पार्टीले निरन्तरतालाई मूल्याङ्कन गऱ्यो : राजेन्द्र घिमिरे

पार्टीले निरन्तरतालाई मूल्याङ्कन गऱ्यो : राजेन्द्र घिमिरे


विद्यार्थी अवस्थादेखि नै विद्यार्थी सङ्घको राजनीतिबाट राजनीति शुरु गरेका राजेन्द्र घिमिरेले यसपटक एक नम्बर प्रदेशबाट राष्ट्रिय सभाको टिकट पाए । राष्ट्रिय सभाको निर्वाचन विधि एवम् मतदाताको संरचनाका आधारमा काङ्ग्रेस उम्मेदवारले विजय हासिल गर्न नसकिने पहिले नै निश्चितजस्तै थियो, र परिणाम आयो पनि त्यस्तै । तथापि, कृष्ण सिटौलाको इतर खेमामा रहेका राजेन्द्रले सिटौलाकै क्षेत्रमा टिकट पाउनु काङ्ग्रेस–वृत्तमा उदेकलाग्दो विषय नै बन्न पुग्यो । मान्छेहरू त भन्छन् कि राष्ट्रिय सभामा जानका लागि उनको हाइट पुगेको थिएन । उनीसँग आठ वर्ष लामो जागिरे जीवन र दुई कार्यकालको झापा उद्योग वाणिज्य सङ्घको अनुभव नभएकोचाहिँ होइन । उनै घिमिरेसँग राष्ट्रिय सभा सदस्यको टिकट पाउनुको अनुभूति कस्तो रहयो ? राजबाबु शङ्करले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ :

० कामको आधारमा काङ्ग्रेस पार्टीमा सांसदको टिकट पाउन निकै कठिन छ भन्छन्, तपाईंले राष्ट्रिय सभाको टिकट पाउनुभयो नि, कसरी ?
– म माग्न गएको त होइन । पार्टीसँग मेरो कामको अभिलेख रहेछ । निरन्तरतालाई मूल्याङ्कन गरिँदो रहेछ । कुरा यही हो, अब कसरी टिकट पाएँ भन्नु !

० झापाको काङ्ग्रेस–राजनीतिमा तपाईं सिटौलाविरोधी । सिटौलाकै क्षेत्रबाट टिकट पाउँदा कस्तो लाग्यो ?
– सर्वप्रथम त म सिटौलाविरोधी होइन, अनुशासनलाई मान्ने कार्यकर्ता हुँ । निष्ठालाई मान्ने सामान्य कार्यकर्ता हुँ । बाहिरबाट हेर्ने र मनोगत विश्लेषण गर्नेहरूले त कसैको विरोधी या समर्थक भन्ने नै भए । यसमा थप टिप्पणी गर्न चाहन्न ।

० सङ्गठनमा अब तपाईंको योजनाचाहिँ के छ नि ?
– सङ्गठनभित्र कमसेकम एक–आपसमा वैचारिक छलफल, सम्पर्क, क्षमताअनुसारको जिम्मेवारी, लोकतान्त्रिक पद्धतिअनुसार मूल्याङ्कन, सामाजिक जवाफदेहिता, सङ्गठनको तल्लो इकाइदेखि माथ्लो तहसम्मले आत्मसात् गरी विभेदको अन्त्य गरिनुपर्छ । यस्तै लक्ष्य प्राप्तिका लागि नीति–योजना बनाइनुपर्छ भन्ने मेरो धारणा छ ।

० तपाईंलाई सभापति देउवाको मान्छे भन्छन्, हो ?
– होइन, म कुनै पनि पक्षको मान्छे होइन । म काङ्ग्रेसी हुँ र मैले देख्ता झापाका सीके प्रसाईं ‘नेता’ हो ।

० के अब तपाईं झापा जिल्ला पार्टी सभापतिको उम्मेदवार हो ?
– अहिले यसभन्दा अघिल्लो अधिवेशनमा मैले राखेका केही कुरा स्मरण हुन आउँछ । पार्टीका साथीहरूले जुन तहमा जिम्मेवारी दिए मलाई स्वीकार्य छ । यो पनि जवाफदेहीपूर्वक ।

० सङ्गठनलाई पुनर्सङ्गठित गर्नुपर्छ भन्ने लाग्दैन ?
– अवश्य लाग्छ । हिजो एउटा कालखण्डमा पञ्चायतविरुद्ध आहुति दिने सपुतहरूलाई नमन गर्दछु । त्यसपछिका अग्रजहरूका विचार र सुझावहरूलाई सम्मान गर्न चाहन्छु । अग्रजहरूका विचार र सुझावलाई राख्न सक्ने, सम्मान दिन सक्ने स्थितिको सिर्जना गर्नुपर्छ । तरुण काङ्ग्रेसलाई वैचारिक रूपले समेत क्षमतावान् बनाउँदै सामाजिक गतिविधि, संस्कारसहितको समाज निर्माणको बाटोमा अगाडि बढाउँदै साङ्गठनिक नेतृत्वको जिम्मेवारी दिनुपर्छ । नयाँ युवापुस्तामा समाजवादको अवधारणाका साथ क्रियाकलाप गतिशील राख्नुपर्छ । भ्रातृ सङ्गठनहरूलाई सम्बन्धित क्षेत्रको सशक्तीकरणका लागि क्रियाशील तुल्याउन मातृ सङ्गठनमा समन्वय गर्नुपर्छ ।

० सरकारको समृद्धिको नारालाई कसरी हेर्नुभएको छ ?
– वकवास कुरा ! लाखौँ नेपाली विदेश पलायन भएका छन् । मेरो विचारमा अहिले मुलुकले खोक्रो समृद्धिको नारा होइन । स्वरोजगार नेपालीको भावना खोजेको छ ।