ढुंगाना नेविसंघको अध्यक्ष

ढुंगाना नेविसंघको अध्यक्ष


नेपाली कांग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी संघको अध्यक्षमा राजीव ढुंगानालाई नियुक्त गरेको छ । यसैगरी नेविसंघ केन्द्रीय तदर्थ कार्यसमितिको महामन्त्रीमा काठमाडौंका मनोज वैद्य र पाल्पाकी महेश्वरी कुँवर चयनलाई मनोनयन गरिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार रिक्त ‘नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति’ गठन गरेका हुन् । पार्टीको ०७५ साल फागुन १ गतेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पार्टी सभापति देउवाले ढुंगानालाई नियुक्त गरेका हुन् ।

०४६ मा जिल्ला सदस्यबाट नेविसंघको राजनीति शुरु गरेका ढुंगानाले यसअघि नेविसंघ केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् । कार्यसमितिलाई आजको मितिदेखि ६ महिनाभित्र नेविसंघको आगामी १२औँ केन्द्रीय अधिवेशन सम्पन्न गर्नुपर्ने जिम्मेवारी तोकिएको छ ।

तदर्थ कार्यसमितिमा रहेका पदाधिकारी र सदस्य आगामी केन्द्रीय अधिवेशनमा उम्मेदवार हुन पाउने छैनन् भने यसअघि कायम रहेको नेविसंघ केन्द्रीय कार्यसमिति विघटन भएको मिति २०७५ साल माघ २९ गतेसम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीले नेविसंघको आगामी १२औँ अधिवेशनमा भाग लिन पाउनेछन् । नेविसंघ तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यको मनोनयन यथाशीघ्र गरिने पार्टी कार्यालयले जनाएको छ ।