पूजा र भर्नाका नाममा निजी स्कुलको लुट !

पूजा र भर्नाका नाममा निजी स्कुलको लुट !


■ राजबाबु शङ्कर

सबैलाई थाहा छ– निजी स्कुल÷कलेजहरूले विभिन्न शीर्षकमा विद्यार्थीबाट कुस्त रकम असुल्ने गरिरहेका छन् । औँसी–पूर्णेमा जस्तो सरकार र विविध नामधारी विद्यार्थी सङ्गठनहरूले ती ‘इंग्लिस बोर्डिङ’को ट्याग भिरेका र कतिपय नभिरेका पनि निजी स्कुलहरूले लिइरहेका शुल्क घटाउन निर्देश गर्छन्, भनेको नमाने कारबाही वा ताला लाउने चेतावनी पनि दिने गर्छन् । तर, ‘अरूले भनेको को मान्छ, आफ्नो बानी को छोड्छ ?’ भन्दै एकादेशमा एउटी बुहारीले दाल–तरकारी पकाउँदा चलाएको डाडु–पन्यु चाटेको कथाझैँ व्यहोरा स्कुलहरूको रहँदै आएको छ । न उनीहरूले शुल्क घटाएका छन्, न फेरि पनि विभिन्न नाममा शुल्क थप्न छोेडेका छन् ! कतिपय इंग्लिस बोर्डिङ स्कुलहरूले त इलेक्ट्रिसिटी भनेर विद्युत्को महसुलसमेत विद्यार्थीबाटै असुल्ने गरिरहेका छन् ! उनीहरूको शैक्षिक व्यापार अकन्टक र सदाबहार छ । कुनै ठाँगेले तिनलाई लुट्नबाट रोक्न सकेको पाइन्न !

तिनै स्कुलहरूले केही वर्षयता धर्मको निहुँमा पनि लुट मच्चाइरहन छुट पाइरहेका छन् । सरस्वती पूजाका दिन नर्सरीदेखिकै प्रत्येक विद्यार्थीलाई ५० देखि १०० रुपैयाँसम्म ल्याउन उर्दी गर्ने ती स्कुलले विद्याकी अधिष्ठात्री मानिने देवीलाई चढाउन फलहरू ल्याउनसमेत अनिवार्य गर्ने गरेका छन् । एकातिर, मासिक मनलाग्दी शुल्क असुल्ने अनि अर्कातिर वर्षको एक दिन गरिने सरस्वती पूजाका दिन पनि प्रत्येक विद्यार्थीबाट पूजा–शुल्क असुल्ने निजी स्कुलहरूले धर्मका नाममा पनि यो लुट मच्चाएको नभई के हो ?

यस्तो पण्डागिरीबाट असुल हुन आउने हजारौँ रकमबाट स्वतः पूजा खर्च धानेर अधिकाधिक अंश उभ्रिन्छ । किन पनि भने तिनले पूजा कामचलाउ पाराको गर्छन् । विद्यार्थीलाई प्रसादस्वरूप यसो १०–१२ दाना बुनिया, केही चाना फलका टुक्रा र बतासा दिएर झारा टार्ने गर्छन् । कतिले त त्यो पनि नदिँदा हुन् । त्यसमाथि विद्यार्थीले पूजा गर्न ल्याउने अगरबत्ती, अबिर र भेटी रकमको हिसाब अलग्गै छँदै छ । कतिपय स्कुलले त शिक्षकहरूबाट समेत जनही ३०० रुपैयाँसम्म असुलेका छन् । के सरस्वती पूजाको खर्च स्कुल आफैँले व्यहोर्नुपर्ने होइन ? ‘लुट कान्छा लुट, नेपालमै हो छुट…’ यो गीत हुबहु निजी स्कुलहरूले समेत सरेआम चरितार्थ गरिरहेकै छन् !

कतिपय बोर्डिङ स्कुलले त विद्यार्थीबाट पूजाका नाममा त्यसरी हत्याएको रकमबाट किनेको बुनिया र भुजिया कैयौँ दिनसम्म ‘बोडर्स’ विद्यार्थीलाई खाजाका रूपमा दिने गरेको सिकायतसमेत अभिभावकले गर्ने गरेका छन् । आवासीय कतिपय स्कुलले त्यसरी बोडर्स गरिएका विद्यार्थीलाई बुनियाको स्टक छउञ्जेल एकोहोरो बिहान–दिउँसै बुनिया खान बाध्य पारेका उदाहरण सदरमुकाम छेउछाउका एकाध स्कुलहरूकै हो । अन्यले पनि शायद त्यसो नगरेको हुन सक्दैन ।

धेरजसो निजी स्कुलले यही छेक अर्थात् नयाँ शैक्षिक सत्र शुरु हुनु अगावै एफएमहरूबाट ‘सरस्वती पूजाको दिन निःशुल्क भर्ना’को जाल पनि फ्याँक्ने गरेका छन् । विज्ञापन त तिनले ‘निःशुल्क भर्ना गरिदिने’ नै गरिरहेका हुन्छन्, तर अर्को वर्ष ‘एडमिसन फी’ असुल्न छोडेका हुँदैनन् ! अभिभावकहरूलाई बेवकुफ बनाउने चतुर–विद्या त कसैले यी निजी स्कुलका सञ्चालकहरूसित सिकुन् । यसपालि पनि ती चतुर्विद्याधारी सञ्चालक–कम–प्रिन्सिपलहरूले यति बेलैबाट एफएमहरूमा विज्ञापन फुक्न लगाइसकेका छन्, सुन्नमा आइरहेकै छ ।

तिनै निजी स्कुलहरूमध्ये अधिकांशले स्थानीय सरकार भनिइने पालिकाहरूको ‘बालमैत्री अभियान’को समेत ठाडै अवमानना गरिरहेका छन् । तिनले, तिनकै भाषामा ‘क्लास वानदेखि थ्री’, अर्थात् प्राथमिक तहका स–साना बालबालिकालाई प्रोजेक्ट वर्कका नाममा माटोका पक्षी, जनावर आदिका प्रतिकृति बनाएर ल्याउन ‘होम वर्क’ दिने गरेका छन् । ती बचराले कहाँबाट ल्याउन् त्यस्तो मूर्ति बनाउने माटो अनि कापीमा चित्र कोर्न पनि ढङ्ग नपुऱ्याउने ती अवोध बालबालिकाले कसरी बनाउन् माटोबाट त्यस्तो आकृति ? स्वाभाविक हो, बनाउन सक्दैनन् अनि उनीहरूले आफ्ना अभिभावकसामु सो समस्या राख्छन् र भन्छन् पनि ‘यो बनाएर नलगे सर/मिस/मेडमले गाली गर्नुहुन्छ ।’ हुन सक्छ कतिपय स्वाँठ टिचरले त कुट्दा पनि हुन् । उनीहरू त्यसै पनि टिचरहरूबाट आतङ्कित हुने उमेरका हुन्छन् । कथित सर/मिस/मेडमले बालवयका विद्यार्थीलाई कुटेर घाइते बनाएका र मरणासन्न पारेका उदाहरण त कैयौँ छँदै छन् । बालमनोविज्ञानमा धावा बोल्ने यस्तो स्कुले–हर्कत कसरी ‘बालमैत्री’ हुन सक्छ ? र, निजी स्कुलहरूलाई ‘नैतिकता’को पाठ पढाएर अब यी तमाम बेथिति र विसङ्गतिको निप्टारा गर्ने, अहिलेको सन्दर्भमा जिम्मेवारीअनुरूप स्थानीय तहले नै होइन ?