शक्तिशाली बन्दै माधव नेपाल

शक्तिशाली बन्दै माधव नेपाल


पार्टी एकीकरणपछि विभिन्न दृष्टिले छायामा पार्दै लगिएका वरिष्ठ नेता माधवकुमार नेपाल नेकपामा पुनः शक्तिशाली बन्ने अवस्था पैदा भएको छ ।

एमाले र माओवादीबीच एकीकरण भएपछि प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र द्वितीय अध्यक्ष प्रचण्डबीचको छलफल तथा सहमतिका आधारमा मात्र प्रायः निर्णय हुँदै आएका थिए । कुनै समय माओवादीका निम्ति सबभन्दा ठूलो चुनौती बन्नुभएका नेता केपी शर्मा ओलीले गत आमनिर्वाचनमा माओवादीसँग गठबन्धन गरेर बाँकी संसारलाई स्तब्ध बनाउनुभएको थियो । निर्वाचनमा नेकपालाई अपार सफलता प्राप्त भएपछि पार्टी एकीकरण हुनेमा आशङ्का बढिरहेका बेला केपीकै विशेष अग्रसरतामा पौने दुई वर्षअघि पार्टी एकीकरण भएको थियो ।

यस अवधिमा आफ्ना पुराना सहकर्मी नेता माधवकुमार नेपाललाई भन्दा माओवादी पृष्ठभूमिका प्रचण्डलाई अधिक महत्व दिने काम पनि अध्यक्ष ओलीबाट हुँदै आएको हो । तीन महिनाअघि प्रचण्डलाई ‘कार्यकारी अध्यक्ष’को हैसियत दिएर केपीले प्रचण्डलाई थप बलियो बनाइदिनुभएको थियो । यसरी केपी ओलीबाट ‘लिन सक्ने जति’ लिइसकेपछि प्रचण्ड भने केपीलाई नै समाप्त गर्न उद्यत हुनुभयो ।

‘कार्यकारी’को हैसियत प्राप्त हुँदा अध्यक्ष केपी ओली र प्रचण्डबीच दुईवटा मूल सम्झौता भएको थियो । दुवै अध्यक्षको सहमतिबाट मात्र हरेक निर्णय लिने र केपी नेतृत्वको वर्तमान सरकारलाई पाँच वर्ष पूरै निरन्तरता दिने सम्झौता भएकोमा प्रचण्डले सभामुख चयनलगायतका केही महत्वपूर्ण विषयमा अध्यक्ष केपीसँग सहमति बनाउनुभएन । बरु पार्टीमा तीव्र चलखेल गर्दै ‘एमाले’का अन्य नेतालाई समेत आफ्नो चङ्गुलमा पारेर आफैँले चाहेका व्यक्तिलाई सभामुख चयन गर्नुभयो । यसरी अग्नि सापकोटालाई सभामुख बनाउन सक्नुलाई प्रचण्डले केपीमाथिको महान् विजय ठान्नुभयो ।

यो ‘सफलता’लगत्तै प्रचण्डले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट पनि हटाउने खेल शुरु गर्नुभएको छ र, प्रचण्डको पछिल्लो खेलबारे स्वयम् प्रधानमन्त्री अवगत रहनुभएको बताइन्छ । सहमतिमा मात्र निर्णय लिइने पूर्वसहमति तोडिएको र सरकारको नेतृत्व बदल्ने षड्यन्त्र पनि गरेकोले केपीका दृष्टिमा प्रचण्ड एक ‘विश्वासघाती’ पात्रका रूपमा देखा पर्नुभएको छ । त्यसैले केपी ओली अब प्रचण्डलाई विश्वास गर्ने मानसिकतामा नरहनुभएको बुझिन्छ । त्यसैले कुनै पनि दिन प्रचण्डलाई दिइएको ‘कार्यकारी’ हैसियत फिर्ता गर्ने प्रक्रिया अघि बढ्यो भने पनि कुनै आश्चर्य हुनेछैन ।

प्रचण्डसँगको सम्बन्ध अफापसिद्ध भएकोले केपी र माधवबीचको सम्बन्धमा व्यापक सुधार हुने सम्भावना बढेको छ । माधव नेपालका कतिपय समर्थकहरू आफ्नो निजी राजनीतिक स्वार्थका निम्ति केपीसँग माधवको सम्बन्ध सुधार हुन नदिने पक्षमा देखिएका छन् । माधव र केपीबीच मिलाप हुँदा आफू ‘नो ह्वेर’ हुने चिन्ताले दोस्रो– तेस्रो पुस्ताका कतिपय नेतालाई सताएको छ । तर, अब केपी स्वास्थ्यलाभ भएर फर्किएपछि उहाँले पार्टीभित्रको सद्भाव र एकतालाई उच्च प्राथमिकताका साथ अघि बढाउने र त्यस क्रममा माधव र केपीबीचको समझदारीले पूर्वएमालेका नेता–कार्यकर्तालाई एकताबद्ध गराउने ठानिएको छ ।

केपीको कार्यकालपछि पार्टी अध्यक्ष र प्रधानमन्त्री पनि माधवकुमार नेपाल नै बन्नुहुने सन्देश पार्टीमा प्रवाह हुने र त्यसले उहाँलाई पार्टीको सर्वाधिक शक्तिशाली नेता बनाउने अब निश्चितजस्तै छ । केपी–माधवको एकतापछि सबैभन्दा ठूलो सकसमा प्रचण्डलाई पुऱ्याउने देखिएको छ, प्रचण्डको राजनीति सम्भवतः विसर्जनको अवस्थामा पुग्यो भने पनि अब आश्चर्य मान्नु नपर्ने हुन सक्छ ।

माधवकुमार नेपालले केपीसँग समझदारी बढाएर जान चाहेको भए पनि यसअघि केपीले माधवलाई भन्दा प्रचण्डलाई प्राथमिकता दिँदै आउनुभएको थियो । प्रचण्डको अविश्वसनीय भूमिकाका कारण केपी ओली माधव नेपालसँगको सहकार्यलाई प्राथमिकता र स्थायित्व दिने निष्कर्षमा पुग्नुभएको बुझिएको छ । माधव नेपालसँग समझदारी बनेमा त्यसको प्रभाव वामदेव गौतम, झलनाथ खनाल र पार्टीका अन्य नेता–कार्यकर्तामा समेत पर्नेछ ।

पहिले माओवादी पार्टीमा रहेका कतिपय नेता–कार्यकर्तासमेत प्रचण्डको कार्य–व्यवहारबाट आजित भएका छन् । यसरी प्रचण्डबाट हैरान नेता–कार्यकर्ताको साथ पनि माधव–केपी एकताकै पक्षमा हुन सक्ने देखिन्छ । यसप्रकारको एकताले पार्टीमा केपीपछिको नेतृत्वबारे उत्पन्न अन्योलको पनि अन्त्य गर्ने निश्चित मान्न सकिन्छ । केपीको कार्यकालपछि पार्टी अध्यक्ष र प्रधानमन्त्री पनि माधवकुमार नेपाल नै बन्नुहुने सन्देश पार्टीमा प्रवाह हुने र त्यसले उहाँलाई पार्टीको सर्वाधिक शक्तिशाली नेता बनाउने अब निश्चितजस्तै छ । केपी–माधवको एकतापछि सबैभन्दा ठूलो सकसमा प्रचण्डलाई पुऱ्याउने देखिएको छ, प्रचण्डको राजनीति सम्भवतः विसर्जनको अवस्थामा पुग्यो भने पनि अब आश्चर्य मान्नु नपर्ने हुन सक्छ ।