व्हिस्की र मह पिएर कोरोना भाइरस ठिक पारेको बेलायती नागरिकको दाबी

व्हिस्की र मह पिएर कोरोना भाइरस ठिक पारेको बेलायती नागरिकको दाबी


घातक कोरोना भाइरसले अहिलेसम्म चीनमा मात्र करिव पाँच सय मानिसको ज्यान लिइसकेको छ । कैयन अस्पतालमा जीवन र मृत्युसँग जुझिरहेका छन् । आजका दिनसम्म कुनै देशले कोरोना भाइरसविरुद्धको औषधि पत्ता लगाउन सकेका छैनन् । त्यसो त चीनमै यस रोगको उपचारको खोजी जारी रहेको र अष्ट्रेलियाका वैज्ञानिकहरूले केही महत्वपूर्ण प्रयोग गरेका समाचार आएको छ, तर प्रामाणिक रिपोर्ट आइसकेको छैन ।

यस्तोमा विगत तीन वर्षदेखि वुहानमै रहँदै आएका एक बेलायती नागरिकले आफू कोरोना भाइरसबाट पीडित हुन पुगेको तर व्हिस्की र महको माध्यमबाट त्यसको उपचार गरेको दाबी गरेका छन् । वुहानमा अङ्ग्रेजी भाषा शिक्षकको काम गर्दै आएका कानर रीड नामका २५ वर्षीय ती बेलायती नागरिले तातोपानी र मह मिसाएर व्हिस्की पिएरै कोरोना भाइरसविरुद्ध सफलता पाएको बताएका ‘द सन’ले समाचार सम्प्रेषण गरेको छ ।

समाचारअनुसार रीड फ्लू तथा निमोनियाबाट ग्रस्त भएका थिए । अस्पतालमा जँचाउन जाँदा उनलाई खोकी पनि लागिरहेको थियो । उनले दुई साताको लागि अस्पतालमै रहनुपर्ने भयो, तर उनले चिकित्सकद्वारा दिइएको एन्टी–बायोटिक्स लिएनन् ।

रीडको दाबीअनुसार सास लिन सजिलो होस् भनी उनले आफैसँग भएको ‘इन्हेलर’ प्रयोग गरे भने सँगसँगै तातो पानीमा मह मिसाएर व्हिस्की पिए । यसैको मद्दतबाट यतिबेला उनी स्वस्थ भएका छन् ।

रीडले ‘द सन’लाई बताएअनुसार यतिबेला वुहानका मानिस कोही पनि घरबाट निस्किरहेका छैनन् भने विना मास्क घरबाहिर निस्कने मानिसलाई प्रहरीले गिरफ्तार गर्दै आएको छ ।

चौविस हजारभन्दा बढिमा कोरोना भाइरसको प्रकोप

चीनमा यस घातक रोगबाट मर्ने मानिसको संख्या ४९० पुगिसकेको छ भने २४ हजार ३ सय चौबिस व्यक्ति संक्रमित भएका छन् । तीमध्ये तीन हजार २ सय २० व्यक्ति यतिबेला गम्भीर अवस्थामा छन् । मंगलबार (२१ माघ) सम्ममा हङकङमा पनि १८ जनामा कोरोना भाइरस देखिएको छ र त्यहाँ एक व्यक्तिको मृत्यु भएको छ ।