राष्ट्रिय सभाका नयाँ १८ सदस्यले लिए शपथ

राष्ट्रिय सभाका नयाँ १८ सदस्यले लिए शपथ


संघीय संसद् राष्ट्रिय सभामा ६ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा बुधबार आयोजित समारोहमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाए । शपथ लिनेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १६ र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का दुई सदस्य छन् ।

शपथ लिनेमा इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अछामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमार सिंह यादव, गंगाकुमारी बेल्बासे र वेदुराम भुसाल रहेका छन् ।

नवनिर्वाचित सदस्य भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँरले पनि आजै शपथ लिएका छन् । समारोहमा अध्यक्ष तिमिल्सिनाले नयाँ सदस्यलाई सांसदको लोगो लगाइदिनुका साथै बधाई ज्ञापनसमेत गरे ।

संविधान र ऐन उपलब्ध

सो अवसरमा संघीय संसद् सचिवालयले उहाँहरूलाई संविधान र कानुनसहितको झोला उपलब्ध गराएको थियो । राष्ट्रिय सभा सदस्यका लागि गत माघ ९ गते भएको निर्वाचनबाट सात महिला, दुई दलित, दुई अपांगता भएका वा अल्पसंख्यक र सात अन्य समूहबाट निर्वाचित भएका थिए । सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक सदस्यको भने मनोनीत गर्न बाँकी नै रहेको छ । पहिलोपटक गोलाप्रथाद्वारा दुईवर्षे कार्यकाल प्राप्त गरेका १८ सदस्यको मंगलबार बिदाइ गरिएको थियो ।

स्थायी सदनका रूपमा रहेको संघीय संसद, राष्ट्रिय सभा ५९ सदस्यीय रहने संवैधानिक व्यवस्था छ । शपथग्रहण समारोहमा राष्ट्रिय सभाका उपाध्यक्ष, राष्ट्रिय सभामा संसदीय दलका नेता, मुख्य सचेतक, सचेतक, सदस्य, भर्खरै कार्यकाल समाप्त गरेको पूर्वसांसद र नवनिर्वाचित सदस्यका आफन्तजनको सहभागिता रहेको थियो ।