अख्तियारमा तीन दर्जन उजुरी, परिषद् आउनै छोडे सदस्यसचिव सिलवाल

अख्तियारमा तीन दर्जन उजुरी, परिषद् आउनै छोडे सदस्यसचिव सिलवाल


■ श्रीविक्रम भण्डारी
१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा भएको आर्थिक अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तीन दर्जनभन्दा बढी उजुरी परेका छन् । अख्तियारमा उजुरीको चाङ लागेको चर्चा परिषद्मा चलेपछि पछिल्लो दुई सातादेखि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल कार्यालय आउन छोडेको स्रोतले जनाएको छ । प्राप्त जानकारीअनुसार अख्तियारविरुद्ध कसरी प्रस्तुत हुने भन्ने कुरालाई मध्यनजर गर्दै सिलवाल होमवर्क गरिरहेको बुझिए पनि आवरणमा चाहिँ जिल्ला भ्रमणमा रहेको अफवाह फैलाइएको छ ।

कामभन्दा कुरो बढी गर्ने सदस्यसचिव सिलवाल बोल्नुपर्ने र नबोल्नुपर्ने कुरा कति बोल्छन्, त्यसबाट खेलकुद पदाधिकारी र कर्मचारी आजित भइसकेका छन् । यस्तो अवस्थामा पछिल्लो समय शक्तिको आडमा अख्तियारविरुद्ध सार्वजनिक रूपमै समितिका सचिवहरूको बैठकमा दिएको अभिव्यक्ति नै काफी छ । उनले घुमाउरो पारामा अख्तियार केही पनि होइन भन्नुको अर्थ के हो ? यसको मतलब उनले अख्तियारसँग आफ्नो सेटिङ भइसकेको भन्न खोजेका त होइनन्– प्रश्न उठेको छ ।

अझ सिलवालले नेपालले १३औँ सागमा जितेको ५१ स्वर्ण पदक दुईतिहाइको सरकारका कारणले मात्रै जितेको हो भन्ने जस्ता अत्यन्त भ्रामक र गैरजिम्मेवारी अभिव्यक्ति दिँदै आएका छन् । साथै त्यसको स्वघोषित नायक आफू भएको दाबी गरेका छन् । यतिबेला सिलवालले आफ्नो बोलीमा संयमता अपनाउनुको साटो उल्टै छाडा रूपमा प्रस्तुत हुनु अहिले नेतृत्व वर्गको समेत टाउको दुःखाइको विषय बनेको छ ।

यसैले होला पछिल्लो समय उनकै पार्टीले अख्तियारको छानबिनको विषयमा आफूले केही गर्न नसक्ने बताएको थाहा भएको छ । आफूले केही गर्न नसक्ने, आफ्नो कर्मको फल भोग्न तयार हुनु भनेपछि सदस्यसचिव सिलवाल तिलमिलाएका थिए । त्यसपछि कार्यालय आउनै छोडेका सिलवाल राजीनामा दिने स्थितिमा पुगेको स्रोतले बताएको छ ।

विगतका नेतृत्वलाई ३५ दिनभित्र पेस्की फस्र्योट नगरेको भन्दै सिलवालले सार्वजनिक रूपमै टीका–टिप्पणी गरेका थिए । अहिले १३औँ साग सम्पन्न भएको दुई महिनाभन्दा पनि बढी समय बितिसक्दा पनि सिलवालले सिन्कोसमेत भाँच्न सकेका छैनन् । यस्तो अवस्थामा १३औँ सागको सम्पूर्ण हिसाबकिताब पारदर्शी रूपमा तीन महिनामा सार्वजनिक गर्ने डेटलाइन दिएका सिलवाल कत्तिको सफल होलान् त्यो हेर्न लायक भएको छ । कतै १३औँ सागको दिएको कात्तिक १५ गतेको डेटलाइनजस्तो भयो भने पनि यसमा अन्यथा मान्नुपर्ने छैन किनकि सदस्यसचिव सिलवालको बोलीको कुनै ठेगान नै हुँदैन ।

अर्को महत्वपूर्ण कुरा, अहिले १३औँ साग सम्पन्न भएको दुई महिनाभन्दा बढी समय भइसकेको छ । यति लामो समयमा पनि सदस्यसचिव सिलवालले अहिलेसम्म समीक्षा बैठक नबोलाउनु, खर्चको हिसाबकिताब पारदर्शी ढङ्गबाट सार्वजनिक नगर्नु र बोर्ड बैठक नबोलाउनु शङ्काको घेरामा परेका छन् । सदस्यसचिवको यो रवैयाबाट युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) समेत क्रूद्ध बनेका छन् । तर, शक्तिको आडमा मन्त्री पनि निरीह बनेका छन् । किनकि सदस्यसचिव सिलवाल प्रधानमन्त्री केपी ओलीबाहेक कसैलाई मान्छे नै ठान्दैनन् ।

यस कुरालाई सदस्यसचिव सिलवालले आफ्नो कार्यालयमा देखाएको व्यवहारले पनि प्रमाणित गर्छ । सर्वप्रथम कार्यालयमा कसैलाई पनि समय नदिने, दिइहाले पनि तीन–चार घन्टा बाहिर कुराउने, कर्मचारीलाई आफ्नो कोठामा छिर्नै नदिने, सौभाग्यवश छिर्ने पाएका कर्मचारीलाई कुकुरको जस्तो व्यवहार गर्ने, उनकै नुनमा पोषित दासको जस्तो व्यवहार गर्दै हप्काउने र हुर्मत लिने कार्य गर्दै आएको सचिवालयकै कर्मचारीले बताएका छन् ।

विगत दुई सातादेखि सिलवाल परिषद् जान छोडेपछि यतिबेला परिषद्को दैनिक कार्य सञ्चालन प्रायः ठप्प भएको छ । यसबाट मन्त्री सुनार र उपाध्यक्ष तिम्सिनाले चिन्तासमेत प्रकट गरेका छन् । उपाध्यक्ष तिम्सिनाले एक सार्वजनिक कार्यक्रममै भने, ‘मैले दुई महिनामा दुईपटक मात्र सदस्यसचिवलाई भेट्न पाएको छु । आखिर खेलकुदमा के भइरहेको छ, म अनविज्ञ छु ।’ खेलकुदमा यस्तो अवस्थाको सिर्जना कसरी भयो र केका लागि भइरहेको छ, त्यो अहिले आमखेलप्रेमीको चासो बनेको छ । खेलाडी, पदाधिकारी निराश छन्, कर्मचारी खुसी छैनन्, सन्त्रासको वातावरण छ, मुख खोल्ने कसैले आँट गर्दैन, के यस्तो पनि खेलकुद हुन्छ ? प्रश्नमाथि प्रश्न तेर्सिएको छ । जवाफ केवल सदस्यसचिव सिलवालसँग मात्र छ ।