बलात्कार मुद्दामा महरालाई मिल्यो सफाई, आजै जेलमुक्त हुने

बलात्कार मुद्दामा महरालाई मिल्यो सफाई, आजै जेलमुक्त हुने


बलात्कार प्रयासको अभियोग लागेर पूर्पक्षको लागि कारगारमा पठाइएका पूर्वसभामुख कृष्णबहादुर महरालाई अदालतले सफाई दिएको छ । साढे तीन महिनाको जेल बसाईपछि काठमाडौं जिल्ला अदालतले महरालाई थुनामुक्त गर्ने निर्णय गरेको हो । जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासमा आइतबार सुनुवाइ शुरु भए पनि समयाभावका कारण हेर्दाहेर्दै आज सोमबार (५ फागुन)का लागि राखिएको थियो ।

जबर्जस्ती करणी उद्योगको अभियोग लागेका महरालाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको गत कात्तिक १८ गतेको इजलाशले पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो । त्यसलगत्तै उनलाई डिल्लीबजार कारागार पठाइएको थियो । महराविरुद्ध बलात्कार प्रयासमा पाँच वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे दुई वर्ष गरी साढे सात वर्षसम्मको कैद सजाय माग गरिएको थियो ।

फौजदारी मुद्दाको पुर्पक्षका लागि थुनामा चलान भएसँगै महरा प्रतिनिसभा सदस्य (सांसद) पदबाट स्वतः निलम्बनमा परेका थिए । सभामुख पदबाटचाहिँ उनले त्यसअघि नै राजीनामा दिएका थिए ।

गत असोज १२ गते संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महरामाथि बलात्कार प्रयासको आरोप लगाएकी थिइन् । त्यसको साता दिनपछि असोज १९ गते उनलाई सभामुखको सरकारी निवास बालुवाटारबाट प्रहरीले हिरासतमा लिएको थियो । तर, आरोप लगाउने महिलाले नै पछि महरा निर्दोष रहेकोले उनमाथिको अभियोग फिर्ता लिएको विवादास्पद अभिव्यक्ति सार्वजनिक गरेकी थिइन् । तथापि, मुद्दा प्रक्रियाबाट महराले मुक्ति पाएनन् र प्रहरी हिरासतमा पुगेको एक महिनामा उनी कारागार चलान गरिएका थिए ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले महराविरुद्ध जबर्जस्ती करणी उद्योग र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा साढे ७ वर्ष कैद सजाय मागदाबी गरेको थियो । काठमाडौं जिल्ला अदालतको आजको आदेशानुसार अब उनको मुद्दा प्रक्रिया टुङ्गिएको छ ।