विगतका माग सम्बोधन भए सरकारमा जानेबारे विचार गरिन्छ : संयोजक यादव

विगतका माग सम्बोधन भए सरकारमा जानेबारे विचार गरिन्छ : संयोजक यादव


सत्तारुढ दल नेकपासँग सम्बन्ध कसिलो तुल्याउँदै आएको मधेसकेन्द्रित दल ‘राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल’ सरकारमा जाने चर्चा चरिरहेको सन्दर्भमा सो दलका अध्यक्ष मण्डलका संयोजक तथा सांसद महेन्द्रराय यादवले तत्काल आफ्नो पार्टी सरकारमा जाने कुनै सम्भावना नरहेको अभिव्यक्ति दिएका छन् । काठमाडौंमा बिहीबार आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा मन्तव्य दिँदै अध्यक्ष मण्डलका संयोजक यादवले सरकारमा जानेबारे पार्टिभित्र कुनै छलफल नभएको र तत्काल सरकारमा जाने सम्भावन नरहेको स्पष्ट पारे ।

उनले भने– ‘सरकारमा सहभागी हुनेबारे यतिबेला हाम्रो पार्टीभित्र कुनै छलफल नभएकोले त्यसको सम्भावना छैन । प्रधानमन्त्रीसँग पनि सरकारमा जाने विषयमा कुनै छलफल भएको छैन ।’

संयोजक यादवले तत्काल सरकारमा जाने सोच नभए पनि आफ्ना विगतका मुद्दा र मागलाई वर्तमान सरकारले सम्बोधन गरेको खण्डमा भने विचार गर्न सकिने जानकारी पनि दिए । उनको यस तर्कले मौका मिल्नेवित्तिकै राजपा सरकारमा जाने अनुमानलाई बलियो तुल्याएको अनुभूति गरिएको छ ।