परमात्मालाई छल गर्न सकिन्छ र ?

■ स्वयम्भुनाथ कार्की



परमात्मा, भगवान्, ईश्वर, अल्लाह, परमपिता, गड जे नामले बोलाए पनि जुन भाषा वा सम्प्रदायमा भए पनि तथा आस्तिक–नास्तिक जो भए पनि धारणा भनेको सर्वशक्तिमानकै हो, सर्वज्ञकै हो अनि समदर्शी सुकर्मको फलदाता र कुकर्मको दण्डदाताको नै हो । यस्तो हुन सक्छ भनेर विश्वास राख्ने आस्तिक भए, यस्तो हुन सक्दैन भनेर अविश्वास गर्नेहरू नास्तिक भए । आस्तिक र नास्तिकमा मूलभूत भिन्नता यही नै हो । आ–आफ्नो पक्षको तर्क प्रभावकारी बनाउन आध्यात्मवाद, भौतिकवाद आदिको आवरण ओढाइने गर्दछ । जब ईश्वरको मूलभूत मान्यतालाई नै जानीजानी वा नजानी तोडिने गर्दछ त्यतिखेर आस्तिकता, भक्तिको भेषमा नास्तिक पैदा हुन्छ । यस्तो नास्तिक खुला रूपले आफूलाई नास्तिक भन्ने भन्दा हजारौँ गुणा खतरनाक हुन्छ ।

एक रोचक प्रसङ्ग छ, एउटा ठूलो महात्मा सबैलाई स्वर्गको मार्ग बताउने गर्दथ्यो । स्वर्ग पुग्ने छोटो र सरल बाटो बताउने गर्दथ्यो । दानको यस्तो महिमा गाउने गर्दथ्यो कि सबै मन्त्रमुग्ध हुन्थे । आफ्नो प्रसिद्धि बढ्दै गएको, आफूले भनेको कुरा भक्तहरूले पत्याउँदै गएको देखेर उसको मनमा एक बुद्धि पलायो । उसले स्वर्गको टिकट अग्रिम बुकिङ गर्न शुरु गऱ्यो, धेरै सम्पत्ति कमायो । एक दिन एउटाले आएर उसको सबै सम्पत्ति लुट्यो । पीडाले रन्थनाएको त्यो महात्माले लुटेरालाई भन्यो, ‘तेरो यो पापको निमित्त प्रभुले तँलाई चिरकालसम्म रौरव नर्कमा हाल्नेछन् ।’ लुटेराले हाँस्दै भन्यो, ‘सम्भव नै छैन स्वामीजी, मैले पहिले नै तपाईंबाट स्वर्गको टिकट किनिसकेको छु ।’ उसले माहात्माबाट किनेको टिकट पनि देखायो ।

अब यो प्रसङ्गमा कुन पुण्य थियो के पाप थियो त्यो विवेचन गर्ने धेरै भ्रमित हुन सक्छन् । प्रश्न उठ्छ, के त्यो महात्मा स्वर्गको टिकट बेच्ने अधिकारसम्पन्न थियो ? के सम्पत्तिले धर्म किनेपछि सबै पाप पखालिन्छ वा भविष्यमा थप पाप गर्ने अधिकार पाइन्छ ? सबैभन्दा ठूलो प्रश्न त यो छ कि के दुवै पक्षले भगवान्को आदर गरे त ? भगवान् सर्वज्ञ हुन् भने यसरी भगवान्लाई धोका दिन सकिन्छ त ?

आस्तिक पक्ष, नैतिकता, अनैतिकता आदि पक्षभन्दा पनि यस्ता कुराले समाजका अरू धेरै पक्षमा मन्द विष घोेलिरहेका हुन्छन् जसमा तुरुन्त ध्यान जाँदैन । कतिपय धार्मिक प्रतिष्ठानका हर्ताकर्ता भएकाहरू र तिनका समर्थकहरूले भन्ने गरेको कुरा सुन्ने हो भने यसरी जम्मा गरेको धन समाजको भलोमा लगाइन्छ । यदि धन नहुने हो भने कसरी सामाजिक काम गर्न सकिन्छ ? यी तर्क पाच्य भने होइनन्, किनभने के यस्ता संस्थाहरूले साँच्चै समाजसेवा गरेका छन् त भन्ने प्रश्न नउठाए पनि मान्छेको सामाजिक दायित्व बहन गर्ने प्रवृत्तिमा ह्रास ल्याएका छन् । नेपालमा कतिपय समाजसेवी संस्थाहरू छन् जो धर्मको नाममा नभई आफ्नो कामको निमित्त नै भनेरभन्दा पनि पैसा पाइरहेका छन् र काम पनि सम्पन्न गर्दै छन् । बरु धर्मको नाममा पुराण लगाएर गरिने भनेका कति प्रतिशत काम पूरा भएका छन् त्यसको लेखाजोखा पाइन्न ।

बिस्तारै धर्मको प्रलोभनमा दान गराउने प्रवृत्ति बढ्दै गयो भने सहृदयी हातहरू सामाजिक काममा पछि हट्दै जानेछन् । धनको तुजुक देखाएर तिमीहरूभन्दा म महत्वपूर्ण हुँ भन्नेहरूको बोलवाला हुँदै जानेछ । अनि कालान्तरमा रेस्टुरेन्टमा मिनु बोर्डजस्तै मन्दिरमा तथा धार्मिक जात्राहरूमा पनि मूल्यसूची टाँगिएको देख्न पाइनेछ । सम्भवतः आलेखको यस्तो प्रवृत्ति ठीक होइन भनेर लेखिएको यही भागले धर्म व्यापारीहरूलाई यसो गर्दा पनि कमाउन सकिन्छ भन्ने प्रेरणा मिल्ला, तर यस्तो प्रेरणा लिइयो भने तीर्थस्थलमा धार्मिक जात्राहरूमा आस्थाले दान पनि दिने र स्वयम्सेवक भएर काम गर्नेहरूले पनि आफ्नो श्रमको मूल्य माग्नुपर्छ भन्ने सोच राख्न सक्छन् । र, यो उचित पनि हुन्छ किनभने कुनै काम नाफाघाटालाई ध्यानमा राखेर गरिन्छ भने त्यो सेवा होइन व्यापार हो । नाफाघाटा वा धन सङ्कलनको सोच पलाउनेबित्तिकै त्यो धार्मिक संस्था हुनै सक्दैन, त्यो त व्यापारिक संस्था हो । यसको अर्थोपार्जनमा सहायक भएबापत किन कसैले मजदुरी नखोज्ने जसरी श्री पशुपतिनाथका भट्टहरूले खोजे ।

प्रतिक्रिया