महिला भलिबल लिगमा एपीएफको उत्कृष्ट प्रदर्शन

महिला भलिबल लिगमा एपीएफको उत्कृष्ट प्रदर्शन


साविक विजेता नेपाल एपिएफ क्लब र होङ्गवान्जी न्यु डायमन्ड स्पोटर््स् क्लब, त्रिभुवन आर्मी क्लब र बुलबले रारा क्लबले १५ औं संस्करणको सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेका छन् ।

नयाँ बसपार्कस्थित ढोरपटान क्लबको कोर्टमा भएको खेलमा एपिएफले चुली युवा क्लबमाथि २५–६, २५–५ र २५–१३ को एकपक्षीय जित निकाल्दै विजयी शुरुवात गरेको हो । यस्तै होङ्गवान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले पारामाउन्ट स्कुलमाथि ३–१ को सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । न्यू डायमन्ड आफ्नो स्टार खेलडी प्रतिभा मालीविनै मैदान उत्रिएको थियो ।

त्यस्तै अर्काे खेलमा विभागीय त्रिभुवन आर्मी क्लबले समाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेब) लाई २५–७, २५–४ र २५–८ को सोझो सेटमा हरायो । अर्काे खेलमा बुलबुले रारा क्लबले चुली युवा क्लबलाइ २५–१४,२५–१४ र २५–१७ ले पराजित गर्दै वियजी सुरुवात गर्यो ।

त्यसअघि प्रतियोगिताको ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपाली, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्मा, महासचिव जितेन्द्र चन्द, संघका सचिव तथा ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्यालले ढोरपाटन महिला भलिबल आयोजना भएको १५ वर्षको उपलक्ष्यमा दीप प्रज्वलन र केक काट्दै उदघाटन गरेका थिए ।

ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा जारी १५औं संस्करणको लिगमा १० टोलीको सहभागिता रहेको छ । १५औं संस्करण (माघ १६ देखि २८)मा सम्म चल्ने प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । हरेक १० टोलीले एक अर्कासँग एक–एक खेल खेल्नेछन् । पहिलो राउन्ड २४ माघसम्म चल्नेछ । त्यसपछि शीर्ष अंक जोड्ने ७ टोलीले दोस्रो राउन्डमा प्रतिस्पर्धा गर्नेछ । बढी अंक जोड्ने टोली च्याम्पियन बन्ने छ ।

प्रतियोगितनको विजेताले ४ लाख ५ हजार रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले २ लाख ५ हजार तथा तेस्रो हुनेले १ लाख ५ हजार पाउनेछन् । यस्तै चौथौदेखि सातौँसम्मले क्रमश ७५ हजार, ५५ हजार, ४५ हजार र ३५ हजार रुपैयाँ पाउनेछन् ।

गत वर्ष जस्तै यो वर्ष पनि विभिन्न चार विधा (उत्कृष्ट खेलाडी, उदियमान, वर्ष खेलाडी र प्लेयर अफ द सिरिज) बन्ने खेलाडीले यु एम स्कुटर पाउनेछन् । त्यस्तै भाग्यशाली एक दर्शक र ग्रेट एचिभमेन्ट अवार्ड विजेतालाई एक एक थान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फको विजेताले जनही ७ हजार रुपैयाँ हात पार्नेछन् ।