एपिएफ र पुलिस क्लब उत्कृष्ट टिम सम्मानित

एपिएफ र पुलिस क्लब उत्कृष्ट टिम सम्मानित


सशस्त्र प्रहरी बलको एपिएफ क्लब महिलातर्फ र नेपाल पुलिस क्लब पुरुषतर्फ २०७५ वर्षको उत्कृष्ट भलिबल टिमको सम्मानबाट सम्मानित भएको छ । माघ २५ गते शनिबार तेश्रो एनभिए अवार्ड कार्यक्रमको आयोजना गर्दै नेपाल भलिबल संघले टिमलाई नगद १ लाखसहित सम्मान गरेको हो ।

नेपाल भलिबल संघद्वारा सम्बन्धन प्राप्त प्रतियोगिताहरुमा एपिएफले महिलातर्फ १० मा ९ प्रतियोगितामा विजयी हुँदै उत्कृष्टता हासिल गरेको हो । यस्तै पुलिसले पुरुषतर्फ ९ खेल मध्ये ६ खेलमा विजयी हुँदै नेपाल पुलिस उत्कृष्ट टिम घोषित भएको हो ।

यस्तै खेलाडीतर्फ महिलामा एपिएफ क्लबकी सरस्वती चौधरी र पुरुषमा नेपाल पुलिसका कुलबहादुर थापा वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । भलिबलका उदीयमान खेलाडीहरुमा महिलातर्फ उषा भण्डारी (पुलिस क्लब) र सरण सामरी क्षेत्री (टिएसी) घोषित भएका छन् । यसैगरि महिलातर्फ एपिएफका ज्ञानेन्द्र बिष्ट र पुरुषतर्फ पुलिसका सरोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट खेलाडी तथा प्रशिक्षकहरूले नगद २५ हजारसहित सम्मान पत्र प्राप्त गरे ।

यसैगरी भलिबल खेलमा लामो समयसम्म आवद्ध रही भलिबल अन्तर्राष्ट्रिय खेलाडी जीवनबाट सन्यास लिएकी कोपिला उप्रेतीलाई संघले सम्मान स्वरुप नगद ५० हजार सहित सम्मानपत्रले सम्मान गऱ्यो । उप्रेतीले ६१ साल देखि अनवरत रुपमा भलिबल खेलको खेलाडीको रुपमा आफुलाई उभ्याएकी थिइन् । सम्मान गर्ने क्रममा नेपालमा भलिबल खेलको विकास र विस्तारमा अनवरत लागिपर्ने न्यू डायमण्ड एकेडेमीका संस्थापक एवं प्रशिक्षक तथा नेपाल भलिबल संघ विद्यालय कमिसनका उपाध्यक्ष कुमार राई पनि रहेका छन् । राईलाई नगद २५ हजारसहित अभिनन्दन पत्रले सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा नेपालमा भलिबल खेलको विकासमा सहयोग पुऱ्याउनु हुने नेदरल्याण्ड भलिबल संघका बिकास निर्देशक मि. पिटर भान तरेललाई पनि सम्मान पत्र र दाशल्ला ओढाएर सम्मान गरिएको थियो ।

नेपाल भलिबल संघले आफ्ना खेलाडी, प्रशिक्षक तथा टिमलाई विभिन्न खेलमा देखाएको उत्कृष्ट नतिजाका आधारमा मुल्यांकन गर्दै बिगत तीन वर्षदेखि सम्मान गर्ने कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

कार्यक्रममा संघीय प्रतिनिधिसभा सांसद एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष माननीय जीवनराम श्रेष्ठले वर्षका उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा टिमलाई संघद्वारा प्रदान गरिएको नगद रकमसहित सम्मानपत्रद्वारा सम्मान गरे ।

सोही कार्यक्रमका दौरान बंगलादेशको राजधानी ढाकामा आयोजना भएको प्रथम एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीप २०१९ मा विजय हासिल गर्दै राष्ट्रको नाम उच्च राख्न सफल नेपाली महिला भलिबल टिमका प्रत्येक सदस्यहरुलाई पनि नगद २५ हजार सहित सम्मान गरिएको थियो ।