गोर्खा भूमि : एउटा दुखान्त कथा

गोर्खा भूमि : एउटा दुखान्त कथा


■ राजेश ढुङ्गाना

किन
तिम्रा स्मरणहरू
यति छिटै धमिलिएका

तिमीलाई
मेरो आवाजमा पनि
किन विश्वास नभएको ?
स्मरण र दृष्टिहरू हराएर पनि
छोरालाई आमाले चिन्दछे
आवाज ननिकालीकनै पनि
मात्रै समसुम्याउँदै
आमाले
छोराछोरी पहिल्याउँछे
तर
किन, मेरी आमा तिमीले
कैयौँ वर्ष यता
अथवा
जन्म पाएकै दिनदेखि
आजसम्म मलाई चिन्न सकिनौ ?

तिम्रा
च्यातिएका
योनिका हरेक चिरा–चिरामा
हेर्न सक्छ्यौ तिमी
तिम्रो छोरोको प्रतिबिम्ब !
तिम्रो छोरोको अनुहार !!

तर
ठिक्क त्यसैबेला
तिमी
टिष्टा बनेर
उसलाई बगाउने गऱ्यौ
तिमी सतलज बनेर
उसलाई हुत्याउने गऱ्यौ
र,
यस्तो बेला पनि
उसले तिमीलार्ई स्वयम्, ऊ आफूभन्दा पनि
धेरै माया गऱ्यो
र ऊ पानीमै बग्दा पनि
त्यसले छट्पटाई नै रह्यो
सत्ते आमा
तिम्रो छोरो
जन्मिएदेखि आजसम्म
सधैँ–सधैँ
आँसुले नै नुहाइरह्यो ।

किन आमा
जन्मनेबित्तिकै– म
तिमी
यसरी दुई चिरामा बाँडियौँ ! 

(विगत चालीस वर्षदेखि कविता लेखिरहनुभएका सशक्त कवि राजेश ढुङ्गानाको त्यति नै लामो राजनीतिक र पत्रकारिता जीवन रहेको छ । ०३६ सालतिर मेची क्याम्पसको छात्रनेता हुँदा उहाँको भाषण सुन्न विद्यार्थी लालायित हुन्थे । ०३६ सालदेखि नै लेखन र पत्रकारितामा संलग्न उहाँ कुनै बेलाका प्रसिद्ध पत्रिकाहरू सुरुचि, देशान्तर, विमर्श, स्पेस टाइममा आबद्ध हुनुहुन्थ्यो भने अफसेटबाट निस्केको पहिलो पत्रिका साप्ताहिक जनमञ्चको चाहिँ उहाँ सम्पादक नै हुनुहुन्थ्यो । ‘राजनीतिमा पत्रकारिता मुछिन्न, साहित्यमा राजनीति र पत्रकारिता मुछिन्न’ भन्ने मान्यताप्रतिको अडान उहाँको एक विशेषता हो । – सं.)