हेल्प नेपालले जित्यो एनभीए पुरुष भलिबलको उपाधि

हेल्प नेपालले जित्यो एनभीए पुरुष भलिबलको उपाधि


पाँचौ आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि हेल्प नेपाल स्पोर्टस् क्लब जितेको छ । भारतीय तीन खेलाडी र भारतीय सेनाका नेपाली खेलाडीहरूले सज्जित हेल्प नेपालले एपीएफलाई पहिलो सेटमा २५–१७, दोश्रो सेटमा २५–१४ र तेश्रो सेटमा २५–२१ ले पराजित गर्दै नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गऱ्यो । दोश्रो भएको एपीएफले नगद १ लाख सहित मेडल र प्रमाणपत्र प्राप्त गऱ्यो ।

महिलातर्फ भने सशस्त्र प्रहरी बलको एपीएफ क्लबले उपाधि रक्षा गर्न सफल भएको छ । एपीएफले चिर प्रतिद्वन्द्वी होङ्गवान्जी न्यू डायमन्ड क्लबलाई २५–२३, २५–२१, २३–२५, २५–१८ ले पराजित गर्दै उपाधी उचालेको हो ।

तेश्रो सेटको अन्ततिर स्टार खेलाडी प्रतिभा माली घाइते हुन पुगेता पनि डायमन्डले २५–२३ को जित निकाल्यो । निकै नै प्रतिस्पर्धात्मक खेलमा न्यू डायमन्डले अंकको बढतालाई कायम राख्न नसक्दा राष्ट्रिय खेलाडीले सज्जित एपीएफलाई उपाधि सुम्पन बाध्य भएको हो ।

बिजेता एपिएफले दुई लाख नगद सहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गऱ्यो भने दोश्रो भएको न्यूडायमन्डले नगद १ लाख सहित मेडल र प्रमाण पत्र प्राप्त गऱ्यो ।

च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी महिलातर्फ न्यू डायमन्डकी प्रतिभा माली र पुरुषतर्फ हेल्प नेपालका अमित भए । उनीहरुले नगद २५, २५ हजार प्राप्त गरे । यस्तै उत्कृष्ट स्पाइकरमा पुरुषतर्फ आर्मीका राजेन्द्र बिष्ट र महिलातर्फ एपिएफकी सरस्वती चौधरी, उत्कृष्ट सेटरमा पुरुष तर्फ हेल्प नेपालका बिकास कुमार र महिलातर्फ एपिएफकी बिनिता बुढाथोकी, उत्कृष्ट ब्लकर पुरुषतर्फ हेल्प नेपालका याम क्षेत्री र महिलामा सेनाकी सुनिता खड्का घोषित भए ।

त्यस्तै उत्कृष्ट सर्भरमा पुरुष तर्फ एपीएफका बिजय थापा र महिला तर्फ न्यू डायमन्डकी प्रतिभा माली, उत्कृष्ट लिबेरोमा पुरुष तर्फ एपिएफका बिनोद चन्द र महिला तर्फ न्यू डायमन्ड सलिना श्रेष्ठ भए । विधागत तर्फका उत्कृष्ट प्रत्येकले नगद १० हजा प्राप्त गरे । उत्कृष्ट प्रशिक्षकमा महिला तर्फ एपिएफका महेश चौधरी र पुरुषतर्फ हेल्प नेपालका सोम विक्रम बलवान सिंह भए । उत्कृष्ट प्रशिक्षकले पनि नगद १० हजार प्राप्त गरेका थिए ।

नेपाल भलिबल संघको आयोजनामा भएको च्याम्पियनसिपमा पुरुष र महिला दुवैतर्फ नेपाली सेनाको टिएसीले तेश्रो स्थान हात पार्न सफल भयो । टिएसीले दुवै विधामा पुलिस क्लबलाई पछि पारेको हो । पुरुष तर्फ २५–१८, २५–१८, २५–२० ले तथा महिला तर्फ २५–२२, २५–१३, २५–२१ को सोझो सेटमा पराजित गर्दै टिएसीले तेश्रो स्थान प्राप्त गरेको हो । सेनाले दुवै बिधामा गरि १ लाख सहित मेडल, प्रमाणपत्र प्राप्त गऱ्यो ।