डेढ वर्षपछि बुधबार नेकपा केन्द्रीय कमिटी बैठक बस्दै

डेढ वर्षपछि बुधबार नेकपा केन्द्रीय कमिटी बैठक बस्दै


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो केन्द्रीय कमिटी बैठक बुधबार (१५ माघ)देखि राष्ट्रिय सभागृहमा शुरु हुने भएको छ । नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार पार्टी एकता भएको डेढ वर्षपछि हुन लागेको बैठकको तयारी पूरा भएको छ ।

नेकपाको गत मङ्सिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय गरेको थियो । पार्टीको अन्तरिम विधान–२०७५ मा केन्द्रीय कमिटीको बैठक ६ महिनामा एक पटक बस्ने व्यवस्था भए पनि डेढ वर्षमा पहिलो पटक बस्न लागेको हो । समयमा बैठक नराखेकोमा पार्टीपंक्तिबाटै आलोचना शुरु भएको थियो । विधानमा २५ प्रतिशत सदस्यले लिखित माग गरेका खण्डमा केन्द्रीय कमिटीको बैठक एक महिनाभित्र बस्नुपर्ने व्यवस्था गरिएको छ ।

बुधबारदेखि सञ्चालन हुने बैठकको एजेण्डा तय गर्नका लागि प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार नेकपाको सचिवालय बैठक बसेको प्रचार विभाग उपप्रमुख थापाले जानकारी दिए ।

बताइएअनुसार केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुने कार्यतालिका रहेको छ । यसैगरी विधान संशोधन, राष्ट्रिय अभियान सञ्चालन योजना र समसामयिक प्रस्ताव रहेका छन् । यसअघि पुस २३ मा बस्ने भनिएको बैठक राष्ट्रियसभाको निर्वाचन कारण सारिएको थियो । बैठकमा सहभागी हुन विभिन्न जिल्लाबाट केन्द्रीय सदस्य काठमाडौं आइसकेका बुझिएको छ ।

विसं २०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकतापछिको यो दोस्रो केन्द्रीय कमिटीको बैठक हो । पहिलो बैठकमा केन्द्रीय सदस्यलाई शपथ खुवाइएको थियो । त्यसयता बैठक हुनसकेको छैन । बैठक माघ १५ देखि २० गतेसम्म चल्ने छ । बैठकमा केन्द्रीय सदस्यलाई परिचयपत्रसमेत वितरण गरिने बताइएको छ ।

उक्त पार्टीमा केन्द्रीय कमिटीलाई महाधिवेशनपछिको कार्यकारी कमिटीको रुपमा लिने गरिन्छ । पार्टीको नीति, सिद्धान्त र योजना केन्द्रीय कमिटी बैठकले नै बनाउने गर्छ । केन्द्रीय कमिटी आगामी एकताको राष्ट्रिय महाधिवेशनसम्मका लागि पार्टीको सर्वोच्च संस्था हुनेछ भनेर विधानमा उल्लेख गरिएको छ ।