धरानमा गुञ्जिए ‘द भ्वाईस अफ सिजन २’का फाइनालिष्टहरू

धरानमा गुञ्जिए ‘द भ्वाईस अफ सिजन २’का फाइनालिष्टहरू


■ मनिता चाम्लिङ, धरान
पूर्वाञ्चल टुरमा निस्किएको ‘द भ्वाईस अफ सिजन २’का फाइनालिष्टहरुले शुक्रबार धराने दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाए ।

स्नायु रोगबाट पीडित धरान–१३ का रुद्र बस्नेतको उपचारार्थ सहयोगका लागि रेडियो धरानले धरान–१२ स्थित पब्लिक उच्च माविको खेल मैदानमा आयोजना गरेको सांगीतिक कार्यक्रममा ‘द भ्वाईस अफ नेपाल सिजन २’ का फाइनालिष्टहरुसँग धराने दर्शक झुम्मिए ।

कार्यक्रममा ‘नमस्ते धरान’ भन्दै स्टेजमा उक्लिएका ‘द भ्वाईस’का टिम दीपका फाइनालिष्ट विकास लिम्बुले कोच दीपकै ‘मेरो आँखामा..’ बोलको गीतबाट कार्यक्रमको शुरुवात गरेका थिए । त्यसपछि उनले लगातार ‘जति माया लाए पनि…, सायद तिम्रो बाटोमा… लगायतका गीत गाएका थिए । विकासको गीतमा धराने दर्शकहरुले साथ दिए ।

यसैगरी ‘द भ्वाइस’का टप १२ अञ्जु राना मगरले ‘फर्कि फर्कि नहेर मलाई…, जब तिमी कसैलाई..’ बोलको गीत प्रस्तुत गरेकी थिइन् भने टिम आस्थाका फाइनालिष्ट आरिफ रायले विपुल क्षेत्रीको गीत ‘अल्लारे जोवन..’बाट शुरुवात गरेका थिए । त्यसपछि उनले गायक राजु लामाको चर्चित गीत ‘तिमीलाई देखेर.., पखाईमा भिज्यो सिरानी’ गाएका थिए भने अन्तमा ब्लाइण्ड अडिसनको ‘उडायो हावाले…’ बोलको गीत गाएका थिए ।

यसैगरी कार्यक्रममा धराने दर्शकहरुको मुटुको ढुकढुकी बन्न सफल भ्वाईसका टिम राजुका फाइनालिष्ट शनिस श्रेष्ठले ब्लाइण्ड अडिसनमा गाएको गीत ‘लै लैं…’बाट शुरुवात गरे । त्यसपश्चात उनले अञ्जु राना मगरसँग डुएट गीत ‘आहै मिठो तिम्रो मुस्कानैमा..’ गाएका थिए भने अन्तमा दीपक बज्रचार्यको ‘काली काली हिस्सी परेकी..’ गाए । शनिसको हरेक गीतमा दर्शकबाट ‘वान्स मोर’को माग भयो ।

सांगीतिक कार्यक्रममा एकपछि अर्को धमाकेदार प्रस्तुति दिने क्रममा याङ्की यल्मो स्टेजमा उत्रिइन् । उनले मन्त्र ब्याण्डको ‘संँधै सँधैं..’ बोलको गीतबाट शुरु गरी सविन राईको ‘तिमी नै हौ..’ र गायिका आस्था राउतको ‘चौबन्दीमा पटुकी ..’ बोलको गीत प्रस्तुति दिँदा धराने दर्शककबाट वाहवाही पाइन् ।

कार्यक्रममा मुख्य आकर्षक विन्दु भ्वाइस अफ नेपाल सिजन २ बिजेता राम लिम्बु रहेका थिए । शुरुदेखि नै दर्शकले जोडदार माग गरिरहेका राम लिम्बु कार्यक्रमको अन्तिममा स्टेजमा उक्लिए । उनले ‘यो जिन्दगानी.., सुन साईंली.., रेशम.. र अन्तमा धराने गायक सविन राईको चर्चित गीत ‘गुराँसको फेदमुनी..’ गाएका थिए । उनले गाउँदा धराने दर्शकहरूले वान्स मोर भन्दै पुनः गीतको लागि आग्रह गरे । कार्यक्रमको अन्तमा पूर्वाञ्चल टुरमा निस्किएका सम्पूर्ण गायकहरुले समुहिक रूपमा ‘यो मन त मेरो नेपाली हो..’ गाएका थिए ।

डिजे स्याडोको डिजेबाट शुरु गरिएको कार्यक्रमलाई अन्तमा डिजे स्याडोले नै हिन्दी तथा नेपाली गीतको डिजेइङबाट कार्यक्रमको समापन गरेका थिए । कार्यक्रममा संकलित ३० हजार र विभिन्न सहयोगीहरुले प्रदान गरेको रकम १० हजार गरी नगद ४० हजार रुपैयाँ स्नायु रोगबाट पीडित रुद्र बस्नेतलाई प्रदान गरिएको थियो ।

आयोजक संस्था रेडियो धरानका अध्यक्ष डा. योगेन्द्र राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम भ्वाइस अफ नेपालका होष्ट सुशील नेपाल एवं रडियो धरानका आरजे शिशिर राईले सञ्चालन गरेका थिए ।