कामको प्रचार हुन नसक्दा सरकारको आलोचना : सञ्चारमन्त्री बाँस्कोटा

कामको प्रचार हुन नसक्दा सरकारको आलोचना : सञ्चारमन्त्री बाँस्कोटा


सरकारले गरेका कामको प्रचार हुन नसक्दा पार्टीमा आलोचना भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दाबी गरेका छन् । राष्ट्रिय सभागृहमा जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बाँस्कोटाले बैठकमा स्वभााविक रुपमा सरकारको राम्रो कुरा मात्र नआई कमजोरीका कुरा पनि केलाइने भएकाले आलोचना भएको बताए ।

‘सरकारको आलोचना केही साथीले गर्नुभएको छ । कम्युनिष्ट पार्टीमा आलोचना हुनु स्वाभिक हो । कतिपय थाहा नभएर, कतिपय बुझेर र कतिपय गर्ने पर्ने कारणले आलोचना भएको हो’, मन्त्री बाँस्कोटाले भने–, ‘हामीले सरकारले गरेका उपलब्धिलाई प्रचार गर्न नसकेर आलोचना भएको हो ।’

नेकपाका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री बाँस्कोटाले बैठकमा सरकारले गरेका निकै राम्रा उल्लेखित कार्यलाई संलग्न गर्न जरुरी रहेको राय प्रकट गर्दै सरकारका कामलाई पार्टी पङ्क्तिले सतही आधारमा विश्लेषण नगरी गम्भीर ढङ्गले अध्ययन गनुृपर्ने उल्लेख गरे । सरकारका प्रवक्तासमेत रहनुभएका उनले सरकार अहिले मुलुकलाई आधार विन्दुबाट उठेर क्रमशः परिमाण देखिने विन्दुमा आउन थालेको दाबी गरे ।

‘पार्टीको एकता जुन उचाइ र गहिराइबाट भएको छ । यसले पार्टीको मूलमर्म, भावना, गति र युगीन चुनौतीलाई कार्यभार पूरा गर्ने छ । पार्टी कसैलाई रहर लागेर बनेको होइन । विभिन्न टुटफुट र विभाजनको अवस्थाबाट बनेका हो, त्यसैले केन्द्रीय कमिटी बैठकमा विभिन्न विचार आउँछन् । त्यसलाई छलफलका माध्यमबाट समाधान गर्नुपर्दछ’– मन्त्री बास्कोटाले बताए ।