महानगरीय प्रहरी परिसर ललितपुरमा दर्ता भएको सामूहिक करणीसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रहरी सहायक निरीक्षक उमेश केसीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । करणी मुद्दाका प्रतिवादीको पुर्पक्षका लागि कारागारमा रहेको अवस्थामा बकपत्रको समयमा पीडितलाई समेत बयान मिलाइदिने भनी घुस मागेको पाइएको आयोगले जनाएको छ । आयोगले केसीविरुद्ध ६० लाखको बिगो कायम गरी आइतबार (४ फागुन) मुद्दा दायर गरेको हो ।
यस्तै, आयोगले चम्पादेवी प्राथमिक विद्यालय ओखलढुङ्गामा कार्यरत तत्कालीन शिक्षक खेटराज बरालले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवा गरेको र सरकारी सुविधा लिएको आरोपमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकृत शालिकराम खनालको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा विशेष अदालतमा आइतबार नै मुद्दा दायर गरिएको छ । अधिकृत खनालले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी लाभ लिएको पाइएकाले मुद्दा दायर गरिएको हो ।
यसैगरी अख्तियारले साझा प्रकाशनमा कार्यरत सहायक चतुर्थ तहका कुवेरप्रसाद उपाध्यायविरुद्ध समेत विशेष अदालतमा मुद्दा दायर गरेको छ । उपाध्यायले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरेको र पदोन्नतिसमेत भएको पाइएको आरोप लगाइएको छ ।
प्रतिक्रिया