स्थानीय सरकारका प्रतिनिधिहरूको ‘परिचयात्मक’ भारत भ्रमण

स्थानीय सरकारका प्रतिनिधिहरूको ‘परिचयात्मक’ भारत भ्रमण


नुवाकोट जिल्लाका स्थानीय सरकारका २१ जनप्रतिनिधिका लागि UNOPS (United Nations Office for Project Services) ले भारतको परिचयात्मक भ्रमण गराएको छ । गत माघ २७ देखि यही फागुन २ गतेसम्म भएको परिचयात्मक भ्रमणमा नुवाकोटका दुई नगरपालिकाका मेयर एवम् उपमेयर, आठ गाउँपालिकाका अध्यक्ष एवम् उपाध्यक्ष, नुवाकोट जिल्ला समन्वय समितिका प्रमुख तथा नेपाल पत्रकार महासंघका एक जना सहभागी भएका छन् ।

भूकम्पपश्चातको पुनर्निर्माणमा भारत सरकारको प्रयासस्वरुप भएको उक्त भ्रमणका क्रममा प्रतिनिधिहरूले रुड्कीस्थित केन्द्रिय भवन अनुसन्धान संस्थानमा रहेका Shake Table Testing Facility, Structural Engineering Lab, Fire Lab, Technology Demonstration Lab र Rural park
को अवलोकन गर्नेछन् । दिगो शहरी विकास तथा जीविका समायोजनका लागि सहभागितामूलक प्रक्रिया बुझ्न जनप्रतिनिधिहरुले CURE नामक संस्थाको पनि भ्रमण गर्नेछन् भने इंडियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज (INTACH) मा उनीहरूले भूकम्पपश्चातको संरक्षण तथा पुनःस्थापना कार्यबारे जानकारी लिनुका साथै (INTACH) हेरिटेज एकेडेमीको समेत भ्रमण गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

ज्ञातव्य छ, नुवाकोट जिल्लामा २३ हजार ८८ वटा घरको पुनर्निर्माण गर्न भारत सरकारले नेपाल सरकारसँग सहकार्य गरिरहेको छ । नेपाल सरकारले अघि सारेको स्वनिर्माणको अवधारणालाई मूर्त रुप दिन UNOPS ले भूकम्प उत्थानशील आवास निर्माणका लागि सम्बन्धित घरधनीहरूलाई सामाजिक–प्राविधिक सहजीकरण प्रदान गर्दै आएको छ ।

विपद् व्यवस्थापन, पुनःस्थापना तथा भूकम्प प्रतिरोधसम्बन्धी समुदायमा जनचेतना बढाउँदै भूकम्प उत्थानशील पूनर्निर्माण सुनिश्चित गर्नका लागि जनप्रतिनिधिहरूको भ्रमणले प्रमुख स्थानीय सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्न मार्ग प्रशस्त गर्ने दाबी गरिएको छ ।