‘सपना मात्र नबाडौँ’

‘सपना मात्र नबाडौँ’


पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र शाहले नेपालको प्रजातन्त्र जनजीवनको उत्थानमा, उमङ्गमा र उत्साहमा सार्थक हुन नसकेको बताउनुभएको छ । ७०औँ राष्ट्रिय प्रजातन्त्र दिवस (फागुन ७ गते) का अवसरमा एक वक्तव्य जारी गर्दै पूर्व श्री ५ ले उक्त धारणा प्रकट गर्नुभएको हो ।

वक्तव्यमा उहाँले प्रजातन्त्र केही टाठाबाठाका लागि मात्र नभएको बताउँदै भन्नुभएको छ, ‘प्रजातन्त्र सबै जनता तथा सिङ्गो देशका निम्ति प्रतिफलकारी हुनुपर्दछ ।’ उहाँले अगाडि भन्नुभएको छ, ‘हाम्रो इतिहास नभुलौँ, वर्तमानलाई नबिर्सौँ, र भविष्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाली सर्वहितकारी ‘प्रजातान्त्रिक धर्म’को निर्वाह गरौँ ।’

वक्तव्यमा आफ्ना जिजुबुबाको स्मरण गर्दै पूर्व श्री ५ ले भन्नुभएको छ, ‘हामी हाम्रो जिजुबुबा प्रजातन्त्रदाता राष्ट्रपिता श्री ५ त्रिभुवनसहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सबैको स्मरण गर्न चाहन्छौँ ।’