नक्कली सवारी चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–९ बस्ने रुबी मिश्र रहेकी छन् ।
गत माघ २९ गते महोत्तरीको गौशाला नगरपालिका–१२ बस्ने कृष्णदेव कुशवाहा सवार गाडीको कागजात चेकजाँचका क्रममा प्रहरीले उनको नक्कली सवारी चालक अनुमतिपत्र फेला पारेको थियो । सवारीचालक अनुमतिपत्र नक्कली पाएपछि ट्राफिक प्रहरीले आवश्यक कारवाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा पठायो ।
सोधपुछका क्रममा कुशवाहाले जनकपुरधाम उपमहानगरपालिका–९ का चन्दन मिश्रले पाँच हजारमा सो अनुमतिपत्र बनाइदिएको बताएपछि प्रहरीले छानविन अघि बढायो । सो क्रममा चन्दनले आफ्नी आमा रुबी मिश्रले अह्राएअनुसार काम गरेको खुलासा गरे । यसपछि प्रहरीले रुवीलाई पक्राउ गरेको थिये ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीका अनुसार सो कार्यमा उनको संलग्नता देखिएपछि जिल्ला अदालत धनुषाबाट थप अनुसन्धानका लागि प्रहरीले चार दिनको म्याद लिएको छ ।
रुबीले ६० हजारसम्म नगद लिएर सरकारी छापसमेत किर्ते गरी नक्कली सवारी अनुमतिपत्र बनाउने गरेको चार वटा उजुरी परेको प्रहरीको भनाई छ । उनले आाफ्नै छोरा चन्दनमार्फत सवारी अनुमतिपत्र चाहिने व्यक्ति खोजेर कारोबार गर्दै आएकी थिइन् ।
प्रतिक्रिया