विरोधका बाबजुद सापकोटा आज सभामुखको ओहदा हासिल गर्दै

विरोधका बाबजुद सापकोटा आज सभामुखको ओहदा हासिल गर्दै


काभ्रेका अर्जुन लामाको हत्याका प्रमुख जिम्मेदार पात्र भन्दै पूर्व माओवादी एवम् सत्तारुढ नेकपाका नेता अग्नि सापकोटाको विरोधमा शनिबार पनि राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरियो । मानवाधिकारकर्मीहरूको अगुवाईमा भएको प्रदर्शनमा सापकोटालाई सभामुख बनाउन नहुने आवाज चर्को रूपमा उठाइयो । हत्या गरिएका अर्जुन लामाकी पत्नी पूर्णिमायाले आफूले न्याय पाउनुको साटो उल्टै अपराधकर्मवापत सजाय पाउनुपर्ने व्यक्तिलाई नै राज्यले पुरस्कृत गरेर न्यायको आशामाथि तुषारापात भएको भन्दै गुनासोमिश्रित आक्रोश पोखिन् ।

तर, पूर्णिमायाको गुनासो आँशुसँगै बगेर विलाउने निश्चितप्रायः देखिएको छ । अर्थात्, सभामुखका निर्विरोध उम्मेदवार अग्नि सापकोटालाई प्रतिनिधिसभाले आज ‘सम्माननीय सभामुख’को आधिकारिकता प्रदान गर्दैछ ।

सापकोटालाई सभामुख बनाउने सत्तारुढ दलको यस ज्यादतिपूर्ण पहलकदमीविरुद्ध आवाज उठाउने दायित्व बोकेको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस समेत मौन बसिदिँदा आफ्नो चहऱ्याइरहेको घाउमा नुनचुक दलेको अनुभूति भएको पूर्णिमायाको गुनासो छ । हुन पनि द्वन्द्वकालीन आपराधिक घटनाबाट पीडितलाई न्याय दिलाउन अहम् भूमिका निर्वाह गर्नुपर्ने दल भएको महसुस नगरी काङ्ग्रेस यतिबेला सत्तासँग ‘उपसभामुख’ पदको भिख माग्न तल्लीन देखिँदैछ । नेपाली काङ्ग्रेसको यस रवैयालाई ऐतिहासिक भूलको रूपमा आमनेपालीले पछिसम्म आलोचना गर्ने काङ्ग्रेस नेतृत्व तहका एक नेता बताउँछन् ।