शहीद स्मारक लिग : मनाङ मर्स्याङ्दी विजयी

शहीद स्मारक लिग : मनाङ मर्स्याङ्दी विजयी


शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत एघारौँ चरणको खेलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ । न्यूरोड टिमलाई हराउँदै मनाङ मर्स्याङ्दी लिगको तेस्रो स्थानमा उक्लेको हो ।

ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा आइतबार (२६ माघ) भएको खेलमा मनाङले न्यूरोडलाई ४–१ गोलले पराजित गरेको हो ।

मनाङ मर्स्याङ्दीले पहिलो हाफमा दुई गोल गरेको थियो । दोस्रो हाफमा मनाङले थप दुई गोल गऱ्यो । एनआरटीले दोस्रो हाफको अन्तिम समयमा गोल गरेको हो । मनाङ मर्स्याङ्दीका विमल रानाले खेलको ३५औँ मिनेटमा पहिलो गोल गरे। अञ्जन विष्टले खेलको ४३औँ मिनेटमा दोस्रो गोल गरेका थिए ।

यस्तै खेलको ६५औँ मिनेटमा नै अञ्जनले व्यक्तिगत दोस्रो गोल गरी मनाङलाई ३–० को अवस्थामा पुऱ्याए । खेल सकिनै लाग्दा न्यूरोडका लागि सकुल रेग्मीले सान्त्वना गोल गरेका थिए ।

यस्तै, खेलको अतिरिक्त समयमा मनाङ मर्स्याङ्दीका दयानन्द सिंहले चौथो गोल गरे भने जितसँगै मनाङ मर्स्याङ्दी २२ अंकका साथ लिगको तेस्रो स्थानमा पुगेको हो । न्यूरोड १५ अंकका साथ लिगको आठौं स्थानमा छ । त्रिभुवन आर्मी क्लब २६ अंकसहित शीर्ष स्थानमा छ ।