मन्त्रिमण्डल पुनर्गठन छिटै

मन्त्रिमण्डल पुनर्गठन छिटै


प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहयोग गर्ने मानसिकता प्रचण्डले बनाउनुभएको भए पनि ओली भने प्रचण्डबाट सहयोग पुग्ने विश्वासमा रहनुभएको बुझिएको छ । प्रचण्ड र प्रधानमन्त्री ओली दुवैजना बसेर शिवमाया तुम्बाहाम्फेलाई मन्त्री बनाउने वचन दिएपछि मात्र शिवमायाले उपसभामुख पदबाट राजीनामा दिनुभएको थियो । शिवमायालाई कानुनमन्त्री बनाइने प्रबल सम्भावना छ ।

त्यस्तै, कुनै अप्रत्याशित अवरोध नआए मन्त्रिमण्डलमा राजपाको सहभागिता हुने पनि निश्चितप्रायः भएको छ । युवराज खतिवडा राष्ट्रिय सभा सदस्य बहाल रहने दिन सकिन लागेकोले खतिवडाको ठाउँमा अर्का व्यक्तिको चयन हुने स्थिति छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली धेरै पहिलेदेखि नै अर्थ मन्त्रालयको जिम्मेवारी लिन इच्छुक हुनुहुन्थ्यो भने सुरेन्द्र पाण्डेलाई पनि सम्भावित अर्थमन्त्रीका रूपमा हेरिएको छ । त्यस्तै, रक्षामन्त्री ईश्वर पोखरेल पनि अर्थ मन्त्रालयमा आउन इच्छुक रहेको बताइन्छ । नारायणकाजी श्रेष्ठको संसदमा प्रवेशपछि उहाँको नामसमेत सम्भावित अर्थमन्त्रीका रूपमा लिन थालिएको छ ।

शिवमायालाई मन्त्रिमण्डलमा सामेल गराउन ‘माओवादी’ कित्ताको कसैलाई मन्त्री पदबाट मुक्त गर्नुपर्ने हुन्छ र, द्विपक्षीय वार्तामा प्रचण्डले त्यस कुरामा सहमति जनाउनुभएको पनि हो । तर, अहिले प्रचण्ड मन्त्रिमण्डलमा रहेका आफ्नो पक्षका व्यक्तिलाई हटाउन आनाकानी गर्दै हुनुहुन्छ ।

जे होस्, निकट भविष्यमै मन्त्रिमण्डल पुनर्गठन हुने निश्चित भएको छ र, यस क्रममा केही नयाँ मन्त्री थपिने र केहीको विभागीय परिवर्तन हुने सम्भावना छ ।