बुढासुब्बा गोल्डकपको मिति तय

बुढासुब्बा गोल्डकपको मिति तय


■ मनिता चाम्लिङ, धरान
०५५ सालदेखि निरन्तर रुपमा आयोजना गरिँदै आएको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २२औं संस्करण आगामी फागुन १० गतेदेखि शुरु गरिने धरान फुटबल क्लबले जानकारी दिएको छ ।

यसअघि गत मंसिर १९ देखि २८ गतेसम्मको लागि प्रतियोगिता आयोजनाको मिति तोकिएको भए पनि ‘साग’ खेलकुद प्रतियोगिताको कारण स्थगित गरिएको थियो । अहिले पुनः एन्फासँगको छलफलपछि फागुन १० देखि १७ गतेसम्म प्रतियोगिता सञ्चालन हुने मिति तय भएको क्लबका अध्यक्ष किशोर राईले बताए ।

अध्यक्ष राईका अनुसार यस वर्षदेखि मोफसलका प्रतियोगिताका लागि एन्फाद्वारा नियमावली बनाई प्रतियोगिताहरूलाई तीन श्रेणी अर्थात क, ख र ग वर्गमा विभाजित गरिएकाले उक्त प्रावधानअनुसार बुढासुब्बा गोल्डकप ‘क’ श्रेणीमा परेको छ । एन्फाका मानार्थ उपाध्यक्ष समेत रहेका अध्यक्ष राईले ‘क’ श्रेणीमा परेवापत सहभागी टिमहरूलाई पहिलेभन्दा बढी सुविधा उपलब्ध गराउनुपर्ने भएकाले बुढासुब्बा गोल्डकपको २२औं संस्करण विगतभन्दा ज्यादा चुनौतीपूर्ण हुने समेत बताए ।

बुढासुब्बा गोल्डकप मोफसलको ‘क’ श्रेणीको फुटबल प्रतियोगिता भएसँगै यसै संस्करणदेखि बुढासुब्बा गोल्डकपमा भिडियो असिस्टेन्ट रेफ्रि (भिएआर) प्रविधिको समेत प्रयोग हुने भएको छ । विदेशी खेलहरूमा मात्र प्रयोग हुँदै आएको यस प्रविधिलाई धरान फुटबल क्लबले पहिलोपटक बुढासुब्बा गोल्डकपमा प्रयोग गर्ने भएको छ । यस प्रविधिको माध्यमबाट खेलको दौरानमा कुनै पनि समस्या आइपरे भिडियो हेरेर रेफ्रिलाई निर्णय गर्न सजिलो हुनेछ भने फुटबल खेललाई अझ विशिष्ट र निष्पक्ष तुल्याउन महत्वपूर्ण सहयोग पुग्नेछ ।

धरान रंगशालामा हुने प्रतियोगितामा दुई विदेशीसहित ८ टिमको सहभागिता रहने क्लबले जनाएको छ । जसमा मनाङ मस्र्याङ्दी क्लब काठमाडौंं, मच्छिन्द्र क्लब काठमाडौं, नेपाल पुलिस क्लब काठमाडौं, मुख्यमन्त्री कप लिग विजेता बेलबारी फुटबल क्लब मोरङ, मेची नेत्रालय काकडभिट्टा, फुटबल ट्रेनिङ सेन्टर झापा र आयोजक धरान फुटबल क्लबलगायत दुई विदेशी टिम जापान फुटबल लिग टिम जापान र युके एफसी भारतले प्रतियोगितामा सहभागिता जनाउने धरान फुटबल क्लबका महासचिव प्रताप तामाङले बताए ।

प्रतियोगितामा विजेताले नगद १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् भने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ थान होण्डाको डियो स्कुटर प्रदान गरिने भएको छ । यसका साथै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकलाई जनही नगद २५ हजारका दरले पुरस्कृत गरिने भएको छ भने सर्वाधिक गोलकर्तालाई ३५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई नगद १५ हजार प्रदान गरिने जानकारी दिएको छ ।