आइसीसी विश्वकप लिग : नेपालद्वारा अमेरिका पराजित

आइसीसी विश्वकप लिग : नेपालद्वारा अमेरिका पराजित


जित्नैपर्ने दबाबका साथ मैदानमा प्रवेश गरेको नेपाली टिमले आइसीसी विश्वकप क्रिकेट लिग दुईमा जित हासिल गरेको छ । घरेलु मैदानमा सिरिजको दोस्रो खेल खेल्दै नेपालले अमेरिकालाई आज (२५ माघ) ३५ रनले हराएको हो । यसअघि पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो ।

शनिबारको खेलमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनायो । एक सय ९१ रनको विजय लक्ष्य पछ्याउने क्रममा अमेरिकाको पारी ४४ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १५५ रनमा समेटियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालको शुरुआत राम्रो नरहे पनि छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका अलराउण्डर कुशल मल्ल र सातौँ नम्बरमा मैदान प्रवेश गरेका विनोद भण्डारीले नेपालको पारी उकासेका थिए । बायाँहाते अलराउण्डरका रुपमा सुपरिचित कुशलले ५१ बल खेल्दै ५० रन बनाए । यस क्रममा उनले तीन छक्का र चार चौका प्रहार गरे भने कुशलले एकदिवसीय क्रिकेटमा डेब्युमै सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमानसमेत बनाए । कुशलले १५ वर्ष ३४० दिनको उमेरमा सो कीर्तिमान बनाएका हुन् । कुशलले भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीको रेकर्डसमेत तोडेका छन् ।