के पाकिस्तानको भ्रमण गर्दैछन् राष्ट्रपति ट्रम्प ?

के पाकिस्तानको भ्रमण गर्दैछन् राष्ट्रपति ट्रम्प ?


अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानको भ्रमण गर्ने सम्भावना रहेको पाकिस्तानी अधिकारीले बताएका छन् । राष्ट्रपति ट्रम्प चाँडै नै पाकिस्तान भ्रमणमा आउने सम्भावना रहेको पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद क्युरेशीले बताएका सिन्ह्वाले उल्लेख गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खान र अमेरिकी राष्ट्रपति ट्रम्पका बीचमा डाभोसमा भएको भेटका क्रममा ट्रम्पको पाकिस्तान भ्रमणको कुरा भएको क्युरेशीले बताए । विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन गएका बेला ट्रम्प र खानबीच ‘साइडलाइन’ वार्ता भएको क्युरेशीको भनाई छ ।

दुई नेताबीच कुराकानी भएको एक घण्टापछि विदेशमन्त्री क्युरेशीले राष्ट्रपति ट्रम्पको सम्भावित पाकिस्तान भ्रमणबारे बताएका हुन् । आफूले चाँडै पाकिस्तानको भ्रमण गर्न सक्ने बारेमा राष्ट्रपति ट्रम्पले आश्वस्त पारेका उनले बताए । ट्रम्पको भ्रमणको मिति भने उनले स्पष्ट नपारेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

बताइएअनुसार पाकिस्तानी प्रधानमन्त्री खानले अमेरिकी राष्ट्रपति ट्रम्पसँग पाकिस्तान भ्रमणबाहेक अन्य पनि धेरै विषयमा कुराकानी गरेको क्युरेशीको दाबी छ । पाकिस्तानप्रति अमेरिकाले हेर्ने दृष्टिकोणमा सुधार गर्नेलगायत धेरै महत्वपूर्ण विषयमा पनि ट्रम्प र खानबीच छलफल भएको बताइएको छ ।

सुरक्षाको कारण देखाउँदै अमेरिकाले बेलाबेलामा आफ्ना नागरिकलाई पाकिस्तान भ्रमण नगर्न निर्देशन दिने गरेको बारेमा पनि प्रधानमन्त्री खानले राष्ट्रपति ट्रम्पको ध्यानाकर्षण गराएका छन् । ट्रम्प र खानका बीचमा व्यापार तथा लगानीका विषयमा पनि विषेश प्राथमिकताका साथ सहकार्य गर्ने सहमति भएको पाकिस्तानी विदेशमन्त्री क्युरेशीको दाबी छ ।