डिम्पल झाको राजीनामाले प्रदेश २ को सरकार सङ्कटमा

डिम्पल झाको राजीनामाले प्रदेश २ को सरकार सङ्कटमा


सात प्रदेशमध्ये सर्वाधिक भ्रष्टाचार हुने प्रदेशको रूपमा महालेखाद्वारा औंल्याइएको प्रदेश २ मा आर्थिक मामलाकै कारण राजनीतिक सङ्कटसमेत पैदा भएको छ । मुख्यमन्त्री लालबाबु राउत गद्दी र आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवसँग असन्तुष्ट हुँदै सो प्रदेश सरकारकी भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डा. डिम्पलकुमारी झाले मंगलबार (१४ माघ) पदबाट राजीनामा दिएपछि प्रदेश २ मा राजनीतिक ‘तुफान’को अनुभूति गरिएको हो ।

राज्यमन्त्री झाले मंगलबार आकस्मिक रूपमा राष्ट्रिय जनता पार्टी (राजपा) संसदीय दलको कार्यालयमार्फत मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा पत्र बुझाएकी छिन् । आफ्नो राजीनामा पत्रमा ‘राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा र पदको प्रतिष्ठा जोगाउन लामो समयदेखिको मेरो प्रयासका बाबजुद स्थिति अनुकुल हुने अवस्था नभएको..’ जस्ता ब्यहोरा उल्लेख गरिएको बुझिएको छ ।

राज्यमन्त्री झा निकट सुत्रका अनुसार आफ्नै गृहजिल्ला रौतहटमा कार्यक्रम गर्दासमेत प्रदेश सरकारले आफूलाई जानकारी नदिएको, आर्थिक मामलामा सरकार अपारदर्शी बनेको जस्ता कारणबाट उनी असन्तुष्ट रहँदै आएकी थिइन् ।

संयुक्त सरकार भएपनि एउटै पार्टीको सरकार जसरी सञ्चालन गरेको र आफूले अघिसारेको जुनसुकै योजना प्रदेश सरकारको अर्थमन्त्रालयले रोकेकोप्रति पनि उनको गुनासो रहँदै आएको थियो । विशेषतः प्रदेश २ का आर्थिक मामलामन्त्री यादवसँग उनको मनोमालिन्यता ज्यादा नै गहिरिएको थियो । 

मधेसकेन्द्रित राजनीतिका एक चर्चित एवम् राजपासम्बद्ध नेता अनिल झाकी श्रीमती डिम्पल झाको राजीनामाले प्रदेश २ को राजनीतिमा गहिरो अर्थ राख्ने मधेसी मूलका एक विश्लेषक बताउँछन् । उपेन्द्र यादवले नेतृत्व गर्दै आएको समाजवादी पार्टीको अगुवाईमा रहेको प्रदेश २ को सरकारमाथि पछिल्ला दिनमा छाएको सङ्कट डिम्पलको राजीनामापछि थप बढेको छ । पछिल्लो चरणमा सत्तारुढ नेकपासँग गठजोड बढाएको राजपाको नेतृत्वमा प्रदेश २ को सरकार गठन हुने सम्भावना तीव्र भइरहेको परिवेशमा राज्यमन्त्री डिम्पलको राजीनामालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।