञ्जुले भारोत्तोलन खेलको इतिहासमा ऐतिहासिक कीर्तिमान कायम गर्दै स्वर्ण पदक जितिन् । नेपाली भारोत्तोलन खेलको इतिहासमा पहिलोपटक स्वर्ण पदक जित्ने महिला खेलाडीसमेत बनिन् । १३औँ सागमा सञ्जुले स्न्याचतर्फ ७५ र क्लिन एन्ड जर्कमा ९७ गरी कुल १७२ केजी भार उठाएकी थिइन् । साग खेलको इतिहासमा महिला भारोत्तोलनतर्फ नेपालले १२औँ सागदेखि सहभागिता जनाएको हो । महिलातर्फ दोस्रो सहभागितामै सञ्जुले स्वर्ण जितेपछि यो खेलमा नेपालले स्वर्ण पदक जित्ने सम्भावना बढेर गएको छ ।

भारोत्तोलनको इतिहासमै पहिलो स्वर्ण पदक जित्ने महिला खेलाडी बन्दा कस्तो अनुभव भयो भन्ने प्रश्नमा सञ्जुले भनिन्, ‘मलाई केही थाहा थिएन, स्वर्ण पदक जितेको दिनभरि नै थाहा थिएन, पछि थाहा भएपछि निकै खुसी र उत्साहित भएँ, अनौठो अनुभव भयो, यो मेरो कल्पनाभन्दा बाहिरको कुरा थियो ।’ ‘मेरो प्रतिस्पर्धा हुनु दुई दिनअघि तिलक राउत गुरुले कोठामा बोलाएर भविष्य बनाउने र गुमाउने तिम्रै हातमा छ भन्दा मेरो हौसला निकै बढेको थियो, अब मैले केही गरेर देखाउनुपर्छ भन्ने जिम्मेवारीबोध भयो । त्यसपछि निकै आत्मविश्वासका साथ प्रशिक्षण गरेँ, परिणाम पनि सुखद आयो,’ सञ्जुले भनिन् ।

१३औँ सागमा स्वर्ण पदक जितेपछि नेपाल पुलिसले गत माघ २८ गतेदेखि खेलाडी कोटामा जागिर दिएको छ । जागिर पाएपछि निकै प्रफुल्लित सञ्जुले अब पहिलेको जस्तो दुःख नहुने बताइन् । मलाई यहाँसम्म पुऱ्याउन थुप्रैले सहयोग गर्नुभएको छ, त्यसमा प्रशिक्षकतर्फ सञ्जय महर्जन गुरुको विशेष हात छ, त्यस्तै छिमेकी दाइ भुवनसिंह ठकुरीले गरेको सहयोगलाई म कदापि बिर्सन सक्दिनँ । उहाँले मलाई काठमाडौंमा बस्न विशेष सहयोग गर्नुभएको छ । पुलिस ज्वाइन गरेपछि जगदीश प्रधानको प्रशिक्षणमा उनले प्रशिक्षण गरिरहेकी छिन् ।

सर्वप्रथम छात्रवृत्ति पाउँदा, त्यसपछि विदेशमा गएर खेल्न पाउँदा र १३औँ सागमा स्वर्ण पदक जित्दाको क्षणलाई आफ्नो अविष्मरणीय क्षण बताउने सञ्जुले आफू अहिलेसम्म प्रेम सम्बन्धमा नपरेको बताइन् । ‘एसएलसी पढ्दा सानै थिएँ, केटाहरूसँग सामान्य कुरा हुन्थ्यो, प्रेमचाहिँ होइन । अहिले प्रशिक्षणमा व्यस्त रहँदा प्रेम गर्ने फुर्सद नै छैन,’ सञ्जुले भनिन् । त्यसो भए अब प्रेम नगरी सीधै विवाह गर्ने होइन त ? भन्दा सञ्जुले भनिन्, ‘सर्वप्रथम मैले कसैलाई रोजेँ भने घरपरिवारलाई भन्छु, अन्यथा परिवारले रोजेर गरे पनि ठीकै छ, यसमा मेरो गुनासो रहन्न, अहिले मेरो सबैभन्दा प्राथमिकताको कुरो खेल हो, खेलमा ध्यान दिन्छु, आफ्नो प्रदर्शनमा सुधार गर्छु, शरीरले साथ दिँदासम्म खेल्छु, त्यसैले भविष्यमा जे हुन्छ त्यो स्वीकार गर्छु ।’ भारोत्तोलनमा महिला खेलाडीको भविष्यबारे चर्चा गर्दा सञ्जुले भनिन्, ‘त्यो आफूमा भरपर्ने कुरा हो, महिला खेलाडीले मिहिनेत गरेर आफ्नो भविष्य आफैंले बनाउने हो ।’ आफू सफल खेलाडी बन्न कडा मिहिनेत गर्नुपर्ने उनको भनाइ छ ।