कम्युनिस्टहरूले आफैँलाई सिध्याउने खतरा नेपालमा पनि देखियो : प्रचण्ड

कम्युनिस्टहरूले आफैँलाई सिध्याउने खतरा नेपालमा पनि देखियो : प्रचण्ड


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तामा पुगेपछि कम्युनिस्टहरूले आफैँलाई सिध्याउने विश्वको इतिहास नेपालमा पनि दोहोरिने खतराका संकेतहरू देखिएको टिप्पणी गरेका छन् ।

शुक्रबार भक्तपुरमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नारायणविलास जोशी स्मृति प्रतिष्ठानले आयोजना गरेको भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले नेपालको परिवेशमा अहिले नै यसबारे भन्न हतार भए पनि संकेत राम्रो नदेखिएको बताएका हुन् ।

सत्ताबाहर रहँदा जनताको मन जित्ने कम्युनिस्टहरू शासनमा पुगेपछि आदर्शबाट विचलित हुने गरेका विश्व–इतिहास रहेको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै प्रचण्डले सत्तामा नहुँदा, क्रान्तिमा हुँदा त्याग गर्न सक्ने, तपस्या गर्न सक्ने, जनता जहाँ बस्छन् त्यहीँ बस्ने सक्ने, जनता जे खान्छन् त्यही खान सक्ने, तर सत्ता प्राप्त गरेपछि कम्युनिस्टहरू त्यो आदर्शबाट विचिलत हुने गरेका बताए । तर, नेपालमा त्यो अवस्था आइनसके पनि संकेत त्यस्तै देखिएको प्रचण्डको भनाइ छ ।