अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको तयारी पूरा

अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको तयारी पूरा


■ मनिता चाम्लिङ, धरान

यही फागुन १० गतेदेखि १७ गतेसम्म धरान रंगशालामा हुने २२औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबले जनाएको छ ।

धरान–१६ स्थित रंगशालामा पत्रकार सम्मेलन आयोजना गर्दै धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए । उनले रंगशाला सिंगार्ने कामबाहेक सम्पूर्ण तयारी पूरा भएको बताए । करिव ७ हजार दर्शक क्षमताको प्याराफिट पनि तयारी अवस्थामा छ भने अहिले खेल मैदानमा देखिएको हरियो झारले खेल मैदान एकदमै राम्रो भएको छ ।

धरान उप–महानगरपालिकाका मेयर तिलक राईको प्रमुख आतिथ्यतामा हुने उद्घाटन समारोहमा आतिसबाजीका साथै प्याराग्लाइडिङबाट पुष्पवृष्टि हुने छन् भने गायक मनोज मोते र रोहित मास्केले सांगीतिक प्रस्तुति दिनेछन् । साथै हिमशिखर बोर्डिङ तरहराका विद्यार्थीहरूद्वारा आकर्षक नृत्य प्रस्तुत गरिने आयोजकले बताइएको छ ।

गोल्डकपमा २ विदेशीसहित ८ टिमले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगितामा लिग बिजेता मच्छिन्द्र क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, प्रदेश १ लिग बिजेता बेलबारी फुटबल क्लब, मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टर र आयोजक धरान फुटबल क्लब सहभागी हुनेछ । यस्तै, विदेशी टिममा युके एफसी भारत र दुर्गापुर वेष्ट बंगाल सहभागी हुने आयोजक क्लबले जानकारी दिएको छ ।

यसअघि जापानको लिग टिम पनि सहभागी हुने भए पनि कोरोना भाइरसको कारण जापानको टिम आउन नसक्ने आयोजकले जनाएको छ । यसपाली गोल्डकपको समयमा काठमाण्डौमा बि डिभिजन लिग शुरु हुने भएकाले आयोजक धरान फुटबल क्लबले स्थानिय खेलाडीहरुलाई टिममा समावेश गर्न सकेको छैन । जसले गर्दा यसपाली आयोजक टिममा २ जना अफ्रिकन, एक जना इजिप्ट र एक भारत नागाल्याण्डको खेलाडीलाई समावेश गर्ने क्लबका अध्यक्ष राईले बताए ।

प्रतियोगिता अवधिभर विराट गोर्खा सेक्युरिटी कम्पनी तथा आयोजक धरान फुटबल क्लबको विशेष सुरक्षा टोली परिचालन गरिने भएको छ । प्रतियोगितामा ६५ वर्षमाथिका वृद्धा र ७० वर्षमाथिका वृद्धलाई नागरिकताअनुसार निःशुल्क प्रवेशको व्यवस्था मिलाएको क्लबले जनाएको छ । प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले ५ लाख नगद पुरस्कार पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले होण्डाको डियो स्कुटर र प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १५ हजार पुरस्कार जित्नेछन् ।

त्यस्तै उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । गत वर्ष भएको २१औं संस्करणको उपाधि क्यामरुनको दाउपफिन्स फुटबल क्लबले जितेको थियो भने आयोजक क्लब उपबिजेता बनेको थियो ।