बाजुरामा फैलिएको भाइरल ‘इन्फुल्जा ए भाइरस’ रहेको पुष्टि

बाजुराको हिमाली र स्वामिकात्तिक खापर गाउँपालिकामा देखिएको ज्वरोको संक्रमण इन्फुल्जा ‘ए’ भाइरस रहेको पुष्टि भएको छ । चारजनाको ल्याब नमुना परीक्षणपछि रुघाखोकी र ज्वरोको संक्रमण इन्फुल्जा ए भाइरस रहेको प्रमाण भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षणले ज्वरो र रुघाखोकीको संक्रमण इन्फुल्जा ए भाइरसकै कारण भएको देखिएको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए । संक्रमण हप्ता दिनसम्म हिमालीको बोल्डिक र स्वामिकात्तिकको जोरुपमा व्यापक रूपमा फैलिएको थियो । राससका अनुसार उक्त संक्रमणले करिब एक हजार दुई सयभन्दा बढी बिरामी परेका थिए भने स्वास्थ्यकर्मीले एक हप्तामा एक हजार एक सय ७० को उपचार गरेका थिए । संक्रमणकै कारण दुईको ज्यानसमेत गएको थियो ।

परीक्षण गरिएका चारमध्ये दुईजनालाई इन्फुल्जा ए भाइरस देखापरेको र एकलाई इन्फुल्जा बी भाइरस पुष्टि भएको वरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तको भनाइ छ । यो भाइरलले मानिसको शरीरमा एक्कासि आक्रमण गर्ने गरेको छ । यही भाइरसले सन् २००९ मा विश्वमा नै महामारीको रूप लिएको थियो ।



संक्रमणले महामारीको रूप लिएपछि गाउँपालिकाभित्रका गाउँ–गाउँमा पुगेर चिकित्सकसहितको टोलीले उपचार गरेको र हाल पूर्ण रूपमा नियन्त्रणमा आइसकेको हिमालीका स्वास्थ्य संयोजक राज भण्डारीले जानकारी दिए । ल्याब परीक्षण प्रतिवेदनपछि अर्कोपटक देखापरे उपचारमा सजिलो हुने र स्थानीयवासीलाई पनि समयमै सचेत गराउन सहयोग पुग्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया