खेलकुदमा भ्रष्टाचार : खेलसामग्री खरिदमा करोडौँ अनियमितताको आशङ्का

खेलकुदमा भ्रष्टाचार : खेलसामग्री खरिदमा करोडौँ अनियमितताको आशङ्का


■ श्रीविक्रम भण्डारी
१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा खेलसामग्री खरिदमा करोडौँको आर्थिक अनियमितता भएको आशङ्का गरिएको छ । सागमा कार्यविधि र टेन्डर प्रक्रियालाई लत्याउँदै फास्ट ट्र्याकबाट विभिन्न खेलका खेलकुद सामग्री राखेपले खरिद गरेको थियो । खेलसामग्री खरिदमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले एकद्वार प्रणाली लागू गर्दै आफ्नो प्रत्यक्ष निर्देशनमा आफ्ना निकटका व्यक्तिलाई यसको जिम्मेवारी सुम्पेका थिए । एकाध खेलबाहेक अन्य सम्बन्धित सङ्घका पदाधिकारीलाई बाइपास गर्दै उनीहरूलाई ‘खाए खा नखाए घिच’ अवस्था सदस्यसचिव सिलवालले खडा गरेका थिए । प्रतियोगिता आयोजनाको अन्तिम समयमा प्राप्त खेलसामग्री त्यतिबेला ती सङ्घका लागि प्रयोग गर्नुको अर्को विकल्प थिएन । त्यसैले खेलकुद सामग्री जे–जस्तो भए पनि उनीहरू प्रयोग गर्न बाध्य थिए । अहिले आएर कतिपय खेलसामग्री अन्तर्राष्ट्रिय मापदण्डको नभएको र अर्कोतर्फ अन्तर्राष्ट्रिय मापदण्डका खेलसामग्रीको खरिदमा करोडौँको आर्थिक अनियमितता भएको यतिबेला खेलकुदमा चर्चा चलेको छ ।

यही कुरालाई मध्यनजर गर्दै सदस्यसचिव सिलवालले बडो चलाखीका साथ १३औँको सम्पूर्ण हिसाबकिताब तीन महिनामा सार्वजनिक गर्ने घोषणा गरेका थिए । किनकि यो समयमा जस्तोसुकै आर्थिक अनियमितता भए पनि सहजै मिलान गर्न सकिन्छ । त्यसका लागि पुस ८ गतेभित्र सम्पूर्ण खर्च विवरण पेस गर्न समितिहरूलाई सिलवालले निर्देशन दिएका थिए । अहिले १३औँ साग सम्पन्न भएको दुई महिना बितिसकेको छ, कागजी रूपमा हिसाबकिताबको मिलान युद्धस्तरमा अघि बढेको छ । अबको एक महिनापछि सदस्यसचिव सिलवालले आफूलाई दूधले नुहाएको व्यक्तिको रूपमा प्रस्तुत गर्दै १३औँ सागमा राज्यको ढुकुटीको एक रुपैयाँ पनि हिनामिना नभएको प्रतिवेदन पेस गर्नेछन् । त्यतिबेला वार्ता समितिका सदस्य अर्थात् सदस्यसचिव सिलवालका विश्वासपात्रहरू पुरेन्द्रविक्रम लाखे, कमल खनाल, कुलबहादुर थापा, गंगाबहादुर थापा, बज्रबहादुर केसी, अरुण उपाध्यय र ऋषिराम पोखरेलले ताली बजाउने पक्का भए पनि अन्य खेलकुदका पदाधिकारी र प्रशिक्षकले उँधोमुन्टो लगाई ‘भ्रष्टाचारी’को संज्ञा दिँदै कानेखुसी गर्ने कुरा दुईमत छैन । किनकि भ्रष्टाचारको कुनै प्रमाण हुँदैन, सबै मिलेमतोमा हुन्छ त्यो सदस्यसचिव सिलवालको प्रतिवेदनमा पनि अवश्य देखिनेछ । त्यसपछि राज्यको ढुकुटी स्वाहा हुनेछ, सबैले क्लिन चिट पाउनेछन् ।

खेलसामग्री खरिदमा आर्थिक चलखेल गर्नकै लागि कस्तो–कस्तो रणनीतिको अख्तियार गरियो त्यो कसैबाट छिपेको छैन । सर्वप्रथम कार्यविधि १५ दिन अगाडि ल्याइयो, त्यसपछि ७ दिनको बोलपत्र आह्वानको नाटक गरियो । त्यसपछि पुनः ५ दिनको बोलपत्रको आह्वान गर्दै खोलिएको बोलपत्रमा सम्पूर्ण खेलसामग्रीको बोलपत्र नपरेको भन्दै खारेज गरियो । त्यसपछि राष्ट्रिय खेलकुद परिषद्ले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयको हवाला दिँदै फास्ट ट्र्याकबाट वार्तासमितिमार्फत खेलसामग्री खरिद गर्ने निर्णय गऱ्यो । जुन खेल सामग्री खरिद गर्नका लागि सार्वजनिक खरिद ऐन २०६३ सार्वजनिक खरिद नियमावली २०६४ को कानुनी प्रावधानलाई समेत उल्लङ्घन गरियो । त्यसपछि सदस्यसचिव सिलवालले आफ्ना निकट अर्थात व्यापारिक साझेदार पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा वार्ता समिति गठन गर्दै खेलसामग्री, उपकरण, पोसाक खरिद गर्ने जिम्मेवारी दिए । उक्त वार्ता समितिमा सम्बन्धित खेल सङ्घका प्रतिनिधि रहने व्यवस्था भए पनि नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयको सदस्यसचिवले शक्तिको आडमा ठाडै अवमूल्यन गरे । सदस्यसचिव सिलवालले सार्वजनिक खरिद ऐनविपरीत उत्पादक कम्पनीसँग खेलसामग्री खरिद गर्नुपर्नेमा आफुखुशी व्यापारीहरूसँग साँठगाँठ गरी पुरेन्द्र लाखेमार्फत सामान खरिद गरे ।

नाटकको मञ्चन त्यतिबेला भो जब लाखेले क्याप्टेन आउटडोर कम्पनीका भारतीय व्यापारी अनिलकुमार थमनलाई भेटे । थमन तिनै व्यक्ति हुन् जसले १३औँ सागको समारोह र समापन कार्यक्रमको लागि आवश्यक सम्पूर्ण सामग्री उपलब्ध गराएका थिए । स्मरण रहोस्, थमनसँग राखेपले करोडौँको सामान खरिद गर्दा उनीसँग कुनै बैंक ग्यारेन्टी नलिइएको स्रोतको दाबी छ । यसरी थमनलाई पटकपटक करोडौँको पेस्की दिँदा राखेपले सार्वजनिक खरिद ऐन बाइपास गरेको देखिन्छ । त्यसैले अहिले प्रश्न तेर्सिएको छ, फास्ट ट्र्याक भन्दैमा जे पनि गर्न पाइन्छ, यसको जवाफ कसले दिने ? अख्तियार दुरुपयोग अनुसन्धान आयोग के हेरेर बसेको छ त्यो अहिले चासोको विषय बनेको छ । त्यस्तै, अन्य खेलसामग्रीको खरिदमा पनि सदस्यसचिवको इसारामै लाखेले भारतीय र चाइनिज व्यापारीसँग समान खरिद गरेको खुलासा भएको छ । प्राप्त जानकारीअनुसार पहिल्यै व्यापारीहरूसँग साँठगाँठ गरिसकेका सिलवालले त्यसपछि फास्ट ट्र्याकको मार्ग अपनाउँदै आफ्ना व्यापारी साझेदार लाखेलाई भारत पठाएको बुझिन आएको छ । पछि लाखेले सदस्यसचिवकै निर्देशनलाई फलो गर्दै खेलसामग्री नेपाल भित्र्याइएका थिए ।

यतिबेला भारतबाट खरिद गरिएका खेलसामग्रीबारे व्यापक चर्चा–परिचर्चा भइरहेको छ । सामान अन्तर्राष्ट्रिय मापडण्डको भए पनि त्यसको खरिद मूल्य र राखेपमा पेस गरिएको बिलको मूल्यमा आकाश–पातालको फरक छ । प्राप्त जानकारीअनुसार राखेपले खरिद गरेको तेक्वान्दोको खेलसामग्रीको अन्तर्राष्ट्रिय बजार मूल्य ५० देखि ५५ लाखमा पर्ने देखिए पनि राखेपमा दुई करोडभन्दा माथिको बिल पेस गरिएको स्रोतले दाबी गरेको छ । बिनाबोलपत्र खरिद गरिएको सामानलाई खारेज गरिएको बोलपत्रलाई आधार बनाएर बिल पेस गर्दा अहिले थुप्रै राखेपका थुप्रै पदाधिकारीले होस गुमाएका छन् । त्यस्तै सम्बन्धित तेक्वान्दो सङ्घका केही पदाधिकारीले यसमा आपत्ति प्रकट गर्दै १३औँ साग पुरानै म्याटमा खेलाएको खुलासा गरेका छन् । स्मरणीय छ, पहिले त्यो पुरानो म्याटसहितको खरिद गरिएको बिल राखेपमा पेस गरिएको थियो । पछि तेक्वान्दोका पदाधिकारीको विरोधपछि अहिले राखेपले म्याटको बिल हटाइएको थाहा भएको छ ।

तेक्वान्दोलगायत, उसु, सुटिङ, साइक्लिङ, बास्केटबल र करातेको बिल पनि करोडौँको भएको स्रोतले खुलासा गरेको छ । उसु प्रतियोगिताका लागि खरिद गरिएको म्याट गुणस्तरहीन भएको सङ्घका पदाधिकारीहरूले बताएका छन् । बास्केटबल बलको खेलसामग्री अन्तर्राष्ट्रिय मापदण्डको नभएका कारण १३औँ सागमा प्रयोग गरिएको थिएन । अहिले उक्त सामान राखेप परिसरमा थन्किएर रहेको छ भने सङ्घले बुझ्न मानेको छैन । उक्त बास्केटबलको सामानको मूल्य पनि अन्तर्राष्ट्रिय बजारको भन्दा दश लाख बढी भएको बुझिएको छ ।

त्यस्तै कतिपय खेलका सामग्रीहरू अहिलेसम्म पनि सङ्घका पदाधिकारीले पाउन सकेका छैनन् । राखेपले जति दियो त्यसैमा काम चलाएका पदाधिकारीले सम्बन्धित खेलका लागि कति सामान आएको हो त्यसबारे आफूलाई ज्ञान नभएको बताए । १३औँ सागको सामान खरिदबारे सङ्घका पदाधिकारीले बाहिर टीका–टिप्पणी गरे पनि अहिलेसम्म ती सामानबारे राखेपमा कुनै उजुरी भने गरेका छैनन् । उनीहरूले कुनै किसिमको पनि उजुरी किन गरिरहेका छैनन् त्यसको पछाडि पनि ठूलै रहस्य लुकेको स्रोतको दाबी छ । सम्बन्धित खेलका पदाधिकारी र कर्मचारी सङ्घका पदाधिकारीहरूलाई समिति र अन्य जिम्मेवारी दिएर ललिपप चुसाइसकेका सदस्यसचिव सिलवालले उनीहरूको नाडी पहिल्यै छामिसकेका छन् । त्यसैले अहिले उनीहरूले सिलवालको विरुद्ध बोल्ने आँट–साहस देखाएका छैनन् । त्यस्तै, १३औँ सागमा सबैभन्दा हरिविजोग सुटिङ खेलको भएको थियो । खेलको समयमा खेल सामग्री आइनपुग्दा नेपाली खेलाडीहरूले विदेशी खेलाडीसँग मागेर खेल्नुपरेको कसैबाट छिपेको छैन । सुटिङको खेल सकिएपछि खेल–सामग्री आए पनि हतियार अहिलेसम्म नआएको कुरा सङ्घका पदाधिकारी बताए । साथै आएका सामानहरू पनि निकै कमसल भएको उनीहरूको दाबी थियो । यसरी हचुवाको भरमा खरिद गरिएका सामानको करोडौँको बिल बनाएर आर्थिक चलखेलमा राखेपका पदाधिकारीहरू लागेका छन् ।

सदस्यसचिवले एकद्वार प्रणाली अपनाउँदै समितिमाथि हस्तक्षेप गरेपछि साग सचिवालयका प्रमुख कमल खनाललाई चिट्ठा परेको थियो । यतिबेला सिलवालका दाहिने हातका रूपमा परिचित तथा अख्तियारले नराम्रोसँग डामेका खनालले नै सिलवाललाई यस्तो रणनीति अपनाउन सल्लाहकारको भूमिका निभाएको राखेप स्रोतको दाबी छ । ठूलो भाग माग्दै आर्थिक चलखेल गर्न खोजेकै कारण राखेपका पूर्वसदस्यसचिव जीवनराम श्रेष्ठ, युवराज लामा र केशवकुमार विष्टले खनाललाई कुनै जिम्मेवारी नदिई रंगशालाको अँधेरो कुनामा धन्क्याएका थिए । अहिलेसम्म तिनै नियुक्ति नै नभएका खनाललाई काखी च्यापेर सिलवालले वैतरणी तर्ने सपना देख्दै आएका छन् । अहिले यिनै विवादास्पद व्यक्ति खनालकै सहयोगमा १३औँ सागको सम्पूर्ण हिसाबकिताब चुस्त र दुरुस्त पार्न खोजिएको छ । तर, जुन दिन खनालको साँठगाँठबारे सिलवालले जानकारी पाउनेछन् त्यसपछि उनले पश्चात्ताप गर्नुको विकल्प रहने छैन ।

यो पनि हेर्नुहोस्-

‘अख्तियारमा उजुरी हाल्नेहरू यहीँ छन्’