आत्मरक्षा तालिम सबैको लागि आवश्यक : सदस्यसचिव सिलवाल

आत्मरक्षा तालिम सबैको लागि आवश्यक : सदस्यसचिव सिलवाल


राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले आत्मरक्षाका लागि सम्पूर्ण नेपाली नागरिक सक्षम हुनुपर्ने बताएका छन् । नेपाल सेल्फ डिफेन्स संघको आयोजनामा संचालन भएको दोश्रो अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स सम्मेलनको समापनमा सिलवालले उक्त कुरा बताएका हुन् ।

सेल्फ डिफेन्सले शुरु गरेको आत्मरक्षा तालिमको अभियानलाई परिषद्ले सक्दो सहयोग गर्ने प्रतिबद्धता उनले जनाए । सेल्फ डिफेन्सको कला प्रद्धर्शनीमा सहभागी हुँदै सिलवालले यस्ता प्रशिक्षणले आफैलाई मजबुत बनाउनेमा बिश्वास प्रकट गरे ।

दशरथ रंगशालाको कवर्ड हलमा सम्पन्न समापन कार्यक्रममा अन्र्तराष्ट्रिय सेल्फ डिफेन्स एशोसियसन, पोल्याण्डका संस्थापक ग्राण्ड मास्टरले नेपालमा प्रशिक्षक प्रशिक्षण तालिम संचालन गर्न पाउँदा आफु निकै खुशी भएको बताए । साथै सो अवसरमा ग्राण्ड मास्टरले नेपाल सेल्फ डिफेन्स संघलाई अन्तर्राष्ट्रिय आबद्धता समेत प्रदान गरेका थिए ।

कार्यक्रममा नेपालका अध्यक्ष डिबि रानापाललाई मानार्थ सेल्फ डिफेन्स तेश्रो डान, शाखा प्रमुख एवं संघका उपाध्यक्ष सञ्जु महर्जनलाई सेल्फ डिफेन्स पाँचौँ डानका साथमा आधा दर्जन बढी पदकद्वारा सम्मान गरेका थिए । त्यस्तै संघका सहायक प्रशिक्षक राधिका ऐर हमाललाई सेल्फ डिफेन्स चौथो डान तथा अन्य पदकद्वारा सम्मान गरिएको महासचिव श्रेष्ठले बताए ।

विभिन्न ४० भन्दा बढी जिल्लाका सेल्फ डिफेन्स प्रशिक्षकको सहभागिता रहेको सो कार्यक्रममा ग्राण्ड मास्टरले बिभिन्न तहको प्रमाण पत्र प्रदान गरेका थिए । कार्यक्रममा संघलाई सहयोग गर्ने दर्जन बढी बिभिन्न ब्यक्तित्वहरुलाई दोसल्ला तथा सम्मान पत्रद्वारा संघले सम्मान गरेको थियो ।

गत माघ ८ गतेबाट शुरु भएको अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डौ, पोखरा तथा तनहुँका बिभिन्न स्थानमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको औचारिक समापन भएपनि मंगलबार र बुधबार जनकपुरमा तालिम संचालन गरिने संघले जनाएको छ । यसअघि सन् २०१७ मा सोलुखुम्बुमा प्रथम अन्र्तराष्ट्रिय सम्मेलन आयोजना गरेको थियो ।