केपी, प्रचण्ड र शेरबहादुर

जिन्दगीका अनुभवहरु

■ प्राडा दुर्गा दाहाल



नेपालको राजनीतिमा उपर्युक्त तीन पात्रहरूले दाइँ गरिरहेका छन् । पालैपालोसँग सत्ता, शक्ति र साधनको दुरुपयोग गरेर नेपाली जनतालाई ढाँटिरहेका छन्, सपना बाँडिरहेका छन् ।

पछिल्लो चरणमा शेरबहादुर देउवाको अप्रजातान्त्रिक राग–रवैयाले काङ्ग्रेस आक्रान्त भएको छ भने प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डको अकर्मण्यताले जनता निराशाको बादलमा घेरिएका छन् ।

नेपालको नियम–कानुन र संविधान एकातिर छ भने यी नेताहरूको ध्यान केवल धनदौलत उपार्जनमा केन्द्रित छ । यद्यपि केपी ओली र प्रचण्डको धनदौलतको उत्तराधिकारी कोही देखिँदैन भने शेरबहादुर देउवाको उत्तराधिकारीलाई पनि यति धेरै धनदौलतको आवश्यकता छैन । तैपनि यी नेताहरूलाई पद, पावर, प्रतिष्ठा र पैसाले कहिल्यै पुगेन ।

नेपालका प्रजातान्त्रिक आन्दोलनहरूमा शेरबहादुर देउवा र केपीको उल्लेख्य योगदान देखिन्छ, तर प्रचण्डको कुनै योगदान देखिन्न । प्रचण्डले त तथाकथित जनयुद्धको नाममा करिब १७ हजारभन्दा बढी व्यक्तिको हत्या गरेर सत्तामा आएको कलङ्कित इतिहास छ ।

शेरबहादुर देउवा र केपी ओलीको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा योगदान देखिए तापनि त्यसको दुहाई दिएर अहिले सत्ता, शक्ति र सरकारी स्रोत र साधनहरूको दुरुपयोग गर्न मिल्दैन ।

तल्लो तहमा जनताको सामु यिनीहरूले राजनीतिक सिद्धान्तको आधारमा अलग धार देखाए तापनि माथिल्लो तहमा यिनीहरूले आपसमा बाँडीचुँडी र मिलीजुली खाएको कुरा घामजस्तै छर्लङ्ग भएको छ । व्याख्या जरुरी छैन, जनताले बुझिसकेका छन् । काण्डैकाण्डको आधुनिक नेपालको इतिहासमा यिनीहरू घृणित भइसकेका छन् ।

आफ्नै पार्टीभित्र अप्रजातान्त्रिक र अप्रिय यी नेताहरूले कसरी जनताको पक्षमा प्रजातान्त्रिक निर्णय गर्न सक्छन् ? गुटबन्दी, हत्या, आतङ्क र चरम भ्रष्टाचारमा संलग्न उपर्युक्त नेताहरूबाट केही आशा र अपेक्षा गर्नु बेकार छ ।

जनताको माझमा अप्रिय केही ठुटे नेता र कार्यकर्ता बोकेर पार्टीको राजनीति मात्रै गरेर समग्र राष्ट्रको बृहत्तर स्वार्थलाई तिलाञ्जली दिने यस्ता नेताहरूबाट नेपालको परिवर्तन, प्रगति–उन्नति र विकास असम्भव छ ।

राष्ट्रियता, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, समाजवाद, साम्यवाद, जनताको बहुदलीय जनवाद, जनमुक्तिजस्ता सुन्दर शब्दहरूको खेती गरेर जनता झुक्याउने र ढाँट्नेबाहेक यिनीहरूले देश र जनताको पक्षमा काम गर्न सकेनन् र सक्तैनन् ।

हरेक व्यक्तिले आफ्नो मूल्याङ्कन गर्न सक्नुपर्छ । यी नेताहरू आफ्नो मूल्याङ्कन पनि गर्दैनन् र बलपूर्वक सत्ता, शक्ति र शौकतमा टाँसिरहन चाहन्छन् । जनताको नजरमा आफ्नो छवि कस्तो छ नबुझीकन बेसरम शासन चलाउँछन् ।

वास्तवमा यी पात्रहरूलाई देश र जनताको माया छैन । बरु कतिपय जनता र कार्यकर्तालाई चाहिँ यिनीहरूको माया छ किनभने थोरै भए पनि चाकडी, चुक्ली र चाप्लुसी गरेबापत धुपौरेहरूलाई पनि केही भाग लाग्छ ।

शेरबहादुर देउवाबाट नेपाली काङ्ग्रेस र देशवासीले नेतृत्वको अपेक्षा गर्नु व्यर्थ छ । सक्तैनन् देउवाले । काङ्ग्रेसको गरिमामय इतिहासलाई व्यक्तिगत अथवा गुटको निर्णय लादेर चुनावताका अपवित्र गठबन्धन गर्नु, कर्मनिष्ठ कार्यकर्ताहरूको मनोबल गिराउनु र अन्ततोगत्वा पार्टीलाई धराशायी बनाउनु उनको अप्रजातान्त्रिक राग र रवैया हो । सत्तामा भएका बेला स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गर्नु, प्रहरी–प्रशासनमाथि हाबी हुनु, भ्रष्टाचारका अनेक काण्डमा संलग्न हुनु उनका अनैतिक र निन्दाजनक कार्यहरू हुन् । नेपाली काङ्ग्रेसको आदर्श र सिद्धान्त राम्रो हुँदाहुँदै पनि शेरबहादुर देउवाका अप्रजातान्त्रिक क्रियाकलापले काङ्ग्रेस बदनाम हुन पुगेको छ । भूतकालमा त्याग, तपस्या र समर्पण थियो भनेर वर्तमानमा जथाभावी गर्नुहुन्न । नेपाली काङ्ग्रेसले अविलम्ब विकल्प खोज्नुपर्छ ।

यद्यपि केपी ओली एकजना सपना बाँड्ने, तिखा, खरा र मेधावी नेता हुन्, तर उनको सपना विपनामा परिणत हुन अत्यन्त कठिन छ । किनभने कर्मचारीतन्त्रले उनलाई सहयोग गरिरहेको छैन र गर्दैन । किनभने राज्यसंयन्त्र अत्यन्त कमजोर छ । कर्मचारीको मूल्याङ्कन र अनुगमन छैन । कर्मचारीहरूमा जिम्मेवारीपन र पारदर्शिता छैन । पुरस्कार र दण्डको व्यवस्था छैन । केही मुष्टिमेय झोले नेता र कार्यकर्ताको भरमा नेता भइराख्नेबाहेक जनता र राष्ट्रको हितमा कुनै दूरगामी र उपलब्धिमूलक कार्य हुन्छ भन्ने लाग्दैन ।

प्रचण्डको के कुरा गर्नु खोइ ? निर्दोष जनता मारेर हत्या र हिंसाको खेती गरेर आउने एकजना दुर्जन, हिंस्रक र अप्रजातान्त्रिक मान्छेबाट कसरी देश र जनताको हित हुन्छ भनेर विश्वास गर्नु ?

प्रचण्डको बारेमा चर्चा गरेर म आफ्नो मूल्यवान समय र शक्ति खर्चिन चाहन्न ।

सारांशमा भन्नुपर्दा उपर्युक्त त्रिमूर्तिमध्ये म कसैलाई पनि ‘नेता’ भनेर सम्बोधन गर्न चाहन्न । यिनीहरू स्वदेशको भन्दा पनि विदेशको हकहितमा काम गर्ने पात्रहरू हुन् । यिनीहरू देशभक्त नेपालीको कुराहरू नसुनेर विदेशी प्रभुहरूको इशारा र स्वार्थमा काम गरी आफ्नो दुनो सोझ्याउने अलोकप्रिय पात्रहरू हुन् ।

केपी, प्रचण्ड र शेरबहादुर देउवा नेपाली राजनीतिक वृत्तका धब्बा हुन् । यिनीहरू केवल भाषण गर्न, कार्यक्रमहरूको उद्घाटन गर्न, उखान–तुक्का भन्न, एक–अर्कालाई आरोप–प्रत्यारोप गर्न, विदेश भ्रमण गर्न, रङ्गी–बिरङ्गी खादाहरू लगाउन, विभिन्न किसिमका फूलहरूका अत्यधिक भारी मालाहरू लगाउन खप्पिस नेताहरू हुन् । यिनीहरूलाई अद्यपरिमित नेता मानेर यिनीहरूकै पछि लाग्नु, यिनीहरूलाई नै मतदान गर्नु नेपाली जनता र बुद्धिजीवीहरूको अत्यन्त ठूलो कमजोरी र गल्ती हो ।

(प्राडा दाहाल राजनीतिक विश्लेषक एवम् मानवअधिकारवादी/समाजसुधारक हुन् ।)

प्रतिक्रिया