सभामुखमा सापकोटाविरुद्ध उम्मेदवारी नपर्नुको अर्थ मुलुकमा ‘सहमतिको राजनीति’ !

सभामुखमा सापकोटाविरुद्ध उम्मेदवारी नपर्नुको अर्थ मुलुकमा ‘सहमतिको राजनीति’ !


द्वन्द्वकालीन पीडामा पिल्सिएकाहरूले न्याय खोज्दै गर्दा, मानवअधिकारवादी एवम् सचेत जनताको तप्काले चेतावनी दिइरहेकै परिवेशबीच प्रतिनिधिसभाको रिक्त सभामुखमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटा ‘सर्वसम्मत’ रुपमा निर्वाचित भएको घोषणा गरिएको छ ।

प्रतिनिधिसभाको आज (१२ माघ) को बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि एक मात्र उम्मेदवारीको सूचना प्राप्त भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सापकोटा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको घोषणा गरेका हुन् ।

बैठकमा सभामुखको उम्मेदवारको सूचनासम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पारदर्शिता र जवादेहिताका आधारमा सदनका काम कारवाहीमा जुन भूमिका निर्वाह गर्नुपर्ने हो, त्यसमा सिङ्गो संसद्लाई विश्वासमा लिएर काम गर्नुहुनेछ भन्ने विश्वासका साथ सापकोटालाई प्रस्ताव गरिएको हो भन्ने अभिव्यक्ति दिदएका थिए । बैठकमा सापकोटाको विकल्पमा अरू कुनै उम्मेदवारी नपर्नुले आफूहरुको चयन उपयुक्त रहेछ भन्ने देखिएको पनि नेम्वाङको तर्क रह्यो ।

अग्नि सापकोटालाई सभामुख चयन गर्ने प्रस्तावमाथि सोही पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङ र ओनसरी घर्ती तथा राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णले समर्थन रहेको थियो । पूर्वसभामुख घर्तीका अनुसार सापकोटाको एक मात्र उम्मेदवारी पर्नुले देशमा राजनीतिक सहमतिको वातावरण बनेको छ, शान्ति प्रक्रियाका बाँकी काम तथा राष्ट्रिय मामिलाका विषयमा काम गर्न सहज हुनेछ !

सांसद घर्ती भन्छिन्– ‘उहाँ (सापकोटा) मा सांसद र मन्त्रीको समेत अनुभव छ, उहाँ राजनीतिमा इमान्दार र निष्ठावान् नेता हुनुहुन्छ । भोलिका दिनमा प्रतिनिधिसभालाई तटस्थ, सन्तुलित र जनपक्षीयरुपमा कुशल नेतृत्व दिनुहुनेछ भन्ने मेरो विश्वास छ ।’

एक ‘पीडक’ पात्रका रूपमा चित्रित गरिएका सापकोटाको सभामुखमा उम्मेदवारी परेपछि एक प्रजातन्त्रवादी एवम् प्रमुख प्रतिपक्षी दलको नाताले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रतिवादद गर्नैपर्थ्यो । तमाम लोकतन्त्रका पक्षधरले यस्तै अपेक्षा गरेका थिए । तर, काङ्ग्रेस मौन बसेर सापकोटाको समर्थन मात्र नगरी यसको नेतृत्वले भित्रभित्रै सहयोगीकै भूमिका निर्वाह गरेर सबैलाई चकित तुल्याइदियो । अग्नि सापकोटा सभामुख निर्वाचित भएपछि काङ्ग्रेस नेता डा. मीनेन्द्रप्रसाद रिजालले ‘सापकोटालाई सत्तारूढ दलको यथेष्ट मत रहेको र आफ्नो उम्मेदवार तोकिसकेको स्थितिमा सभामुख तटस्थ रहनुपर्ने व्यक्ति भएकाले आफ्नो पार्टीले उम्मेदवारी नदिने निर्णय संसदीय दलको बैठकले गरेको’ तर्क गरेर पार्टीको लाज ढाक्ने कोशिस गरे ।

उपसभामुख पद पाउनका लागि काङ्ग्रेसले सभामुखमा उम्मेदवारी नदिएको होइन भन्ने उनको भनाई छ । ‘संविधानले दुई पदमा फरक–फरक पार्टीका उम्मेदवार हुनुपर्ने उल्लेख गरेकाले त्यसमा सत्तापक्षले नै विचार गर्ला तर हामी उपसभामुखका लागि हातमा कमण्डलु लिएर हिँडेका छैनौँ । सभामुखका उम्मेदवारका बारेमा आज उत्पन्न आशंका मेट्न भोलिका दिनमा आश्वस्त हुने गरी काम गर्न सक्नुहोस् । हामी सहयोग गर्न तयार छौँ’– डा. रिजालले भनेका छन् ।

जे–जस्तो तर्क दिए पनि यस प्रकरणमा कांग्रेसको कमजोरी छताछुल्ल भइसकेको छ भने राष्ट्र–अन्तराष्ट्रको विरोधका बाबजुद पूर्वमाओवादी कमाण्डर एवम् सत्तारुढ नेकपाका नेता अग्नि सापकोटा ‘सम्माननीय सभामुख’को आसनमा विराजमान भइसकेका छन् । यस्तोमा द्वन्द्वपीडितले न्याय कसरी र कहिले पाउलान् भन्ने सवालका अलावा थप ज्वलन्त प्रश्नचाहिँ खडा भएकै छ कि यस्तै चरित्रका सत्तापक्षी र प्रतिपक्षीहरू मिलेर यो देशलाई कस्तो विधिमा डो¥याउलान् ? यो बाटो पक्रिएर कहाँ पुग्ला नेपाल ?