राज्य हुनुको आभास, व्यवस्थित उपचार !

राज्य हुनुको आभास, व्यवस्थित उपचार !


■ श्याम क्षेत्री, टोकियो (जापान)

जापानले विमान चार्टर गरेर चीनबाट पहिलो खेपमा ल्याइएका २ सय ६ जना जापानीमध्ये चार जनामा कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ ।

बुधवार (२९ जनवरी) बिहान टोकियोस्थित हानेडा विमानस्थलमा चीनको वुहान प्रान्तबाट चार्टड विमानमा आएका जापानीमा गरिएको आकस्मिक स्वास्थ्य परीक्षणमा चार जनामा रुघाखोकी, स्वासप्रस्वास र ज्वरोको संक्रमण पाइएको छ ।

जापानको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुलाई उद्धृत गर्दै एनएचके टेलिभिजनमा प्रशारित समाचारमा ३० देखि ५० वर्ष उमेरबीचका उनीहरुलाई तत्कालै अस्पताल भर्ना गरिएको छ ।

मंगलबार राति चीनको लागि उडेको आना एयरको विमान बुधबार बिहान ८ बजेर ४० मिनेटमा हानेडा विमानस्थलमा अवतरण गरिएको थियो ।

राज्य हुनुको आभास, व्यवस्थित उपचार

हानेडा विमानस्थलमा विमान अवतरणअघि नै दुई दर्जन एम्बुलेन्स चीनको वुहान प्रान्तबाट ल्याईंदै गरेका जापानीहरुलाई अत्यावश्यक आकस्मिक उपचार र तत्काल अस्पताल पुऱ्याउन तम्तयार अवस्थामा थिए । विमानबाट उत्रिएका सबैलाई अन्य विमानबाट आएका यात्रु तथा विमानस्थल कर्मचारीको नजिक जान नदिई बाहिर निकालिएको थियो ।

विमानमा आएका २ सय ६ जनाको कोरोना भाइरसको संक्रमण भए -नभएको आकस्मिक चेकजाँच भयो । जसमा दुई जनामा रुघाखोकी र सामान्य ज्वरो पाइएपछि विशेष निगरानीमा अस्पताल पठाइयो । बाँकी २ सय ४ जनालाई पनि अस्पताल स्वास्थ्य परीक्षणका लागि एम्बुलेन्समा नै राखेर लगियो ।

चालक दलसहित सबै स्वास्थ्यकर्मी कोरोना भाइरसको संक्रमण रोक्ने विशेष पहिरनमा विमानस्थल पुगेका थिए । अस्पतालमा गरिएको विशेष स्वास्थ्य परीक्षणमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण हुनसक्ने लक्षण देखापरेपछि उनीहरुलाई पनि विशेष उपचार कक्षमा राखेर उपचार थालिएको छ ।

क्योदो समाचार संस्थाका अनुसार बुधबार मध्यान्ह १ बजेसम्ममा कोरोना भाइरसको संक्रमण भएको उच्च सम्भावना रहेका चारै जनाको चिकित्सकहरुको विशेष निगरानीमा उपचार भइरहेको छ । संक्रमण भएको आशंका गरिएकाहरुलाई चिकित्सक बाहेक अन्यसँग भेटघाट बन्द गरिएको छ ।

‘वेट एण्ट सी’को उपचारमा रहेका २ सय ४ जनालाई परिवारजनको अप्रत्यक्ष सम्पर्कमा मात्र जान दिइएको छ । उपचाररत कसैबाट पनि संक्रमण नफैलियोस् भन्नको लागि उपचार भएको कक्षवरपर चिकित्सक र विशेष सुरक्षाको पहिरन लगाएकालाई मात्र जान दिइएको छ ।

समाचारअनुसार सामान्य अवस्थामा रहेकाहरुलाई सामान्यतया एक हप्ता छुट्टाछुट्टै कोठामा राखेर नियमित स्वास्थ्य निरीक्षण गरिने भएको छ ।

हप्तादिन बीचमा संक्रमणको लक्षण देखापरेमा विशेष उपचार थालिने छ । कुनै पनि रोगको लक्षण नदेखिएमा भने उनिहरुलाई सामान्य अवस्थामा परिवारको सम्पर्कमा जान दिइनेछ ।

यद्यपि सबैलाई नियमित स्वास्थ्य परीक्षणको लागि निश्चित समय तोकिने भएको छ । उपचाररत संक्रमितहरुलाई पूर्ण रुपमा रोग नियन्त्रण नभएसम्म चिकित्सक बाहेक कसैले पनि भेटघाट गर्न पाउने छैनन् ।

रोगको संक्रमण पूर्ण रुपमा नियन्त्रणमा आएपछि न्यूनतम एकहप्ता ‘वेट एण्ट सी’मा एकजना मात्र रहने घर वा कोठामा राखेर रोग बल्झन सक्ने वा अन्य रोगका लक्षण देखापर्न सक्ने बारे नियमित स्वास्थ्य परीक्षण गरिने व्यवस्था मिलाइएको छ ।

दुई हप्तासम्मको नियमित उपचार र फलोअप चेकजाँचबाट कुनै पनि संक्रमण बाँकी नरहेमा वा नदेखिएमा बल्ल सामान्य दैनिकीमा जान दिने योजना जापानको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बनाएको समाचारमा उल्लेख छ ।

यसैबीच चीनको वुहान प्रान्तमा रहेका ६ सय ५ जना जापानीमध्ये २ सय ६ जना मात्र पहिलो चार्टर विमानमा ल्याइएकोमा अन्यलाई ल्याउन थप प्रक्रिया अघि बढेको यहाँको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

कोरोना भाइरसको संक्रमण जोखिममा रहेका सबै जापानीहरुलाई यो साताभित्रमा ल्याउन जापान सरकारले चीनसँग आवश्यक समन्वय गरिरहेको र चीनमा रहेका आफ्ना नागरिकलाई सम्पर्कमा आउन भनिएको छ । सम्पर्कमा रहेका सबैले रोगको संक्रमण नभएको बताएको र नियमित सम्पर्कमा रहिरहेका उनीहरुलाई यथासक्य छिटो ल्याइने जापानी अधिकारीहरुले बताएका छन् ।

अर्को एक समाचारअनुसार बुधवार अपरान्हसम्ममा जापानमा कोरोना भाइरसको संक्रमण हुनेहरुको संख्या ७ पुगेको छ । क्योदो समाचार संस्थाका अनुसार मंगलबार एक चिनियाँ महिलामा संक्रमण पाइएको छ ।

यसअघि गत सोमबार साँझ पहिलोपटक जापानी नागरिकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । बसचालक रहेका ती जापानीलाई चिनियाँ पर्यटक बसमा चढ्ने क्रममा भएको कुराकानीका क्रममा संक्रमण भएको विश्वास गरिएको छ ।

संक्रमित व्यक्तिको परिचय गोप्य राखिएको छ भने उनको उपचार भइरहेको जापानका स्वास्थ्यमन्त्रीलाई उद्धृत गर्दै समाचार संस्था माइनिची सिम्बुनले समाचार प्रकाशित गरेको छ ।

(एनएचके टेलिभिजन, क्योदो समाचार र माईनिची सिम्बुनमा प्रकाशित समाचारको आधारमा)