काष्ठमण्डप पुनः निर्माणका महानगरबाट थप पाँच करोड प्रदान

काष्ठमण्डप पुनः निर्माणका महानगरबाट थप पाँच करोड प्रदान


काष्ठमण्डप पुनःनिर्माणका लागि काठमाडौं महानगरपालिकाले थप पाँच करोड रकम प्रदान गरेको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यलाई बिहीबार आयोजित एक कार्यक्रमबीच उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

काष्ठमण्डपलाई छिटो, मौलिकस्वरुप र दिगो रुपमा पुनःनिर्माण गर्न प्रदेशसभा सदस्य राजेशकाजी श्रेष्ठ नेतृत्वको समिति र काठमाडौं महानगरबीच सहमति भएपछि गत वर्षको जेठ २९ गते काम थालनी गर्न कामपाले रु ५० लाख र त्यसै वर्षको असोज २७ गते थप रु पाँच करोड उपलब्ध गराइसकेको थियो ।

रकम हस्तान्तरण गर्दै कामपाका प्रमुख शाक्यले गोर्खा भूकम्पका कारण क्षति भएको र आफ्नो अधिकारक्षेत्र भित्रपर्ने सबै सम्पदाको पुनःनिर्माण आफ्नै कार्यकालमा सक्ने दाबी गरे । एतिहासिक र सांस्कृतिक संम्पदाको पुनःनिर्माण गर्ने जिम्मेवारी कामपाको रहेको भन्दै प्रमुख शाक्यले ३२ वटै वडाका अध्यक्षलाई सम्पदाको निर्माणमा जुट्न निर्देशन दिए ।

सो अवसरमा सङ्घीय संसद् सदस्य कृष्णगोपाल श्रेष्ठले महानगरको नेतृत्वमा उदाहरणीय काम भएको टिप्पणी गरे भने यसरी उपलब्ध गराइएको रकमबाट हालसम्म पुनःनिर्माणको करिब ५५ प्रतिशत काम समाप्त भएको समितिका अध्यक्ष राजेश शाक्यले जानकारी गराए ।

काष्ठमण्डप पुनःनिर्माण कामपाको महत्वपूर्ण.जिम्मेवारी भएको हुँदा महानगरकै नेतृत्वमा गठित निर्देशक समितिसँग नियमित छलफल, अन्तक्र्रिया गरी प्राप्त राय सुझावका आधारमा पुनःनिर्माण समितिले काम गरिरहेको बताइन्छ । पुनःनिर्माण कार्यको नियमित अनुगमन, सुपरीवेक्षण गर्ने र निर्माणको क्रममा तत्काल सुधार गर्नुपर्ने काम गर्न गराउन महानगरका प्रमुख अध्यक्ष र उपप्रमुख, सरोकार राख्ने वडाध्यक्षसहितको निर्देशक समितिको व्यवस्था गरिएको छ ।

विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि अघिल्लो वैशाख ३१ गते क्षमा पूजा गरिएको थियो । अघिल्लो कात्तिक २२ गते शुभारम्भ पूजा गरेर विधिवत् रुपमा यस सम्पदाको पुनःनिर्माण शुरु भएको हो । तीन वर्षभत्र पुनःनिर्माण सक्ने लक्ष्यका साथ काष्ठमण्डप पुनःनिर्माण गति लिएको छ ।

गत माघ २७ गते श्रीपञ्चमीका दिन निर्माणाधीन रहेको काष्ठमण्डपको मूल थाम उठाइएको थियो । प्रयोग गरिएका चार वटा थाममध्ये तीन वटा नयाँ प्रयोग गरिएको हो भने एउटा थाम पुरानै प्रयोग गरिएको समितिले जानकारी दिएको छ ।

बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो ।

यस ऐतिहासिम सम्पदा पुनःनिर्माणको लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकोमा काठमाडौं महानगरपालिकाले पुनःनिर्माण समितिलाई रु पाँच करोड ५० लाख आर्थिक सहयोग प्रदान गरिसकेको छ । चार वर्षभित्र निर्माणकार्य सक्नेगरी सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणको काम भइरहेको छ । नेपालको राजधानी काठमाडौंको नाम ‘काष्ठमण्डप’बाट नै रहेको इतिहासमा उल्लेख छ ।

pict: rss