सम्झना कप खुला अन्तर्राष्ट्रिय टेबुल टेनिस काठमाडौंमा

सम्झना कप खुला अन्तर्राष्ट्रिय टेबुल टेनिस काठमाडौंमा


तेस्रो सम्झना कप खुला अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता शनिबारबाट काठमाडौंमा हुने भएको छ । अखिल नेपाल टेबल टेनिस संघको तत्वावधान र ललितपुर टेबल टेनिस क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान र दक्षिण कोरियाका कुल ५ सय २४ खेलाडीले सहभागिता जनाउने आयोजक समितिले जानकारी गराएको छ ।

८ दिनसम्म चल्ने प्रतियोगितामा सहभागी प्रतिस्पर्धीले १४ स्वर्ण, १४ रजत र २८ कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने ललितपुर टेबल टेनिस क्लबका अध्यक्ष उर्दिप जोशीले जानकारी दिए ।

लैनचौरस्तिथ राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुने प्रतियोगितामा पुरुष र महिला गरी १४ स्पर्धामा प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ ।

ओपन इभेन्टमा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै भेट्रान एकलमा विजयी हुनेले १० हजार, दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले २ हजार ५ सय रुपैयाँबाट पुरस्कृत हुने छन् ।

साथै आयोजकले प्रतियोगिताको अन्तिम दिन १३औं दक्षिण एसियाली खेलकुद (साग) मा टेबल टेनिसमा पदक जितेका खेलाडी, प्रशिक्षक र अफिसियललाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्ने समेत जनाएको छ । सम्झना ल्याब्रेटरीको मुख्य प्रायोजनमा प्रतियोगिता हुन लागेको हो ।