एउटै वडामा दूध बिक्रीबाट मासिक करोड आम्दानी

एउटै वडामा दूध बिक्रीबाट मासिक करोड आम्दानी


कास्कीको माछापुच्छ्रे गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा नमूना बन्दै गएको छ । व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेर मनग्यै आम्दानी गर्दै आएका छन् । गाउँपालिकाको वडा नं। ३ घाचोक र वडा नं। ४ लाहाचोकमा सबैभन्दा बढी दूध उत्पादन हुने गर्दछ । लाहाचोकबाट मात्रै दैनिक पाँच हजार लिटर दूध बिक्रीका लागि बजारमा आउने गरेको छ ।

लाहाचोकका कृषकले दूध बिक्रीबाट दैनिक रु। तीन लाख ५० हजार तथा मासिक एक करोड पाँच लाख आम्दानी गर्दै आएको गाउँपालिका पशु सेवा शाखाका प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए । दूध बिक्रीबाट आयआर्जन हुन थालेपछि कृषक क्रमशः व्यावसायिक पशुपालनमा आकर्षित हुने क्रम बढेको छ । विगतमा एक–दुईवटा पशुपालन गरेर घरायसी उपभोग गर्दै आएका कृषकले समेत व्यावसायिक पशुपालन शुरु गरेका छन् ।

‘गाउँपालिका दूधको ‘हब’ बन्दै गएको छ । विशेषगरी यहाँको लाहाचोक र घाचोकमा पशुपालन व्यवसाय राम्रोसँग फस्टाएसँगै दूध बेचेर कृषकले राम्रो आयआर्जन गरेका छन् । अन्य वडामा समेत उत्पादन बढिरहेको छ,’ शाखा प्रमुख पौडेलले भने ।

उत्पादित दूध वडामा रहेका दुग्ध सहकारीले संकलन गरेर बजार पुऱ्याउँछन् भने केही फार्म तथा कृषकले आफ्नै साधनबाट बजार लैजाने गरेका छन् । सडक सुविधा, पशु आहाराका लागि घाँस तथा चरनक्षेत्र, नजिकको बजारलगायतका कारणबाट पशुपालनका लागि सहज वातावरण बनेको हो । जति पनि उत्पादित दूध सहजै नजिकको पोखरा बजारमा खपत हुने भएकाले समेत कृषक पशुपालनमा आकर्षित बनेको देखिन्छ ।

शुरुमा लाहाचोकका युवा इमानबहादुर गुरुङले देशकै ठूलो भैँसीफार्म शुरु गरेपछि अन्य स्थानीयसमेत उनको सिको गर्दै पशुपालनमा आकर्षित भएको वडा नं। ४ का वडाध्यक्ष पूर्णबहादुर शाहीले बताए । गुरुङको फार्ममा अहिले तीन सय भैँसी छन् । ०७३ मा उनी राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कारबाट समेत पुरस्कृत भएके थिए ।

वडा नं ३ को घाचोकबाट समेत दैनिक तीन हजार पाँच सय लिटर दूध बजारमा बिक्री हुने गरेको बताइन्छ । यहाँ वडामा रहेका दुई दुग्ध उत्पादक सहकारीका माध्यमबाट कृषकले आफ्नो उत्पादन बजारसम्म पुऱ्याउँदै आएका छन् । गाउँपालिकाभरबाट समग्रमा दैनिक १० हजार पाँच सय लिटर दूध बजारसम्म जाने गरेको पशु सेवा शाखाको तथ्यांक छ । नौ वडा रहेको गाउँपालिकाको वडा नं। ६ धितालबाट दैनिक एक हजार लिटर बिक्री हुने गरेको छ ।

त्यसैगरी रिभान, माछापुच्छ्रे र सार्दीखोलबाट दैनिक तीन सय लिटरका दरले दूध बिक्री हुने गरेको तथ्यांक छ । त्यस्तै धम्पुस र ल्वाङघलेलबाट गरी दैनिक पाँच सय लिटर दूध बिक्री हुने गरेको बताइन्छ । समग्रमा दूध बिक्री गरेर गाउँपालिकामा कृषकले दैनिक रु। सात लाख ३५ हजार तथा मासिक रु। दुई करोड २० लाख हाराहारीमा आम्दानी गर्ने गरेको तथ्यांक छ ।

गाईको दूध प्रतिलिटर रु। ५५ तथा भैँसीको रु ८५ मा बिक्री भए पनि औसतमा प्रतिलिटर रु। ७० मूल्य पर्ने गरेको छ । दुग्ध उत्पादक कृषक गोपाल पोखरेलले पशु आहारामा वर्षेनी मूल्यवृद्धि हुँदासमेत दूधको मूल्य लामो समयदेखि नबढ्दा कृषक मर्कामा परेको बताए । ‘दाना, घाँस तथा परालको वर्षेनी मूल्यवृद्धि हुँदासमेत कृषकले उत्पादन गरेको दूधको मूल्य लामो समयदेखि बढ्न सकेको छैन । यसबाट हामी पीडित छौँ,’ उनले भने ।

‘पर्यटन, कृषि, ऊर्जा र पूर्वाधार ः समृद्ध माछापुच्छ्रे मूल आधार’को लक्ष्यसहित गाउँपालिकाले कृषि विकासलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष कर्ण गुरुङ बताउँछन् । चालू आर्थिक वर्षमा कृषकको मनोबल उच्च राख्दै कृषिको व्यवसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरणका लागि रु ६२ लाख ५० हजार बजेट विनियोजन गरी काम भइरहेको उनले जानकारी दिए ।
rss