केपीको चेतावनीपछि अन्तर्घात योजना विफल

केपीको चेतावनीपछि अन्तर्घात योजना विफल


काङ्ग्रेस नेताहरूसँग पैसा लिएर अन्तर्घातका लागि तयार भएका ६ जना प्रदेशसभा सदस्यहरूले आफूलाई प्राप्त चेक नसाटिने भएपछि फिर्ता गरेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ ।

माघ ९ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेकपा–राजपा गठबन्धनका उम्मेदवारहरूलाई हराएर देउवा–उपेन्द्र गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन प्रचण्ड र उपेन्द्र यादवको इच्छाअनुसार नेकपाका नेताहरू मातृका यादव र प्रभु साहले विशेष ‘अन्तर्घात योजना’ तर्जुमा गरेका थिए । उपेन्द्र यादवसँगको घनिष्ट सम्बन्धमा रहनुभएका प्रचण्ड राजपासँग केपी ओलीले बनाएको गठबन्धनप्रति सकारात्मक हुनुहुन्नथ्यो । त्यसैले मातृका यादव र प्रभु साहमार्फत प्रचण्डले बेग्लै खेल खेल्नुभएको बुझिन्छ ।

प्रदेश सभाका ६ जना सदस्यको (४८×६=२८८) मत प्राप्त गर्न निधि र ढुङ्गानाले कुल एक करोडमा कुरा मिलाएको र, पच्चीस लाख अग्रिम भुक्तानी दिने सहमतिअनुसार ६ जना सदस्यलाई तीन–तीन लाख रुपैयाँको चेक दिइएको थियो ।

मातृका र प्रभु साहले प्रचण्ड र उपेन्द्रको इच्छाअनुसार अन्तर्घातका निम्ति योजना बनाएर प्रदेश सभा सदस्य भरत साह र जगत यादवलाई ‘विशेष जिम्मेवारी’ सुम्पिनुभएको थियो । त्यस क्रममा काङ्ग्रेसका विमलेन्द्र निधि र आनन्द ढुङ्गानासँग मातृका र प्रभुले ‘लेनदेन सम्झौता’समेत गरेको बताइएको छ । प्रदेश सभाका ६ जना सदस्यको (४८×६=२८८) मत प्राप्त गर्न निधि र ढुङ्गानाले कुल एक करोडमा कुरा मिलाएको र, पच्चीस लाख अग्रिम भुक्तानी दिने सहमतिअनुसार ६ जना सदस्यलाई तीन–तीन लाख रुपैयाँको चेक दिइएको थियो ।

काङ्ग्रेसका उम्मेदवारहरू नगिना यादव र भोला पञ्जियारलाई मतदान गर्ने सर्तमा आनन्द ढुङ्गानामार्फत दुई नम्बर प्रदेशका ६ सदस्यलाई उपलब्ध गराइएको चेक फिर्ता गर्नुपर्ने अवस्था त्यसबेला आयो, जब प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले कडा चेतावनी दिनुभयो । अन्तर्घात हुँदै गरेको आधिकारिक सूचना प्राप्त गरेपछि केपी शर्मा ओलीले प्रचण्डलाई सम्पर्क गरी मातृका र प्रभुलाई पार्टीबाट निष्कासन गरिने चेतावनी दिनुभएको थियो ।

प्रचण्डमार्फत मातृका र प्रभुले यस्तो जानकारी पाएपछि ‘अन्तर्घात योजना’ भङ्ग हुन पुगेको थियो । प्रभु साहले त मौलापुर नगरपालिकामा नगरप्रमुख रहेकी आफ्नी पत्नीको मत (१८) समेत विपक्षी उम्मेदवारलाई हाल्ने व्यवस्था मिलाएका थिए ।

प्रधानमन्त्री ओलीले समयमै अन्तर्घातसम्बन्धी जानकारी नपाएको भए राष्ट्रिय सभा निर्वाचनमा नेकपा–राजपा गठबन्धनका उम्मेदवारहरूको पराजय हुने र देउवा–उपेन्द्र पक्षका उम्मेदवारहरू विजयी बन्ने निश्चित थियो । निर्वाचनमा नेकपा–राजपा गठबन्धनको विजयपछि उक्त दुई पार्टीबीच सहकार्यको थप नयाँ ढोका खुल्ने सम्भावना बढेको छ । अब प्रदेश सरकार (दुई नम्बरको) बदलिने र राजपा केपी नेतृत्वको सरकारमा सामेल हुने विश्वास विश्लेषकहरूले गरेका छन् ।