नारीशक्ति पूजन र रेड एरिया

■ तिलक पौडेल



बिजुलीको प्लगलाई पनि भाले–पोथी भनिँदो रहेछ (पीन भएको भाले (+) र प्वाल भएको पोथी (–) । गणितमा पनि धनचिह्न (+) र ऋणचिह्न (–) भन्ने गरिन्छ । परमाणुका टुक्रालाई पनि प्रोटोन (+) इलेक्ट्रोन (–) र न्युट्रन (०) भनिन्छ । फल फल्ने वनस्पतिका फूलमा पनि पुङ्केशर (+) र स्त्रीकेशर (–) भनिन्छ । यसरी हेर्दा चराचर जगत्का जीव वनस्पतिदेखि नपुङ्सक चिजहरूमा पनि तिनको सार्थकताका खातिर मोटो परिभाषामा पुलिङ्गी र स्त्रीलिङ्गी शब्द र अङ्गहरूको व्यवस्था प्रकृतितः मिलाएको पाइन्छ । हुन पनि ती दुई शब्द–अङ्गको मिलन नभई बिजुली बल्दैन, लाइन पास हुँदैन, हिसाब मिल्दैन, गर्भाधान हुँदैन, उत्तराधिकारीको बन्दोबस्त हुन नसक्दा सृष्टि नै ठप्प हुन्छ भन्दा अत्युक्ति नहोला । बरु यी स्त्रीलिङ्गी र पुलिङ्गीको सङ्ख्या तलमाथि नपर्ने गरी युग व्यवस्था मिलाउने अदृश्य शक्तिप्रति सम्मान प्रकट गर्नु उपयुक्तै जँच्दछ । किनभने कवि शिरोमणि लेखनाथ पौड्यालले उनैताका –

‘अनादि संसार विषे कुनै दिन, जताततै स्त्रीजति शून्य भैकन ।
नजन्मनु केवल पुरुषै किन ? तँलाई मालुम छ कि यो कुरा मन ।।’
– (बुद्धिविनोद)

भनी उल्लेख गरेको व्यहोरा आफैँमा मननीय लाग्दछ ।
र पनि स्त्रीलिङ्गी पक्ष पुलिङ्गीभन्दा बन्दनीय, नमनीय, पूजनीय मानिएको रहेछ । यही व्यहोरा मनुस्मृतिमा –

‘यत्र नार्यस्तु पुज्यन्ते, रमन्ते तत्र देवता’ भनी उल्लेख गरेको पाइन्छ, अर्थात् जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि रमाउँछन् ।
यही कारण हुनुपर्छ अनादिकालदेखि नै नारी वर्गको सम्मानस्वरूप ‘रामसीता’ नभनी ‘सीताराम’, ‘कृष्णराधा’ नभनी ‘राधाकृष्ण’ भन्ने गरिएको पाइन्छ । देवाधिदेव महादेवको हकमा ‘शिवपार्वती’ भनिए पनि ‘उमामहेश्वर’ पनि भन्ने गरिन्छ । हुन पनि विद्या खुलोस् भनेर प्रार्थना गर्नुपर्दा ‘ब्रह्मा’को नगरी ‘सरस्वती’को पूजा गरिन्छ । त्यस्तै धनप्राप्तिका लागि पूजन गर्नुपर्दा पनि ‘विष्णु’को नगरी ‘लक्ष्मी’को आराधना गरिन्छ । यी व्यहोराले नारी शक्तिको सम्मान अद्यावधि गरिँदै आएको प्रमाणित हुन्छ । त्यति मात्र कहाँ हो र ? ‘धर्तीपिता’ भनेर कहिल्यै पुकारिँदैन, ‘धर्तीमाता’ नै भन्ने गरिन्छ । यसरी धर्तीमा सृष्टि अविच्छिन्नताका लागि नर–नारीको याने स्त्रीलिङ्ग र पुलिङ्गको सिर्जना गरिएको स्पष्ट छ तापनि शक्तिका हिसाबले स्त्रीलिङ्गै अघि देखिन्छ । शक्तिको पूजन याने विजयोत्सव न हो – दशैँ पनि । नवरात्रि भनेर दुर्गाका नौरूपको पूजन गरी शक्तिप्रति नतमस्तकता प्रकट गरेको स्पष्टै छ । शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुस्माण्डेती, स्कन्दमाता, कात्यायानी, कालरात्रि, महागौरी, सिद्धिदात्री गरी सनातनदेखि नवदुर्गाको पूजन गरी नारीप्रति हार्दिक सम्मान प्रकट गरी आएको पाइन्छ ।

यस्ति शक्ति स्वरूपा देवीहरूकै रूप हुन् धर्तीका महिलाहरू भने देवताकै रूप हुन् पुरुषहरू पनि । सृष्टिताका खाने, लाउने, बस्ने, हिम्मत गर्नेदेखि समागम गर्नेसम्मका विषयमा विद्वान्–विदुषीहरूले आ–आफ्नो अनुभवलाई साक्षी राखेर गरेको विश्लेषणलाई हितोपदेशका रूपमा उल्लेख गरेका छन् । जसअनुसार महिलाहरूमा पुरुषको भन्दा खानामा दुई गुना, लाजशर्ममा चारगुना, साहसमा छगुना र मैथुनमा आठगुना बढी प्रवेग हुन्छ भनेको पाइन्छ ।

आहारो द्विगुणा स्त्रिणाम्, बुद्धिश्तासास्चतुर्गुणा,
षठ्गुणो व्यवसायश्च, कामश्चाष्टा गुणास्मृतः ।
– हितोपदेश

अरू प्रसङ्गलाई थाती राखी मैथुनको प्रसङ्गलाई हेर्दा पुरुषहरूको मैथुनिक चाहना आरम्भ भएपछि अनावश्यक नठहर्दासम्म सदावहार प्रकृतिको हुन्छ । तर, महिलाको हकमा महिनावारी हुने हुँदा उनीहरू सो हुनुभन्दा एकहप्ता र सो भएपछिको करिब एकहप्ता मैथुनायोग्य वा मैथुन अनावश्यकप्रायः हुन्छ । वास्तवमा सृष्टिताका विभिन्न प्राणीहरूमा प्रकारानुसार मैथुनिक तीव्रता स्त्रीलिङ्गी र पुलिङ्गीमा समानै थियो होला । स्त्रीलिङ्गीहरूमा उल्लिखितबमोजिम करिब दुई हप्ता शून्यप्रायः हुँदा शेष दुई हप्तामा सबै तीव्रता प्रकट हुँदा मैथुनावेग स्पष्टतः बढी हुने नै भयो । तर, स्त्रीलिङ्गीहरूमा लाज चार गुना बढी हुने भएकाले समागमको रहरै नभएजस्तो देखिन सकेको हुनुपर्छ । यो व्यहोरा हितोपदेशको भनाइमा आधारित सैद्धान्तिक विश्लेषण हो र स्त्रीलिङ्गीहरूमा स्वानुभव हुनुपर्छ, अन्यथा भएमा कसैलाई आँच पुऱ्याउने धेय नरहेको व्यहोरा यहाँ प्रासाङ्गिक बनोस् भन्नु कर्तव्य ठान्दछु ।

मुखको भोक त सार्वजनिकीकरण गर्दा फरक पर्दैन तर समागमको भोक गोप्य राख्नुपर्दा सिर्जनशील दिमागको अधिक हिस्सा यसैको चिन्तनमा खर्चिएको हुन्छ । परिणाम, कतिपय सिर्जनशील मस्तिष्कलाई मैथुनिक तृष्णाको आगोले जलाएको पाइन्छ । परिणाम ऊ बौलाहाप्रायः बनेर बलात्कार गर्न पुग्छ अनि त्यसैको ढाकछोप गर्न हत्यासमेत गर्न पुगेको पाइन्छ ।

प्रसङ्गवश तिजमा बहिनीलाई लिन गएका एक सैनिक जवानको कथांश यहाँ सान्दर्भिक लाग्यो । छत्रेटोपी ढल्काएर कम्मरमा खुकुरी भिरेर बहिनी लिन गएका जवानको प्रसङ्ग हो । बहिनी लिएर फर्कंदै गर्दा ठूलो पानी परेछ । खोला बढेर आयो । तर, साँघु अथवा पुल नहुँदा घाटबाटै तर्नुपर्ने बाध्यता भयो । दुई दाजुबहिनी एक–आपसमा पाखुरा समातासमात गरेर खोलामा पसेछन् । खोलाको पानीले सारी नभिजोस् भनेर बहिनीले सारी माथि सार्दै जाँदा दाजुले बहिनीको पाखुरा समाइको दबाब बढाउँदै गएछ रे ! तब बीचमिहिनुमा पुग्दा साँप्रासम्म पानी पुगेको बेला बैनीले ‘पर्ख दाइ ! खै खुकुरी ?’ भनेर दाइले कम्मरमा भिरेको खुकुरी दापबाट थुतिछन् र बगेको पानीमा डुबाएर माथि निकाली ‘लौ हेर !’ भनिछन् रे । जसबाट मुस्किलले १०–१५ थोपा पानी चुहिने भयो । अनि ‘लौ खुकुरी समाऊ’ भनी दाइको कम्मरबाट दाप निकालिछन् । त्यसलाई पनि पूर्ववत् पानीमा डुबाएर निकाली घोप्ट्याउँदा त ह्वाल्ल एक मुठी पानी पोखिएछ । तब दाजुलाई ‘हेर तिमीहरू (पुरुष) भनेका खुकुरीजस्तै हौ भने हामी (महिला) भनेको दापजस्तै हौँ । मैथुनिक तीव्रता भनेको तिमीहरूको १०–१५ थोपाको हो भने हाम्रो एक मुठीसरहको हो तापनि हामी संयमित हुन सक्छौँ भने तिमीले मेरो पाखुरामा झन्–झन् जोडले किन पक्रन खोज्छौ ?’ भनिथिन् रे । शायद साबिकका विदुषीहरूले यिनै बहिनीको व्यहोरा आफूहरूमा लागू भएको तर सर्म र साहसले दबाउन सक्ने शक्ति महिलामा रहेको हुँदा सो व्यहोरा शास्त्रहरूमा उल्लेख गरिएको हुन सक्छ ।

यिनै र यस्तै कारणहरूको परिणति हुनुपर्छ– शास्त्रअनुसार कल्की अवतार मान्न सकिने अमेरिकाका राष्ट्रपति भएका बेला बिल क्लिन्टनले मैथुनिक आवेगलाई नियन्त्रणमा राख्न नसकेर लिवेन्स्कीलाई मुखमैथुन गराएको व्यहोरा बाहिरिएको । आखिर दुवैको सहमतिबेगर मुखमैथुन बिल्कुल असम्भव कार्य हो । किनभने महिलाको सहमति नभई त्यसो गर्ने हो भने त लिङ्गै टोकिदिन सक्छन्– मरता क्या नकरता ! भला मार्ने धम्की किन नदिइयोस् । तर, लिवेन्स्कीले आफ्नो सर्दो पार्न पछि व्यहोरा सार्वजनिक गराएर विश्वमै तहल्का पिटाइथिन् । हाम्रै मुलुकमा पनि त्यही प्रवेगलाई काबुमा राख्न नसक्दा माननीय बनेकाहरूले अनेकानेक कुकृत्यलगायत रातारात पर्खाल चढेर झ्यालबाट महिलाका कोठामा घुसेसम्मका व्यहोराहरू सुन्नुपरेथ्यो । हालै सम्माननीय बनेका (मुलुकको पाँचौँ वरीयताक्रमका) कृष्णबहादुर महराले पौरुषीय कामवासनाको सदाबहार प्रवेगलाई थेग्न नसकेर ऋतुकालमा मात्रै सहवासको चाहना आठगुना हुने वर्गकी रोशनीको चाहनाशून्य कालमा मदमत्त भई पोखिन खोज्दा झन्डै चार महिना कैदी बन्नुपऱ्यो । चतराधाम बस्ने सोलुखुम्बुका रामकृष्णाचार्य वैष्णव सिद्धबाबा कृष्णदास भनिने कृष्णबहादुर गिरी आफ्नै अनुचर महिलासँग अवैध सम्बन्ध राख्न खोज्दा वनावटी रोगी बनेर सघन उपचार कक्षमा उपचार गराए पनि कानुनको दायरामा बाँधिनुपऱ्यो ।

यो मानेमा उल्लिखित प्रकृतिको व्यहोरालाई ‘बलात्कार’मा परिणत हुन नदिन राष्ट्रले केही चिन्तन गर्न जरुरी देखिन्छ । सदाबहार तर थोरै प्रवेग हुने पुरुष वर्गलाई ऋतुकालमै रहेका वा अनुकूल परिवेश बनाउन अन्तरमनबाटै यौनक्रीडाको चाहना राखेका महिला वैधानिक हिसाबले बस्न मिल्ने स्थान ‘रेड एरिया’हरूको बन्दोबस्त मिलाउनु एउटा उपयुक्त र भरपर्दो विकल्प हुन सक्छ । विश्वका धेरै मुलुकमा यस्तो मात्र होइन महिलाले यौनतुष्टि लिने हिसाबका पुरुषहरू बस्ने ‘रेड एरिया’समेतको व्यवस्था मिलाइएको हुन्छ । स्वास्थ्य र सफाइलाई कडाइकासाथ नियमन गरी मिलाइने यस्ता क्षेत्रहरूबाट उच्च कर असुल गरेका उदाहरणहरू पनि प्रशस्तै पाइन्छ ।

कुखुराको भालेलाई मैथुनिक चाहनाले सतायो भने पोथीसँग समागमको इच्छा प्रकट गर्दछ । ओथारो बसेकी पोथीले पँखेटा फिँजाएर अनिच्छा व्यक्त गरी भने भालेले ‘बलात्कार’को धृष्टता गर्दैन । अर्को यौनचाहना भएकी पोथीको खोजीमा जान्छ र आफ्नो यौनकुण्ठाबाट पार लाग्दछ । यो मानेमा मानिस वर्गमा पितृसत्तात्मक प्रथा कायम रहेको मुलुकमा स्वयम् पत्नीहरू समेत पतिहरूबाट ‘बलात्कार’मा परेका हुन्छन् ।

वास्तवमा मुखको भोकभन्दा लिङ्ग (योनि)को याने समागमको भोक बढी संवेदनशील हुन्छ भन्ने व्यहोरा निसर्मी बनेर हेर्दा स्वमननीय लाग्छ । मुखको भोक त सार्वजनिकीकरण गर्दा फरक पर्दैन तर समागमको भोक गोप्य राख्नुपर्दा सिर्जनशील दिमागको अधिक हिस्सा यसैको चिन्तनमा खर्चिएको हुन्छ । परिणाम, कतिपय सिर्जनशील मस्तिष्कलाई मैथुनिक तृष्णाको आगोले जलाएको पाइन्छ । परिणाम ऊ बौलाहाप्रायः बनेर बलात्कार गर्न पुग्छ अनि त्यसैको ढाकछोप गर्न हत्यासमेत गर्न पुगेको पाइन्छ । भनिन्छ– ‘मानिसले एउटा गल्ती ढाक्न सयौँ गल्तीहरू गरिरहेको हुन्छ ।’

हुन पनि चराचर जगत्मा सृष्टि निरन्तरताका लागि अमिबादेखि (वाइनरी वा मल्टिपल फिसनलाई मान्दा) ह्वेलमाछासम्म यौनक्रीडा अनिवार्य छ र हुने गर्दछ नै । र पनि, मानिसबाहेक जीवमा ‘बलात्कार’का घटना घट्दैनन् । यसको कारण अरूहरूमा यौन स्वतन्त्रता हुनु हो । जस्तै कुनै कुखुराको भालेलाई मैथुनिक चाहनाले सतायो भने पोथीसँग समागमको इच्छा प्रकट गर्दछ । ओथारो बसेकी पोथीले पँखेटा फिँजाएर अनिच्छा व्यक्त गरी भने भालेले ‘बलात्कार’को धृष्टता गर्दैन । अर्को यौनचाहना भएकी पोथीको खोजीमा जान्छ र आफ्नो यौनकुण्ठाबाट पार लाग्दछ । यो मानेमा मानिस वर्गमा पितृसत्तात्मक प्रथा कायम रहेको मुलुकमा स्वयम् पत्नीहरूसमेत पतिहरूबाट ‘बलात्कार’ (अनिच्छाका समयमा पनि यौनक्रीडामा सामेल हुनु)मा परेका हुन्छन् ।

तसर्थ जैविक अत्यावश्यकताको सहज आपूर्तिका लागि अझ भनौँ व्यक्तिमा निहित सिर्जनालाई ओइलाउन वा मर्न नदिन उल्लिखित ‘रेड एरिया’को व्यवस्थालाई वैधानिक दायरामा समेट्नु उपयुक्त देखिन्छ । अन्यथा प्रायः सबैले सन्तुलित, संयमी एवम् मध्यमार्गी मिलनसार नेताका रूपमा आफ्नो परिचय बनाउँदै उपप्रधानमन्त्रीदेखि प्रतिनिधिसभाका सभामुखसमेत बनेका महरा जिल्ला अदालतबाट सफाइ लिए पनि अन्तरमन, मस्तिष्कमा ‘सबैसामु कसरी देखापर्ने होला ?’ भन्ने चिन्तन हाबी हुनुपर्छ, भला उनीले सभामुख पदबाट त स्वेच्छाले राजीनामा गरेको, तर सांसद पद कायमै रहेकोले लगत्तै बहाल गर्छु किन नभनियोस् । घोरिएर चिन्तन गर्ने हो भने सिद्धबाबाको शिष्यप्रतिको विलौना भनौँ वा महराको मुद्दामा रोशनीले दिएको बयान आफैँमा ‘नारीशक्तिको पूजन’ वा नारीशक्तिको भूमिकाको रूपमा स्वीकार्नुपर्छ । एकजना पुरोहित आफ्ना यजमानलाई सुझाव गर्दै थिए– घर सपार्ने हो भने गृहनारीका व्यहोरा मनन गर्ने गर्नुहोला । सत्यतथ्य प्रसङ्गहरू हामी पनि लागू गरौँ ।

…सके सपारौँ, नसके नबिगारौँ…

प्रतिक्रिया