अग्नि सापकोटा सभामुख चयन

अग्नि सापकोटा सभामुख चयन


प्रतिनिधिसभाको सभामुख पदमा अग्नि सापकोटा चयन भएका छन्। जेष्ठ सदस्यका नाताले आजको सभाको अध्यक्षता गरेका महन्त ठाकुरले सभामुखमा सापकोटा निर्विरोध चयन भएको घोषणा गरेका हुन् ।

यही माघ ६ गतेको प्रतिनिधिसभाको बैठकले आजका लागि निर्वाचनको मिति निर्धारण गरेको थियो । सो दिनको बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिएको राजीनामाबारे बैठकलाई जानकारी गराएका थिए ।

तत्कालीन सभामुख कृष्णबहादुर महराले आफू महिलामाथिको यौन दुर्व्यवहारको विवादमा परेपछि गत असोज १५ गते सो पदबाट राजीनामा दिएका थिए । हाल महरा पुर्पक्षका लागि थुनामै छन् ।

बताइएअनुसार सभामुखको निर्वाचनपछि उपसभामुखको निर्वाचन कार्यतालिका तय हुनेछ । गत पुस ४ गते शुरु भएको सङ्घीय संसद्को चालु पाँचौँ अधिवेशनअन्तर्गत राष्ट्रियसभाका बैठक नियमित भए पनि प्रतिनिधिसभाको सभामुखमा रिक्तता र त्यसमा राजनीतिक सहमतिमा भएको ढिलाइका कारण बैठक स्थगन हुँदै आएको थियो ।