रसुवागढी नाकाबाट ६ महिनामा १९ करोडको ओखर भित्रियो

रसुवागढी नाकाबाट ६ महिनामा १९ करोडको ओखर भित्रियो


रसुवागढी नाका भएर चालू आवको ६ महिनामा चीनबाट १९ करोड रुपैयाँको ओखर नेपाल भित्रिएको छ । चालू आर्थिक वर्ष ०७६÷७७ को पहिलो ६ महिनामा करिब १९ करोड रुपैयाँ मूल्यबराबरको ओखर आयात भएको हो ।

चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म १८ करोड ८७ लाख १९ हजार तीन सय ९४ रुपैयाँ मूल्यबराबरको चिनियाँ ओखर आएको रसुवा भन्सार कार्यालयले जनाएको छ । यस अवधिमा ६ लाख ५१ हजार आठ सय ९६ किलो ओखर भित्रिएको थियो ।

नेपालमा ओखरको उत्पादन बढ्न नसक्दा चीनबाट आयात हुने क्रम बढ्दै गएको हो । नेपालमा तिहारको समयमा ओखरको खपत बढी हुन्छ । चीनबाट दुई किसिमका ओखर आउने गरेको छ । रसुवागढी भन्सार कार्यालयका अनुसार चीनबाट नेपालमा छोडाएको ओखर बढी मात्रामा आउने गरेको छ ।